कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

प्रकाश बराल

बागलुङ — निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

निर्माण कम्पनीले कहिले पायल फाउण्डेसन, कहिले नदी बहावको बाहाना बनाउँदै बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ गरे पछि स्थानीयले भने सास्ती खेपेका छन् ।

जैमनी नगरपालिका–१ जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने १ सय मिटर लामो मोटरेबल पुल अलपत्र परेको हो । पटक पटक म्याद थपेर ठेकेदार कम्पनी रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले काम पूरा गर्न नसकेको हो ।

ठेक्का सम्झौतामा ३० महिनामा पुल निर्माण गरिसक्ने सर्त थियो । अझै पनि यो काम पूरा हुनेमा स्थानीय सशंकित छन् । सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर तथा सूचना अधिकारी अमर अधिकारीले आगामी असार मसान्त सम्ममा सक्ने गरी म्याद लिएको दाबी गरे ।

अझै यो पुलको तीन खण्ड मध्ये एकखण्डको ढलान हुनै बाँकी छ । अधिकारीले पुलको भौतिक तर्फ ८२ र बित्तिय तर्फ ८६ प्रतिशत काम सकिएको दाबी गरेका छन् । यो पुलको पूर्व तर्फ जंगल र भीर तथा पहिरो छ । पश्चिम तर्फ व्यक्तिको घर पर्छ । पुल बनिसकेपछि पनि सडकमा जोड्न करोडौं लगानी गर्नुपर्ने अवस्था देखिएको जैमिनी–१ का अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।

जैमिनी तर्फका स्थानीयको घर फाल्नुपर्ने, फलफूलका बिरुवा मासिने, तरकार खेती नष्ट हुने र केही गोठ समेत भत्काउनुपर्ने बाध्यता छ । उक्त क्षति बिना सडकमा पुल जोडिने अवस्था नरहेको आचार्यले बताए । त्यसबाहेक पुलको काम थाल्नुअघि पनि सहकार्य नभएको जनप्रतिनिधिहरुले बताए ।

‘पुलको सर्भे गर्दा हामीसँग कुनै सहकार्य र सल्लाहनै थिएन,’ आचार्यले भने, ‘अहिले वडाबासीको घर भत्काउनुपर्ने अवस्था आएको छ, त्यो हाम्रो जिम्मामा आउनेवाला छ ।’ तर पुल निर्माण गरिरहेको कम्पनीले अझै पनि वडा र नगरपालिकामा समन्वय नगरेको उनले बताए । पुल बनिसकेपछि पनि दुवैतर्फको सडक बनाउनुपर्ने छ ।

यो पुललाई कम्तीमा एक सयमिटर दक्षिणतर्फ सारेको भए दुवैतर्फका सडकमा सहजै जोडिने अवस्था थियो । इन्जिनियर अधिकारीले पनि यो कुरा स्विकारेका छन् । ‘योजना बनाएर ठेक्कामा लगाउने बेलैमा यो अबस्था हेर्नुपर्ने हो, हेरिएन,’ उनले भने, ‘खर्च बढी हुने हो, सडकमा जोड्ने काम त गर्छौ ।’

पुल बन्नुअघि स्थानीयसँग सहकार्य गरेको भए खर्च र झन्झट कम हुने उनले बताए । चालु वर्षमा सकिनुपर्ने भनिएको केही काम संचालनमा छ । तर नदीको पानी बढ्ने अवस्था आएकोले चालु वर्ष ढलान हुनेमा शंका लागेको स्थानीय हरिबहादुर क्षेत्रीले बताए । ‘हिउँद छउन्जेल गर्दैनन्, बर्षा लाग्न थालेपछि काम थाल्छन्, पानीको बहाव बढेपछि अलपत्र पर्छ,’ उनले भने, ‘समयमा काम गर्ने चासो नहुँदा हामीले पनि सास्ती खेपेका छौं ।’

यो पुल कालीगण्डकी करिडोरसँग पर्वतको फलेवासलाई जोड्ने मार्गमा पर्छ । साथै पर्वतको फलेवासदेखि कार्कीनेटा, स्याङजाको पुतलीखेत हुँदै पोखरा जोड्ने बैकल्पिक मार्ग हो । यो सडकले हालको यात्रालाई झण्डै १० किमी छोटो बनाउने स्थानीयले बताए । निर्माण व्यवसायीका प्रतिनिधि विष्णु कोइरालाले भने पायल फाउण्डेसनका लागि स्टिमेट परिवर्तन गर्नुपर्दा लामो समय लागेको बताए ।

‘पुलको पिलर राख्दा पायल फाउण्डेसन थिएन, पछि बनाएका हौं, त्यसैले ढिला भयो’ उनले भने, ‘जग खन्दा पनि पानी निस्केर धेरै अप्ठ्यारा परिस्थिति आएका थिए ।’ पायल फाउण्डेसनका लािग उपकरण लैजान सडक नहुँदा एक वर्ष ढिला भएको उनले बताए । १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा यो पुल निर्माणको सम्झौता भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०८१ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×