नवलपरासीलाई हराउँदै कपिलवस्तु विजयी- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपरासीलाई हराउँदै कपिलवस्तु विजयी

माधव ढुंगाना

भैरहवा — भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा कपिलवस्तुले पश्चिम नवलपरासीलाई १० रनले पराजित गरेको छ ।

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १३ रन बनायो । जसमा, करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले ३–३ विकेट लिए ।

जवाफमा कपिलवस्तुले ३५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे । बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले ३–३ तथा इकलाख अहम्मद र करण विकले २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए ।

आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । पुस २१ सम्म सञ्चालन हुने छनोट खेलमा ७ जिल्ला सहभागी छन् ।

प्रकाशित : पुस १०, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

बालबालिकामा ‘डाउन सिन्ड्रोम’को बारे कसरी थाहा पाउने ? 

डाउन सिन्ड्रोम भएका व्यक्तिहरुमा स्वास्थ्य सम्बन्धी समस्या देखिए पनि राम्रो स्याहार, उपचार र व्यवस्थापनले औसत आयु ४०–५० वर्षभन्दा माथि हुनुका साथै स्वरोजगारबाट जीवनयापन गरेका प्रशस्त उदाहरण छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठनका अुनसार विश्वभर हरेक आठसय देखि एक हजार शिशुमध्ये १ जनामा डाउन सिन्ड्रोमको समस्या देखिने गरेको छ ।

डाउन सिन्ड्रोम भनेको जन्मजात हुने क्रोमोसोम असामनता भएको अवस्था हो । सामान्य व्यक्तिमा ४६ क्रोमसोम हुन्छ भने डाउन सिन्ड्रोम भएका व्यक्तिमा ४७ क्रोमोसोम हुन्छ । यो क्रोमोसम असामनता बौद्धिक अपांगताको कारण पनि हो ।

यो संज्ञान क्षमता र शारीरिक विकासको ढिलाइ तथा अनुहारको आकृतिको विशिष्ट अवस्थासँग जाडिएको हुन्छ ।धेरैजसो डाउन सिन्ड्रोम भएका व्यक्तिमा सामान्य किसिमको बौद्धिक असक्षमता तथा सिकाइ र शारीरिक विकासमा ढिलाइ देखिन्छ ।

डाउन सिन्ड्रोम भएका शिशु जन्मिने जोखिम

-आमाको उमेर ३५ वर्ष वा सो भन्दा माथि भएमा,

-विनाकारण बारम्बर गर्भ तुहिने भएमा,

-पहिले नै डाउन सिन्ड्रोम भएको बच्चा जन्माइ सकेका दम्पत्ति,

-आमा वा बाबुमध्ये कुनै एक वा दुवै जनामा क्रोमोसोमको विकृति भएमा

कसरी पहिचान गर्ने?

डाउन सिन्ड्रोमको पहिचान जन्मिने बित्तिकै अनुहार हेरेर पनि हुन सक्छ वा थप पुष्टि गर्नको लागि शिशु वा बालबालिकाको रगत जाँच गर्न सकिन्छ जुन सुविधा अहिले वीर अस्पतालमा उपलब्ध छ । गर्भावस्थामा आमाको रगतको जाँच, भिडियो एक्सरे र गर्भाशयको पानी जाँच गरेर डाउन सिन्ड्रोम गर्भावस्थामा नै थाहा पाउन सकिन्छ ।

लक्षणहरु यसप्रकार छन् :

-गोलो र चेप्टो अनुहार

-अति सानो चिउँडो

-नेप्टो नाक

-माथि फर्केको चिम्से आँखा

-मुखबाट जिब्रो निस्की राख्ने

-खुट्टाको बुढी र दोस्रो औंलाबीच फाटो

-हत्केलामा एक्लो लाइन( साइन क्रिज)

-छोटो गर्दन

-आँखाको नानीमा सेतो –पहेँलो थोप्ला

-होचोपना

-टाउकोको गोलाइ सानो

-सानो र तल जोडिएको कान

-मांसपेसीको फितलोपना

-सानो जनेन्द्रिय

डाउन सिन्ड्रोम भएका व्यक्तिहरुमा स्वास्थ्य सम्बन्धी समस्या देखिएता पनि राम्रो स्याहार, उपचार र व्यवस्थापनले औसत आयु ४०–५० वर्ष भन्दा माथि हुनुका साथै स्वरोजगार भइ जीवनयापन गरी रहेका उदाहरणहरु पनि प्रशस्त छन् । बालबालिकाहरुमा माथिका लक्षणहरु देखिएमा तुरुन्त बालरोग विशेषज्ञ वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

सन्दर्भ स्रोत: स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियान्त्रण महाशाखा अपांगता सम्पर्क इकाई

प्रकाशित : पुस १०, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×