३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

कालीकोट — नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

यहाँका ९ वटै स्थानीय तहबाट सदरमुकाम मान्म आएका बालबालिकाले बाल भेलामार्फत सवालहरुको पहिचान गरी प्राथमिकीकरणबाट आएका सवाललाई घोषणापत्रमा समेटेर जिल्ला समन्वय प्रमुख धनजीत शाहीमार्फत स्थानीय तहलाई बुझाउन हस्तान्तरण गरिएको तिलागुफा बाल संजालका अध्यक्ष नमुना रोकायाले बताइन् । ‘बालबालिकामाथि अझै पनि हिंसा कायमै छ,’ घोषणापत्र वाचन गर्दै रोकायाले भनिन्, ‘सुखी र समृद्ध नेपाल बनाउन बालबालिकामा लगानी बढाउनुपर्छ ।’ उनले निःशुल्क र गुणस्तरीय शिक्षा नारा र प्रचारमा मात्र सीमित भएको सुनाउँदै गाउँका विद्यालयमा गुणस्रीय शिक्षा दिन सके बीचैमा पढाइ छाडेर बाल विवाह गर्ने, ज्याला मजदुरीका लागि विद्यालय छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताइन् ।

तिलागुफा नगरपालिकाले बाल हित कोषको स्थापना गरेर जोखिममा रहेका बालबालिकाको संरक्षणमा सहयोग गरे पनि बाल कल्याण अधिकारी नियुक्त नगरेको सुनाइन् । उनले गरिबीको कारण गाउँका बालबालिकाले गुणस्तरीय जीवन बाच्न नपाएको गुनासो पोखिन् ।

प्लान इन्टरनेशनल, सेभ द चिल्ड्ने, किर्डाक नेपाललगायतका विकास साझेदारको सहयोग र सहजीकरणमा सामाजिक विकास कार्यालय कालीकोटले आयोजना गरेको जिल्ला स्तरीय बाल सम्मेलन ६ वर्षपछि आयोजना भएको हो । यो सम्मेलनले स्थानीय तहको बजेटमा पैरवी गर्न सहयोग पुग्ने सशक्त बालिका परियोजना संयोजक बलिराज शाहीले बताए ।

सम्मेलनमा बालबालिकाले उठाएका सवाल आगामी योजना तर्जुमाका लागि मार्गदर्शन भएको जिल्ला समन्वय समिति प्रमुख धनजीत शाहीले बताए । उनले बालबालिकाले तयार गरेर जारी गरेको घोषणापत्र जिल्ला समन्वयको तर्फबाट स्थानीय तह, प्रदेश सरकार र बालबालिकाका क्षेत्रमा काम गर्ने विकास साझेदारलाई पठाइने प्रतिबद्धता गरे ।

नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पलाता, पचालझरना, खाडाचक्र, महाबै, शुभकालिका, तिलागुफाबाट आएका ३३ बालिका र १० बालक गरी ४३ जना बालबालिका ३ समूहमा विभाजित भएर सवालहरुको पहिचान गरी प्राथमिकीकरण गरेर घोषणपत्रमा समेटेको सहजकर्तासमेत रहेकी शुभकालिका गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीले बताइन् । बालबालिकाको संरक्षकको रुपमा स्थानीय तहका महिला, बालबालिका शाखा प्रमुख आएका थिए ।

बाल सम्मेलनले कालीकोटमा सबैभन्दा बढी बालविवाहको समस्या रहेको जनाउँदै सरोकारवालाई रोमथाम, न्यूनीकरण र अन्त्यको योजना बनाउन माग गरेको छ । ‘कर्णालीमा अझै पनि बालविवाह हुने गरेको तथ्यलाई विचार गर्दै बालविवाहले बालबालिकाको पढाइ, स्वास्थ्य र विकासमा प्रतिकूल प्रभाव पारेकोले यसलाई अन्त्य गर्न विहावारी २० वर्ष पारि भन्ने नारालाई सार्थक बनाउन सवै स्थानीय तहको विशेष ध्यानाकर्षण गराउँदै बालविवाहलाई अन्त्य गर्न सबै स्थानीय तहबाट विशेष कार्यक्रमको घोषणा गरियोस्’ घोषणा पत्रमा छ ।

