कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुरुङ र तामाङलाई चट्टान आरोहण प्रतियोगिताको उपाधि

रासस

तनहुँ — तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरमा सञ्चालन भएको प्रथम चट्टान आरोहण प्रतियोगिताको उपाधि पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङले जितेकी छन् । 

गुरुङ र तामाङलाई चट्टान आरोहण प्रतियोगिताको उपाधि

विमलनगरस्थित चुनपहरामा आइतबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ चार मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गर्दै गुरुङले उपाधि जितेकी हुन् । महिलातर्फ भने तामाङले पाँच मिनेट ५३ सेकेण्डमा दूरी पार गरिन् । पुरुषतर्फ सुलभ राई द्वितीय, तेञ्जिङ राई तृतीय भएका छन् । महिलातर्फ रुसा प्रधान द्वितीय र सेवा सुचिता तृतीय भएका छन् । प्रतियोगितामा पुरुष महिला दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार ५००, २० हजार र १० हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ३८ जनाको सहभागिता थियो ।

विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले पुरस्कार वितरण गरे । सो अवसरमा उनले साहसिक खेलको रुपमा रहेको चट्टान आरोहणको विकास र संरक्षणका लागि सरकारले सहयोग गर्ने बताए ।

चुनपहराको संरक्षणका लागि बन्दिपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लव पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण प्रतियोगिता सञ्चालन गरिएको थियो । पृथ्वीराजमार्ग विस्तारका क्रममा यस ठाउँ भत्किने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउन प्रतियोगिता आयोजना गरिएको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

गण्डकी प्रदेशमा रहेका पर्वतारोही आबद्ध संस्थाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आइरहेको छ । चट्टान आरोहण मानसिक तनाव कम गर्नका लागि उपयुक्त रहेको उनको भनाइ छ । उनका अनुसार सगरमाथा चढ्न जानुपूर्व चट्टान आरोहणले सहयोग पुर्‍याउँछ ।

चुनपहरा बचाउ अभियानका अभियान्ता एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताए । अरु पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणको लागि पत्ता लागेको पहराहरूमध्ये सबैभन्दा धेरै २७ वटा रुट भएको यही मात्र चट्टान हो ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले यस ठाउँको संरक्षणका लागि गाउँपालिकाले पहल गर्दै आएको बताए । चुनपहरामा थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले अध्ययन गरिरहेको उनले बताए ।

प्रकाशित : पुस ११, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×