२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जथाभावी कर संकलन नरोके आन्दोलन गर्ने चेतावनी

काठमाडौँ — मजदुरहरुले ललितपुर महानगरपालिकाले कबाडी करको नाममा जथाभावी कर संकलनमा रोक नलगाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जथाभावी कर संकलन नरोके आन्दोलन गर्ने चेतावनी

बुधबार ललितपुर महानगरमा डेलिगेसनमा पुगेका उनीहरुले यसबारे मेयर/उपमेयरलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासनमात्र पाएको भन्दै आपत्ति जनाएका छन् ।

अखिल नेपाल यातायात संघ ललितपुरका पूर्वउपाध्यक्ष समरबहादुर कार्कीले दोहोरो कर संकलन गर्दा कबाडी कर संकलनको ठेक्का पाएका ठेकेदार र मजदुरबीच दैनिक विवाद हुने गरेको र यसले ठूलो दुर्घटनाको रुप लिन सक्ने भन्दै मनोमानी ढंगबाट उठाइरहेको कर तत्काल रोक लगाउन आग्रह गरे । उनले भने, ‘ठेकेदारले गुन्डागर्दी शैलीमा दैनिक धम्क्याएर कर संकलन गरिरहेको छ । धेरै पटक मजदुरले कुटाइ पनि खाइसके । अब प्रतिकारमा उत्रिन्छौं ।’

कबाडी कर संकलन गर्ने ठेकेदारले निर्माण सामग्री बोकेको गाडीमा दोहोरो कर लिनुका साथै तरकारीका क्रेट, घर निर्माणमा प्रयोग हुने फर्मा, कोठा सर्दाका सामानदेखि लिएर फर्निचरका सामान ओसारपसारमा समेत कर असुली गरिरहेको छ । आइतबार चुनढुंगा बोकेको गाडीमा दोहोरो कर लिन खोजेपछि भएको विवाद हात हालाहालको स्थितिमा पुग्यो । र प्रहरीले चार जनालाई पक्राउ गरी सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अभद्र व्यवहारमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा गुमान विक्रम खत्री, रोशन चौधरी, प्रकाश बस्नेत र श्याम ठकुरी छन् । चौधरी कबाडी कर संकलनका ठेकेदार हुन् ।

चौधरीको इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरीवेयर कम्पनीले ललितपुर महानगरबाट कबाडी करको ठेक्का गत महिना आर्थिक वर्ष २०८०/८१ को बाँकी भएको अवधि र आर्थिक वर्ष २०८१/८२ सम्मको लागि १० करोड १८ लाख रुपैयाँमा पाएको थियो । कबाडी कर संकलनसम्बन्धी ललितपुर महानगरले बनाएको ऐन स्पष्ट नहुँदा पनि विवाद भइरहेको हो । ऐनको अनुसूची ५ मा जडिबुटी, कबाडी र जीवजन्तु कर संकलनको विवरणको १८ नम्बर बुँदामा ‘अन्यको हकमा प्रतिकेजी २ रुपैयाँ’ कर संकलन गर्ने उल्लेख छ । तर, महानगरले अन्यमा के–के वस्तु पर्छ भन्ने बारेमा व्याख्या गर्न सकेको छैन । ललितपुर महानगरका प्रवक्ता महर्जनले यस विषयमा पनि थप व्याख्या गर्न विज्ञसँग छलफल भइरहेको बताए ।

ठेक्काअनुसार कम्पनीले ललितपुर महानगर क्षेत्रभित्रको जुडिबुटी, कबाडी तथा जीवजन्तुहरु ओसारपसारमा तोकिएबमोजिम कर असुलउपर गरिने व्यवस्था छ । ललितपुर महानगरले व्यवस्था गरेअनुसार ठेकेदारले बियरलगायत मदिराका खाली सिसी, मिनरल वाटर, तेलको टिन, प्राकृतिक तथा कृतिम ऊनका टुक्रा, गार्मेन्टका कपडाका टुक्रा, कार्पेटका टुक्रा, टिन, ड्रम, धातुका टुक्रा, पोलिथिन पाइपका टुक्रा, काँचको टुक्रा तथा धुलो, कागजजन्य सामानमा कबाडी कर संकलन गर्न सकिन्छ ।

त्यस्तै प्रचलित कानुनले निषेधित गरेको बाहेकका मरेका वा मारिएका जीवनजन्तुको हाड, सिङ, प्वाँख, छाला अनि ऊन, खोटो, छ्वाली, पराल, निगालो, बाँस, काठ, ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, रोडा, स्लेट, बिछ्याउने ढुंगा, प्लाष्टिकका खाली बोरा, बोतल, भाँडाकुँडा, पुराना जुत्ता, चप्पल, ग्यालिन/जर्किन आदि वस्तुको कर उठाउन सक्ने व्यवस्था गरेको छ । यी वस्तुहरूको १ रुपैयाँ प्रतिकेजीदेखि लिएर ५० रुपैयाँसम्म र बाँसको प्रति गोटा ५० रुपैयाँ, काठको प्रतिट्रक २ सय रुपैयाँ तोकेको छ भने ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, रोडा, स्लेट, बिछ्याउने ढुंगाको प्रतिक्यूफिट २ रुपैयाँ तोकेको छ ।

ठेकेदार कम्पनीले तरकारी बोक्ने गाडीको ५ सय रुपैयाँदेखि हजार रुपैयाँसम्म उठाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०८१ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?