त्यस्तै सम्मेलनले कालीकोटका ९ वटै स्थानीय तहमा अनिवार्यरुपमा बालबालिका सम्बन्धी नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि पहल गर्दै बालबालिका ऐन २०७५ को प्रभावकारी कार्यान्वयनको लागि ध्यानाकर्षण गरेको छ । बालबालिकाले कालकिोटमा हिड्ने बाटो, पढ्ने विद्यालयलगायतका संरचना बालमैत्री नभउको ठहर गर्दै सबै स्थानीय तहले बाल तथा अपांगमैत्री भौतिक संरचना निर्माण गरी बाल मैत्री वातावरण बनाउदै बालमैत्री वडा, पालिका बनाउदै घोषणाको लागि पहल गर्न माग गरेका छन् ।

बाल सम्मेलनले संविधानले कक्षा ८ सम्मको आधारभूत शिक्षा अनिवार्य र माविसम्म निःशुल्क भने पनि कालीकोटका बालबालिकाले शिक्षक दरवन्दीको अभावमा निःशुल्क शिक्षा नपाएकोतर्फ पनि सरोकारवालाको ध्यानाकर्षण गरेको छ ।

जलवायु परिवर्तनले बालबालिकामा पनि नकारात्मक असर पुर्‍याएको जनाउँदै बालबालिकाले सबै स्थानीय तहले हरित विद्यालय, हरित रोड र हरित समुदायको अवधारणा अनुसार बृक्षारोपण गर्दै जलवायु मैत्री नीति निर्माण गर्न बालबनालिकाले माग गरेका छन् । उनीहरुले जिल्ला अधिकांश गाउवस्तमिा अझै पनि छाउपडी प्रथा, जातीय विभेद, छोराछोरी बीचमा हुने लैगिंक विभेद, बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बाल श्रम रहेको सुनाउदै अन्त्य गर्न सरोकारवालालाइृ भनेका छन् । विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र हुनुपर्ने कानुनी ब्यवस्था भए पनि प्रभावकारी नभउको ठहर गर्दै कालीकोटका बालबालिकाले सवै स्थानीय तहले विद्यालय तथा पालिकामा गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाउँदै बालबालिकाका गुनासो सुन्ने परिपाटीको व्यवस्था पनि भनेका छन् ।

स्थानीय बालअधिकार समितिमार्फत आगामी ३ महिनाभित्र जिल्ला भरका सबै पालिका र वडामा बाल क्लब तथा संजाल गठन गर्न बजेट विनियोजन हुनुपर्ने माग गरेका बालबालिकाले विदालय तथा बजार क्षेत्र आसपासभित्रै मदिरा बेचबिखन र सेवन गर्नेले पढाईमा बाधा उत्पनन गराएको गुनासो पनि घोषणा पत्रमार्फत पोखेका छन् ।

कालीकोटका बालबालिकाले आफूले भोगेका देखेका समस्या पहिचान गरेर घोषणा पत्रमा समेटेकाले उनीहरुको आवाज सवबैले सुन्नुपर्ने प्लानका जनक गिरीले बताए । बालबालिकाले गठाउका सवाल महत्वपूर्ण भएकाले आगामी बजेटमा समेट्न पहल हुने तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले प्रतिबद्धता गरे । दुई दिने सम्मेलनमा स्थानीय तहले बालबालिकाका लागि गरेका असल अभ्यासबारे पनि छलफल गरिएको नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताए ।

पदाधिकारीमा सबै बालिका

जिल्लाका ९ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी निर्माण भएको जिल्ला बाल संजालको पदाधिकारीमा सबै बालिका निर्वाचित भएका छन् । ५ जना पदाधिकारीमा सबै बालिका निर्वाचित हुँदा संवालमा ३ जना मात्र बालक छनोट भए । १३ सदस्यीय संजालको अध्यक्षमा तिलागुफाकी बन्दना शाही, उपाध्यक्षमा नरहरिनाथकी पवित्रा विश्वकर्मा, सचिवमा शुभकालिकाकी यमुना बोहोरा, सहसचिवमा रास्कोटकी रोजना सार्की, कोषाध्यक्षमा पलाताकी निशा जैसी निर्वाचित भइन् । सदस्यमा जनजातिको तर्फबाट शुभकालिकाकी पवित्रा रोकामगर र सान्नीत्रिवेणीकी अस्मिता लामा विजयी हुदा अपांग सदस्यमा खाडाचक्रमा महेश पाण्डे चुनिए । त्यस्तै, अन्य सदस्यमा पचालझरनाका हिक्मत विश्वकर्मा, सान्नीत्रिवेणीका कुल सिम्खाडा, महाबैकी विनिता मल्ल र खाडाचक्रकी प्रमिला शाही छनोट भए ।

प्रकाशित : जेष्ठ २, २०८१ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?