३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

साहारा सहकारीका बचतकर्ताको प्रश्न- ‘कारबाही गर्न कस्ले रोक्यो ? ’

चितवन — बालकुमारी महतो खैरहनी नगरपालिका–१ बहेरीमा चटपटे, पानीपुरी बेचेर गुजरा चलाउँछिन् । सहकारीका बजार प्रतिनिधि आएर बालबालिकाको भविष्य राम्रो हुने बताएपछि खर्च चलाएर बेचेको सय/पचास रुपैयाँ उनले दैनिक रुपमा सहकारीको बाल बचतमा राख्न थालिन् ।

साहारा सहकारीका बचतकर्ताको प्रश्न- ‘कारबाही गर्न कस्ले रोक्यो ? ’

साहारा बहुउद्देश्यीय सहकारीको खातामा उनको ५० हजार रुपैयाँ जम्मा भएको छ । तर उनले दु:ख गरेर जोडेको त्यो रकम अब फिर्ता हुने/नहुनेबारे अन्योल छ ।

बचतकर्ताको रकम फिर्ता नगरी साहारा बहुउद्देश्यीय सहकारी अघिल्लो वर्षको पुसदेखि एकाएक बन्द भएको छ । उक्त सहकारीका बचतकर्ताहरु गत वर्षदेखि नै रकम फिर्ताका लागि विभिन्न निकायमा धाइरहेका छन् । सहकारीका सञ्चालकहरुले रकम हिनामिना गरेको देखिए पनि उनीहरुमध्ये अहिलेसम्म कोही पक्राउ परेका छैनन् । रकम कहिले फिर्ता होला ? निश्चित छैन ।

साहाराका ‘पीडित बचतकर्ताहरु’ले बुधबार दिउँसो चितवनका प्रमुख दलका नेताहरुलाई साक्षी राखेर जिल्ला प्रहरी कार्यालयमा छलफल गरे । सोही छलफलमा भाग लिन आएकी थिएन् बालकुमारी । बहेरीकै लिना दराई, सरगम परियार र धनराज बुर्लाकोटी पनि बालकुमारीसँगै आएका थिए । ‘रकम धेरै नहोला रे, तर हामीले त मिहिनेत, मजदुरी, दु:ख गरेर, पसिना बगाएर जोडेको पैसा हो,’ सरगम परियारले भनिन् । पीडित बचतकर्ताहरुले २०७९ चैतमै संघर्ष समिति गठन गरेका थिए । समितिका संयोजक शालिकराम दुवाडीले चितवनका प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालसामु गुनासो पोखे, ‘प्रहरीले यो प्रकरणमा अहिलेसम्म किन कसैलाई समाएन ? अनुसन्धान पूरा गरेर मुद्दा अदालत किन लगेन ? प्रहरीबाट धेरै कमीकमजोरी भयो भन्ने हामीलाई लागेको छ ।’

गएको चैत ४ मा पुरक जाहेरी दिए पनि त्यसमा केही कारबाही नभएको, सहकारीको महत्वपूर्ण भौचर र कसले कति पैसा लगेको हो भन्ने मोटामोटी हरहिसाब पनि देखिएको, कुन कम्पनीमा के कति पैसा साहारा सहकारीबाट गयो भन्ने पनि खुलेको तर कारबाही प्रक्रिया सुरु नै किन भएन भनेर उनले प्रश्नमाथि प्रश्न गरिरहे । सञ्चालकमात्रै नभएर मुख्य कर्मचारीसम्म पक्राउ नपर्नुले आफूहरुले चित्त बुझाउने ठाउँ नदेखेको उनले बताए ।

‘अनेक निकायमा धाउँदा-धाउँदा थकित भइयो । बचत फिर्ताका लागि हिँडेको १९ महिना हुन थाल्यो । तर परिणाम केही आउँदैन । सहकारीका सञ्चालक र जिम्मेवार कर्मचारीलाई लुकाइयो कि या डिजाइन नै यस्तो बनाइयो ? खै के हो के हो ? हामीले केही बुझ्नै सकेनौं,’ बचतकर्तामध्येका निलकण्ठ तिवारीले भने । साहारा देशका विभिन्न सहकारी ठगीमा नाम जोडिएका गीतेन्द्रबाबु (जीबी) राई संस्थापक रहेको सहकारी हो ।

साहारा सहकारीबाट जीबी राईले सञ्चालन गरेको र हालका गृहमन्त्री तथा चितवन–२ का सांसद रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यतिबेला संलग्न रहेको गोरखा मिडियाको ग्यालेक्सी टीभीमा पनि गैरकानुनी रुपमा रकम लगानी भएको प्रारम्भिक छानबिनले देखाएको छ । गोरखा मिडियामा १२ करोड र अन्य थप चार वटा कम्पनीमा गरेर साहारा सहकारीबाट ४८ करोड रुपैयाँ गएको दुवाडीले बताए ।

‘कुमार रम्तेलसहित जीबी ग्रुप अफ कम्पनी, नेचर हब इन्टरनेशनल प्रालि, नेचर नेष्ट प्रालि, गोर्खा मिडिया र स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ प्रालिका नाममा ४८ करोड रुपैयाँ साहाराको बचत अनधिकृत रुपमा गएको पत्ता लगायौं । यी व्यक्ति तथा कम्पनीका सञ्चालकहरुलाई पनि कारबाही होस् भनेर पुरक जाहेरी दिए पनि थप केही परिणामा आएन,’ दुवाडीले भने । सरकारी वकिलसँग सल्लाह गरेर नै उजुरी दिएको उनले बताए ।

