२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भद्रपुर झापा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

अर्जुन राजवंशी

बिर्तामोड — चर्च ब्वाइज युनाइटेड क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।  सोमबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै चर्च ब्वाइजले गोल्डकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

भद्रपुर झापा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

भद्रपुरस्थित मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइजको जितमा आशिष चौधरीले दुई तथा गगनदीप सिंहले एक गोल गरेका थिए । सिंहले ४० तथा चौधरीले ५६ र ६० औं मिनेटमा गोल गरेका थिए । चर्च ब्वाइजले खेलको सुरुवातदेखि नै पुलिसमाथि दबाब बनाएको थियो ।

४० औं मिनेटमा विपक्षी टिमका गोलकिप्परबाट पञ्च भएको बललाई सिंहले सुन्दर गोलमा परिणत गरेका थिए । डिएरियाभित्र रहेका उनले प्राप्त अवसरलाई कुनै गल्तीबिना बललाई गोलपोस्टको दिशा दिएका थिए । पहिलो हाफमा एक गोलले अग्रता बनाएको चर्च ब्वाइजले दोस्रो हाफमा खेलको रणनीति परिवर्तन गर्दै पुलिस क्लबमाथि थप दबाब बढाएको थियो ।

५६ औं मिनेटमा सुवास गुरुङको पासमा स्ट्राइकर आशिष चौधरीले लोभलाग्दो गोल गरे । गुरुङको छोटो पासमा पेनाल्टी एरियामा रहेका चौधरीले बिना कुनै दबाब बललाई गोलमा परिणत गर्न सफल भए । लगत्तै ६० औं मिनेटमा चौधरीले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए । पुलिसका खेलाडीलाई छल्दै एक्लै अघि बढाएको बललाई चौधरीले गोल गर्न सफल भएका हुन् ।

सोमबार पुलिसले आशातित खेल पस्किन सकेन । खेलअवधिभर केही अवसरहरु प्राप्त गरेपनि विपक्षी गोलपोस्टमा धावा बोल्न नसक्दा पुलिसले फराकिलो हार व्यवहोर्नु पर्‍यो । खेलमा दुई गोल गर्ने चर्च ब्वाइजका आशिष चौधरी म्यान अफ द म्याच भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा मंगलबार आयोजक भद्रपुर ब्लेजर्स र संकटा क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।

प्रकाशित : फाल्गुन ८, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?