दुधे बालक च्यापेर मैदानमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुधे बालक च्यापेर मैदानमा

प्रशिक्षक सन्जु क्षत्री भन्छन्- ‘अनिता टिममा भएपछि आफूहरूलाई पनि ऊर्जा मिल्छ । अरू खेलाडीलाई पनि प्रेरणा हुन्छ । उनको बलिङमा जादु छ ।’
सन्जु पौडेल

लुम्बिनी — राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् । 

प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन । ‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’

उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोगिता थियो । दुई वर्षअघि विवाह गरेर आमा बनेपछि उनले मैदान टेक्न पाएकी थिइनन् ।

बोल्न लजाउने र पातलो ज्यानकी उनी बलिङ गर्न माहिर छन् । सानोमा गाउँका दाइहरूले चौरमा क्रिकेट खेलेको हेर्दै हुर्केकी उनी भन्छिन्, ‘सुरु–सुरुमा ब्याट र बल देख्दा डर लाग्थ्यो, बल छोप्न नसकेर भाग्ने र ब्याट फालिदिने गर्थें । तर साथी र दाइहरूसँग खेल्दाखेल्दै ब्याट र बल नै प्यारो लाग्न थाल्यो ।’

ढुंगोजस्तो साह्रो ड्युज बल समात्दा नडराएकी होइनन्, धेरैपल्ट छोडेर भागिन् पनि । तर गुरुले हातमै थमाएर धेरैबेर समात्न सिकाएपछि आफूलाई बानी पर्दै गएको अनिताले सुनाइन् । उनी दाङ महिला क्रिकेट टोलीकी तेस्रो ब्याचकी खेलाडी हुन् । दाङ टोलीबाट लगातार १० वर्षसम्म खेलिरहेकी छन् । त्यसबीचमा उनले आठ राष्ट्रिय, दुई प्रधानमन्त्री कप र अन्य धेरै प्रतियोगितामा भाग लिएकी छन् ।

मिडियम पेस बलर अनिताले २०७२/७३ मा इटहरीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा एकै खेलमा चार विकेट लिएकी थिइन् । ‘प्लेयर अफ द म्याच’ को उपाधि नै चुमिन् । त्यो आफ्ना लागि स्मरणीय उपलब्धि भएको उनी सुनाउँछिन् । विवाहपछि अनिताले खेल्छिन् कि खेल्दिनन् भन्ने साथीहरूबीच बहस नै हुन्थ्यो रे । त्यसमाथि कोरोना महामारीका कारण महिला क्रिकेट प्रतियोगिता नभएको अवस्था थियो भने अनिता पनि आमा बनेकी थिइन् ।

प्रधानमन्त्री कपका लागि लुम्बिनीस्तरीय छनोट हुने निधो भएपछि साथीहरूले अनितासँग मैदान फर्कने या नफर्कने कुरा बुझे । घरमा बसुन्जेल मैदानको याद र बल समात्न पाए हुन्थ्यो भन्ने कुराले सताइरहने अनितालाई साथीहरूको त्यो खबरले उत्साही बनायो । ‘छोरासँगै केही गर्न सक्छु भन्ने आँट गरेर मैदान पस्न सुरु गरेकी हुँ । जहाँ गएर भए पनि खेल्न तयार हुन्छु भनेर अभ्यास थालिहालें,’ उनले भनिन् ।

प्रशिक्षक सन्जु क्षत्री पनि अनितालाई अत्यन्तै अनुशासित र क्रिकेटमा लगाव भएकी खेलाडी मान्छिन् । भन्छिन्, ‘अनिता टिममा भएपछि आफूहरूलाई पनि ऊर्जा मिल्छ । अरू खेलाडीलाई पनि प्रेरणा हुन्छ । उनको बलिङमा जादु छ ।’ अनितालाई दाङको टोलीमा ल्याउन पूर्वप्रशिक्षक देवेन्द्रसिंह ठकुरीको विशेष हात छ । उनी अनिताको बलिङबाट खुबै प्रभावित भएका थिए ।

