कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

अखिल (क्रान्तिकारी) का संयोजक राई हिरासतमा

काठमाडौँ — मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको अखिल (क्रान्तिकारी)का नेता हरिकृष्ण गजुरेलले जानकारी दिए ।

उनलाई प्रहरीमाथि दुर्व्यबहार मुद्दा लगाई जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ । राईलाई पाँच दिन म्याद थपेर हिरासतमा राखिएको गजुरेलको भनाइ छ ।

‘सामान्य अनुसन्धानका लागि बोलाएर सोधपुछ गर्नुपर्नेमा संयोजक राईलाई पक्राउ गर्नु निन्दनीय छ,’ उनले भने, ‘यो गिरफ्तारीविरुद्ध हामी आन्दोलनमा छौं ।’

वैशाख ३० मा चितवनको स्मल हेमन स्कुलको बसमा आगजनी गरेको आरोपमा पक्राउ गरिए पनि संलग्न भएको आधार नभएपछि दुर्व्यबहार मुद्दा लगाइएको गजुरेलको भनाइ छ ।

अखिल (क्रान्तिकारी)ले राईको गिरफ्तारीको विरुद्धमा संघर्षको घोषणा गरेको छ । सहसयोजक पेशल दाहालद्वारा प्रेषित विज्ञप्तिअनुसार ज्येष्ठ २ गते कोणसभा, ३ गते गृहमन्त्रीको पुतला दहन, ४ गते राज्यको श्वेत आतंकको भण्डाफोर, ५ गते मसाल जुलुस र ६ गते आमशैक्षिक हडताल रहेको छ ।


प्रकाशित : जेष्ठ २, २०८१ २०:४९
×