राष्ट्रिय भारोत्तोलन यसै महिना


काठमाडौँ — नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुनेछ र यसमा तीन विभागीय टोली पुलिस, आर्मी र एएपीएफसँगै विभिन्न २० जिल्लाका गरेर २३ टिमको सहभागिता रहनेछ ।
संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडी सहभागी रहने बताए । जुनियर/सिनियर तथा युथ पुरुष/महिलातर्फ विभिन्न ४० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोबास र यातायात खर्च आयोजक संघले बेहोर्नेछ ।
तीनदिने प्रतियोगिता मध्यपुर थिमि नगरपालिकाको थिमि बैंक्वेटमा हुनेछ । मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए ।
प्रकाशित : पुस १६, २०७८ ०७:४१