कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

राष्ट्रिय करातेमा रमिता र कमल सर्वोत्कृष्ट

काठमाडौँ — नेपाल पुलिस क्लब टिम तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिसले १० स्वर्ण, ३–३ रजत र कांस्य जित्यो ।

राष्ट्रिय करातेमा रमिता र कमल सर्वोत्कृष्ट

महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । निरुपा दोङ र साहिल नेपाली उदीयमान खेलाडी चुनिए ।

प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण जितेका विप्लवलाल श्रेष्ठले सुपर स्टार खेलाडीको उपाधिसहित ५० हजार पुरस्कार प्राप्त गरे । त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले लगातार तीन स्वर्ण जितेकी थिइन् । उनी पनि पुरस्कृत भइन् ।

विभागिय टोली एपीएफ ३ स्वर्ण, ५ रजत र ५ कांस्यसहित दोस्रो तथा वाग्मती प्रदेश २ स्वर्ण, १ रजत र ६ कांस्य पदकसाथ तेस्रो भए । आर्मी १ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चौथो भयो । पाँचौं भएको सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, १ रजत र ४ कांस्य जितेको थियो ।

मधेश प्रदेश १ रजत र ६ कांस्य, कोशी प्रदेश १ रजत र ४ कांस्य, लुम्बिनी प्रदेश १ रजत र २ कांस्य तथा गण्डकी १ कांस्य जित्दै क्रमशः छैटौंदेखि नवौं स्थानमा रहे । कर्णाली प्रदेश पदकविहीन भयो ।


शनिबार अन्तिम दिन पुलिसले २ स्वर्ण पदक थपेको थियो । सुदूरपश्चिम र आर्मीले १–१ स्वर्ण पदक जिते ।

पुलिसका विप्लवलाल श्रेष्ठ ८४ केजीमाथिको तौल समूहमा स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिमका लोकश कार्कीलाई १२–४ को फुल स्कोरमा हराए । एपीएफ तेन्जिङ शेर्पा र मधेशका विवश गौतमले कांस्य जिते ।

त्यसअघि कुमिते महिला ५० केजी तौल समूहको फाइनलमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण जितेकी थिइन् । आर्मीका लागि पहिलो स्वर्ण जित्दा मिस्लीले एपीएफकी सोनु श्रेष्ठलाई हराइन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाई हुनुअघि ५–१ ले पछाडि थिइन् । नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कांस्य जिते ।

सुदूरपश्चिमका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जिते । पुरुष ७५ केजीमा फाइनलमा वाग्मतीका साहिल नेपालीलाई ५–४ स्कोरले हराएर स्वर्ण जिते ।

त्यसअघि १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक‌ जितेकी‌ थिइन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई‌ ७–१ ले हराइन् । मधेश प्रदेशकी पोरिना शाही ठकुरी र वाग्मतीकी कलाहाङ लिम्बूले कास्य जिते । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराएका थिए । चोटका कारण एरिकाले यसअघि भएको साफ कराते च्याम्पियनसिपमा भाग लिएकी थिइनन् ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलले गरेको हो ।

च्याम्पियन टोली पुलिसले ट्रफीसहित १ लाख र दोस्रो भएको एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रकाशित : माघ २०, २०८० २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?