एसपी रिमालले आफूहरुको अनुसन्धान जारी रहेको र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग समन्वयमा नै रहेको बताए । ‘रकम लगेको भनिएका कम्पनीका सञ्चालकहरुको तीन पुस्ते विवरण कम्पनी रजिष्ट्रारको कार्यालयबाट मगाइरहेका छौं । त्यताबाट आए थप प्रक्रिया अगाडि बढ्छ । अरु कुरा त धेरै अगाडि बढेको छ । सम्पत्ति रोक्का छ । मान्छे समातिए मुद्दा अदालत लैजान सकिने अवस्थामा छ,’ उनले भने ।

सहकारीका मुख्य व्यक्ति भनिएका जीबी राई देश बाहिर रहेको भन्ने देखिएका कारण राईलाई समाउन राज्य संयन्त्र नै लागेको एसपी रिमालले बताए । ‘अन्य सामान्य कर्मचारीलाई समाएर के गर्ने ? निश्चित समयपछि मुद्दा दायर गर्नै पर्छ । सामान्य व्यक्तिलाई समाएर मुद्दा दायर गरेपछि अन्य मुख्य अभियुक्त अदालत आउने हाजिर हुनेमात्रै हुन्छ । त्यसैले मुद्दाको हद म्यादसम्म मुख्य अभियुक्त नै समाउँ भन्ने हो,’ रिमालले भने ।

मुख्य अभियुक्त भनिएकाहरुविरुद्ध गत असोज ९ मा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सहकारी ठगी तथा संगठित अपराधमा मुद्दा चलाउँदै छ । जसको हद म्याद वर्ष दिन रहन्छ । त्यसैले हद म्यादभित्र मुख्य आरोपितहरु समाउन लागेका कारण अन्य सामान्य कर्मचारी पक्राउ नपरेको रिमालले बताए । ‘नभए हामी गम्भीररुपमा लागेका छौं । अनुसन्धान अधिकृत पनि पहिला प्रहरी निरीक्षक थिए । अहिले डीएसपी छन्,’ रिमालले भने ।

साहारा सहकारीको ०७९ पुसमा भएको साधारणसभा प्रस्तुत प्रतिवेदनअनुसार संस्थामा ५ करोड ३५ लाख ८४ हजार ६ सय रुपैयाँ शेयर पुँजी र ७९ करोड ५५ लाख ३२ हजार ३२२ रुपैयाँ बचत गरी कुल रकम ८४ करोड ९१ लाख १६ हजार ९२२ रुपैयाँ रहेको उल्लेख छ । वाग्मती प्रदेशको सहकारी महाशाखाले सीआईबीलाई गत साउन २४ मा लेखेको पत्रमा विभिन्न निजी कम्पनीमा रकम लगानी गरी अपचलन गरेको उल्लेख छ ।

‘सञ्चालकहरुले रकम फिर्ता नगरी मिलिमतो गरेर ठगी गरेको, विभिन्न निजी कम्पनीमा लगानी गरी अपचलन गरेको, खाइ मासी सिध्याएको, संस्थालाई टाट पल्टिने अवस्थासम्म पुर्‍याएको हुँदा यथाशीघ्र अनुसन्धान गरी सहरकारी कानुन र कसुरअनुसार कारबाही होस’ माहाशाखाले सीआईबीलाई लेखेको पत्रमा उल्लेख छ । सीआईबीले चितवन प्रहरीमा फाइल पठाएपछि असोज ९ गतेदेखि थप अनुसन्धान सुरु भएको हो । चितवन प्रहरीमा ३१९ जना पीडितले ३८ करोड ५७ लाख ५८ हजार रुपैयाँबराबर रकम फिर्ता नपाएको जाहेरी दिएका छन् ।

संस्थापक अध्यक्ष ओखल्ढुंगाका जिबी राईसमेत संस्थाका हालका अध्यक्ष गुल्मीको मालिका गाउँपालिका–८ का ३० वर्षका सागर केसीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारीका उपाध्यक्ष झापाका ३५ वर्षीय हेमन्त अधिकारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । हेमन्तविरुद्ध तीन वर्षअघि पनि झापामा सहकारी सम्बन्धी नै उजुरी परेको थियो ।

संस्थाको सञ्चालक समितिका अन्य पाँच सदस्य र नारायणगढ, रत्ननगर टाँडी तथा खैरहनी पर्सा शाखाका प्रबन्धकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका संस्थाका संस्थापक, वर्तमान अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु र कर्मचारी कोही पनि चितवनका बासिन्दा हैनन् । बुधबारको छलफलमा सहभागी चितवन जिल्ला बचत सहकारी संघका अध्यक्ष विद्या कोइरालाले देशमा कानुन पनि छ है भन्ने देखाउन चितवनमा भएको सहकारी घोटालाका अभियुक्तमाथि कारबाही प्रारम्भ हुनुपर्ने धारणा राखिन् ।

‘यस्तै अवस्था रहे परिस्थिति झनै जटिल बन्ने छ,’ उनले भनिन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले संसद्‌मा समेत तातो बहस बनेको सहकारी घोटालाको विषयमा पीडितलाई विश्वासमा लिन नसके अवस्था निकै बिग्रेर जाने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुसालले पीडितको पैसा उठ्ने गरेर कारबाही प्रक्रिया छिटो सक्न सबैले दबाब दिउँ तर अन्य दबाब कसैले नदिउँ भन्ने धारणा राखे ।

प्रकाशित : जेष्ठ २, २०८१ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?