काठमाडौँ — सहकारी ठगी प्रकरणमा तत्काल संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाल तरुण दलले बुधबार विरोध र्याली निकालेको छ ।
काठमाडौंको माइतीघरमा जम्मा भएका तरुण दलका नेता कार्यकर्ताले बानेश्वरसम्म नाराबाजीसहित र्याली निकालेका थिए भने र्यालीपछि भएको कोणसभामा नेताहरुले सम्बोधन गरेका थिए ।
सो क्रममा तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माग गरे ।
सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि नै सहकारी ठगीमा संलग्न भएको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाएर सो विषयमा गम्भीर छानबिन हुनुपर्ने उनले बताए ।
सर्वसाधारणले बिहान बेलुकी छाक टार्ने पैसा सहकारीमा जम्मा गरेका व्यक्तिहरूको बिचल्ली बनाएर लामिछाने सत्तामा रमाएको अध्यक्ष गुरुङको आरोप थियो ।
अध्यक्ष गुरुङले नेपाल प्रहरीभित्र भइरहेको सरुवा बढुवाप्रति पनि असन्तुष्टि व्यक्त गरे । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवा भइरहेको भन्दै उनले त्यसबाट प्रहरी कर्मचारीहरुको मनोबल कमजोर हुने बताए ।
प्रकाशित : जेष्ठ २, २०८१ २०:३८