२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

एपीएफ र कोशीको यात्रा निरन्तर

काठमाडौँ — नेपाल एपीएफ क्लब (एपीएफ) र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयको क्रमलाई जारी राखेका छन् । लगातार तेस्रो जित निकाल्ने क्रममा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले र कोशीले मधेश प्रदेशलाई ६९ रनले पराजित गर्‍यो । 

एपीएफ र कोशीको यात्रा निरन्तर

ओपनर ममता चौधरीले ५८ बलमा ५९ र इन्दु बर्माले ५१ बलमा अविजित ७० रन बनाएपछि एपीएफले मूलपानी क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५१ रन बनायो । ममताले ५ चौका तथा इन्दुले ७ चौका र १ छक्का प्रहार गरे । कप्तान सीता रानामगर ९ र राजमती ऐरी २ रनमा आउट भएकी थिइन् । गण्डकीकी सरस्वती पुन र शर्मिला रोक्काले १–१ विकेट लिइन् ।

जवाफमा लुम्बिनीले ९ विकेट गुमाई ६१ रनमात्र बनाउन सक्यो । ओपनर लक्ष्मी चौधरीले २८ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । उनले ४९ बल खेल्दै २ चौका प्रहार गरिन् । एपीएफबाट इन्दुले ३, बिनु बुढाले २ तथा रेखा रावल, करुणा भण्डारी र सीताले १–१ विकेट लिए ।

रुविना क्षत्रीले ५७ रन बनाएपछि कोशीले १२९–४ को स्कोर बनाएको थियो । उनले ६४ बल खेली ९ चौका प्रहार गरिन् । अप्सरी बेगमले ४१ बल खेली ७ चौकासहित ३९ रन बनाइन् भने सबनम राई १६ रनमा अविजित रहिन् । मधेशबाट मीना महतोले २ तथा पूजा महतो र सरस्वती कुमारीले १–१ विकेट लिए ।

मधेशले जवाफमा ९ विकेट गुमाई ६९ रनमात्र बनाउन सक्यो । साना प्रवीण ४१ बल खेली ३ चौका प्रहार गर्दै २७ र आरती महतोले १८ रन बनाए । कोशीकी सबनम र अलिशा खडियाले २–२ तथा संगीता राई र रुविनाले १–१ विकेट लिए ।


सुदूरपश्चिम र वाग्मती प्रदेशले ३ खेलमा दोस्रो विजय निकालेका छन् । सुदूरपश्चिमले कर्णालीलाई ८१ रनले र वाग्मतीले गण्डकीलाई ४ विकेटले पराजित गर्‍यो । कविता जोशीले अविजित ७८ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १५१–४ को स्कोर बनाएको थियो । कविताले ५० बल खेली १० चौका र १ छक्का प्रहार गरेकी थिइन् । सम्झना खड्का ११ र कप्तान रीतु कनोजिया १० रनमा आउट भए । रेवती धामी २४ बल खेली २ चौका प्रहार गर्दै २२ रनमा अविजित रहिन् । कर्णालीबाट अञ्जु गुरुङले २ तथा यमुना थारू र रश्मी खड्काले १–१ विकेट लिए ।

ओपनर तृष्णा विश्वकर्माले ३५ बलमा २८ रन बनाए पनि कर्णालीले ९ विकेट गुमाई ७० रनमात्र बनाउन सक्यो । अञ्जु र रश्मी समान १० रनमा आउट भए । रीतुले ४ ओभरमा ६ र जानकी थापाले ३ ओभरमा ११ रन खर्चेर ३–३ विकेट लिए । त्यस्तै कविताले २ र मनीषा चौधरीले १ विकेट लिइन् ।


उत्कृष्ट लयमा रहेकी यशोदा विष्टले ३९ रन बनाउँदै वाग्मतीलाई महत्त्वपूर्ण जित दिलाइन् । उनले ४१ बलको अविजित इनिङ्समा ४ चौका प्रहार गरिन् । सोनी पाख्रिन १७ र कञ्चन श्रेष्ठ १२ रनमा आउट भए । गण्डकीकी सृष्टि जैसीले २ र आकृति तिवारीले १ विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ११२–४ को स्कोर बनाएको थियो । अञ्जली विश्वकर्माले ४२ बल खेली ४ चौकासहित ३२, सीमाना केसी र सुमन खतिवडाले समान २८ र सृजना पौडेलले ११ रन बनाइन् । वाग्मतीकी कप्तान अस्मिना कर्माचार्यसहित कृष्मा गुरुङ र मनीषा उपाध्यायले १–१ विकेट लिएका थिए ।

प्रकाशित : पुस ८, २०८० २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?