सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्ने- खेलकुद - कान्तिपुर समाचार

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्ने

कुशल तिमल्सिना

काठमाडौँ — नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह चरणको खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–० को सेटमा रहज जित निकालेको थियो ।

बंगलादेशको ढाकामा लिग चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएर नेपाली टोली अपराजित रहँदै फाइनलमा पुगेको हो । पाँच खेलमा नेपालको १४ अंक भएको छ ।

लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरी उज्वेकिस्तान लिगको उपविजेता रह्यो । उसले ५ खेलबाट ११ अंक जोडेको छ ।

सन् २०१९ मा भएको पहिलो संस्करणको विजेता नेपालले किर्गिस्तानविरुद्ध धेरै दबाब महसुस गर्नु परेन । नेपालले २५–८, २५–१४ र २५–१७ को सेटमा जित हासिल गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले उज्वेकिस्तानलाई समूह चरणमै पराजित गरिसकेका कारण फाइनलमा अधिक दबाब महसुस गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

उज्वेकिस्तानले श्रीलंकामाथि २६–२४, २५–१४, २०–२५, १९–२५ र १५–१२ को सेटमा प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

नेपाल र उज्वेकिस्तानबीचको फाइनल खेल मंगलबार हुनेछ ।

प्रकाशित : पुस १२, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

लटरम्मै फलेका सुन्तला टिप्ने चटारो [तस्बिरहरू] 

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित ढाप गाउँ अहिले सुन्तलाले पहेंलै भएको छ । बोटरभरी लटरम्म सुन्तला फलेका छन् । किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ । व्यापारी गाडी लिएर बगानमै पुग्छन् । व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन् । यो गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो । 

स्थानीय युवा महेन्द्र गुरुङका अनुसार गाउँमा एक जना किसानले वार्षिक कम्तीमा एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्छन् । सुन्तला पोखरा, भैरहवा, बुटवल, नारायणगढ, मुग्लिन, काठमाडौं जाने गरेको छ । धेरै व्यापारीको सुन्तला जम्मा गर्ने बजार भने फिस्लिङ बन्ने गरेको छ ।

ढाप, सिरान, माझ, तल्लो डुडे, माथिल्लो डुडे लगायत गाउँका १ सय ५० भन्दा बढी किसानले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर बिक्री गर्न व्यस्त हुन्छन् । बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राख्ने गरिन्छ । क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ । ‘यहाँको सुन्तला गुलियो र रसिलो छ भन्दै व्यापारी बगानमै लिन आउँछन्,’ गुरुङले भने, ‘माग धान्नै मुस्किल छ ।’



तस्बिर: विमल खतिवडा/ कान्तिपुर

प्रकाशित : पुस १२, २०७८ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×