कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा

दुर्गालाल केसी

दाङ — दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिका–१७ गुलरीयास्थित क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न दुई खेलमा घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गरे ।

दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा

लिगको उपाधिको लागि शनिवार दंगाली लायन्स र तुलसीपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको सम्पूर्ण खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंक सहित शीर्ष स्थानमा रह्यो ।

दोश्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ हार दर्ता गर्‍यो । घोराही टाइगर्स ४ अंकसहित तेश्रो, पुरनधारा च्यालेन्जर्स २ अंकसहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहीन रहँदै पाँचौ स्थानमा रह्यो ।

पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्‍यो । देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८.४ ओभरमा भेटायो । दंगाली लायन्सको लागि ओपनर शंकर रानाले अबिजित ६७ रनको योगदान दिए । प्लेयर अफ द म्याच घोषित रानाले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । बसिर अहमदले २५ र शिशिर डागीले अविजित १७ रन बनाए । तेश्रो विकेटको लागि शंकर र बसिरले ६१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे ।

देउखुरीका विशाल विक्रम केसीले २ तथा सुभम खनाल र प्रज्वल थापाले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

देउखुरीको लागि ओपनर विशाल विक्रम केसीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै आवाज गौतमले अविजित १७ रन, आशिष ओली र थमन ओलीले समान १५ रन तथा सुभम खनालले अविजित १० रन योगदान दिए । बलिङतर्फ दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए । शंकर रानाले २ तथा बिपिन खत्री, बिर बहादुर घर्ती मगर र प्रकाश जैसीले १/१ विकेट लिए ।

दोश्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्‍यो । फाइनल पुग्न घोराहीले १५१ रनको लक्ष्य ११.३ ओभरमा पछ्याउनुपर्ने समीकरण थियो तर घोराहीले २० ओभर ब्याटिङ गर्दा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

घोराहीको लागि दिपेश काडेलले सर्वाधिक २४ रन, सुशान्त सिंह थापाले २२ रन, युनिस विक्रम सिंहले १७ तथा रबिन थापाले १३ रन योगदान दिएता पनि जित्न पर्याप्त भएन । तुलसीपुर रोयल्सको बलिङमा अमर सिंह रौटेला र नबिन बिकले २/२ तथा रुपेश सिंह, दिवान पुन र बिराट सिंह भण्डारीले १/१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो । तुलसीपुरको लागि शंकर बुढाले सर्वाधिक ४३ रन बनाए जुन क्रममा २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । बिपिन रावल ४६ बलमा ३१ तथा अमर सिंह रौटेलाले १४ बलमा ३० रन बनाए । रौटेलाले २ चौका र ३ छक्का प्रहार गरे । भुवन कार्कीले १३ रन बनाए ।

घोराही टाइगर्सको बलिङमा दिपेश काडेलले सर्वाधिक ३ विकेट लिए । मिलन बुढाथोकीले २ तथा रबिन थापा र युनिष विक्रम सिंहले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पााच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बताए ।

प्रकाशित : फाल्गुन १८, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×