२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बगरमा खेती : 'रातभरि रुङ्ने, दिनभरि बेच्ने'

भवानी भट्ट

कञ्चनपुर — लालझाडी गाउँपालिका–४ डाडा जाँइका राधेश्याम राना झिसमिसेमै उठेर बारीमा पस्छन् । दोदा नदीको बगरमा लगाएका तरभुजा, लौका, फर्सी र काक्रा टिपेर साइकलमा राख्छन् । त्यही साइकल चढेर गाउँ गाउँ डुल्छन् । कतै पैसाले त कतै अन्नसँग साटेर तरकारी बिक्री गर्छन् ।

बगरमा खेती : 'रातभरि रुङ्ने, दिनभरि बेच्ने'

दिनभरि डुलेर साँझपख घर फर्किन्छन् । ‘दिनभरि डुलेर दुई/तीन हजारको बिक्री हुन्छ,’ रानाले भने, ‘आधा क्विन्टल जति गहुँ पनि संकलन हुन्छ ।’ राना रातभरि बगरमै बनाएको फुसको छाप्रामा सुत्छन् । बिहान झिसमिसेमै तरकारी बोकेर हिँडछ्न । दिनभरि डुल्दा डुल्दै साइकलमा ४०/५० किलोमिटर यात्रा गरेर फर्किन्छन् ।

राना लालझाडीबाट २०/२५ किलोमिटर टाढा कृष्णपुरको गुलरिया, बाणी, बंक, बेलडाँडी, बेलौरी र पुनर्वाससम्म पुग्छन् । उनले दोदा नदीको बगरमा आधा विघामा लहरे तरकारी लगाएका छन् ।

मंसिर पुसदेखि खनजोत सुरु गरेका उनले माघमा बेर्ना रोपेका थिए । चैत पहिलो सातादेखि बगरमा भएको उत्पादन बिक्री गर्न थालेका हुन् । सुरुमा प्रतिकिलो सय रुपैयाँसम्म बिक्री गरेका उनले अहिले ३०/४० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

‘रातिमा बारी कुर्छौ, दिनमा बिक्री गर्छौ,’ राधेश्यामकी श्रीमती घुम्नीले भनिन्, ‘दिनमा श्रीमान् बिक्री गर्न जान्छन्, म बारी कुरेर बस्छु ।’ उनको घर बगर खेती भएको खल्ला जाँईबाट दुई कलोमिटर पर डाडा जाँइमा छ । छोराछोरीले घर कुर्छन् । बुढाबुढी बारी कुर्छन् ।

दोदा नदीमा उत्पादन भएको लहरे तरकारी साइकलमा मात्रै होइन गोरु गाडा, ट्रयाक्टरलगायतमा बिक्री गर्न किसान आफै गाउँगाउँ पुग्छन् । चैत सुरुदेखि बिक्री गर्न लागेका उनीहरु जेठ मध्यसम्मै यसमा जुटछन् । दुई/अढाइ महिनमा ३/४ लाख बचत हुन्छ । यसले वर्षभरि घर परिवारको गुजारा चलाउन हुन्छ ।

‘बर्खा नलागेसम्म बरगमै हुन्छौं, बर्खा लागेपछि सानोतिनो खेतीपातीमा लाग्छौं,’ साइकलमै तरकारी बिक्री गर्दै गाउँ गाउँ डुलिरहेका हरकलाल रानाले भने, ‘दश वर्षदेखि यही काममा लागेका छौं ।’ उनका अनुसार १०/१५ वर्षअघिसम्म बगरखेतीका लागि भारतीय नागरिक आउँथे । बिस्तारै नेपालीहरुले यो काम गर्न थाले । सुरुमा घरमा खानका लागि बगर खेती थालेका उनीहरु अहिले व्यवसायिक रुपमै यसमा जुटेका छन् ।


कृष्णपुर–२ बाणीका रामकिसन चौधरी भारतमा काम गर्थे । तर यतिबेला उनी बगर खेतीको उत्पादन बिक्रीका लागि भने घर फर्केका छन् । बुवा दुतराम बाह्रै महिना तरकारी खेतीमा लाग्छन् । अन्य बेला बिक्री गर्न धेरै गाह्रो हुँदैन । तर अहिले भने धुमधाम नै हुन्छ । उनले बनहरा नदीको पुल छेउमा टहरा बनाएर बिक्री गरिरहेका छन् । बनहरा पुलमा यतिबेला तरबुजा, लौका, काक्रा, फसी, घिरौला लगायत बिक्री गर्नेको मेला नै लागेको छ ।

पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेहरु बनहरा पुल नजिकै रोकेर खरिद गरेर लैजान्छन् । दिनमा एउटै छाप्रोबाट चार/पाँच हजारको बिक्री हुन्छ । बाणीमा मुक्त कमैया शिविरका ८० परिवार भन्दा बढीले बगर खेती गरिरहेका छन् । बगरमा भएको उत्पादन आफै सडक छेउमा बसेर बिक्री गर्छन् ।

कञ्चनपुरमा दोदा, बनहरा, स्यालीलगायतका नदीमा बगरखेती गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभरिमा ६० हेक्टर बढी क्षेत्रफलमा बगरखेती भइरहेको अनुमान छ । जसमा प्रत्यक्ष रुपमा अढाई सय परिवार किसान जोडिएका छन् ।

‘एक परिवारले एक सिजमा दुई/अढाइ लाख बचत गर्छन्,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतिले भने, ‘यसमा उत्पादन पनि राम्रै हुन्छ, नदी किनारकाा कृषकहरु बगर खेतीमा जोडिएका छन् ।’ उनका अनुसार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४ सय बढी परिवार जोडिएका छन् । नदी किनारका कृषक बगर खेतीमा जोडिएपछि भारतीय नागरिक विस्थापित भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?