चार दिन चलेको छनोट स्पर्धामा अनिताका छोरालाई हेरचाह गर्न अनिता र टिमका अरू खेलाडीले पालो दिएर सघाए । १४ खेलाडीमध्ये एक जनाले पालो दिएरै अनितालाई मैदान पठाउने गरे । आठ महिनाकी सुत्केरी आमा भएकाले निरन्तर अभ्यास गरिरहँदा छिटो थाक्ने र ढाड दुख्ने गरेको उनी बताउँछिन् । तर आफू प्रशिक्षणमा खटिरहन पनि उनी तत्पर छिन् । आफूले निरन्तर क्रिकेट खेल्ने र छोरालाई समेत आफ्नो खेल देखाउने रहर उनको छ । भन्छिन्, ‘छोरालाई समेत क्रिकेट खेलाडी बनाउने धोको छ ।’

आमा भएपछि खेलमा लागिरहेका धेरै खेलाडी भए पनि मैदानमै बच्चा च्यापेर जाने र दूध चुसाउने आमा खेलाडीको सूचीमा अनिता उदाहरणीय बन्न सक्ने प्रतियोगिता संयोजक कैलाश रोकामगर ठान्छन् । अनितालाई प्रोत्साहन गरी अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनले सुनाए । नेपाली महिला खेलाडीले विवाहपछि खेल्न पाउने मौका नै कम हुने र चौधरी समुदायको प्रतिनिधित्व गरेकी अनिताले छोरालाई साथमै लिएर पनि खेल्न तयार भएकाले उनीजस्ता खेलाडीले मौका र हौसला दुवै पाउने रोकामगरको भनाइ छ । ‘हरेक खेल उत्तिकै महत्त्वपूर्ण र रमाइलो लाग्छ,’ अनिताले भनिन्, ‘खेलबाटै चिनिन पाउँदा झनै सन्तुष्टि मिल्छ ।’

बुबाआमाले क्रिकेटबारे केही नबुझेको भए पनि आफ्नो रहर र मिहिनेतलाई भरपूर साथ दिएको उनी सुनाउँछिन् । काठमाडौंमा जागिरे रहेका उनका पति मिलन चौधरी पनि उनको खेलप्रति सहयोगी छन् । ‘कमब्याक’ का लागि सासूससुरा र पतिको हौसलाले थप ऊर्जा मिलेको अनिताले सुनाइन् । उनको टिम फाइनलमा रूपन्देहीसँग १८ रनले पराजित भएको थियो । प्रयासका बाबजुद उनी लुम्बिनी प्रदेश टिमको १४ सदस्यीय टोलीमा पर्न सकिनन् । लुम्बिनीले धनगढीमा प्रधानमन्त्री कपमा पहिलो दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित : पुस ५, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा नयाँ अनुहार उल्लेख्य

अघिल्लो महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचितमध्ये २ मात्रै नयाँ थिए, यस पटक १५ जना 
आइतबारसम्म निर्वाचितमध्ये देउवा प्यानलका ३७, कोइराला प्यानलका १३, सिंहका १ र साझा १ जना
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । खुलातर्फ आइतबार निर्वाचित ३५ केन्द्रीय सदस्यमा १५ जना नयाँ छन् । अघिल्लो महाधिवेशनमा खुलातर्फ निर्वाचित २५ केन्द्रीय सदस्यमध्ये विश्वप्रकाश शर्मा र रमेश लेखक मात्र नयाँ थिए । यस पटक मतगणना बाँकी रहेका विभिन्न ‘क्लस्टर’ का ८६ केन्द्रीय सदस्यमा पनि नयाँ अनुहार प्रतिस्पर्धामा छन् । 

१३ पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ हुन् । सभापतिले मनोनयन गर्ने ३३ केन्द्रीय सदस्यमा भने पुरानै नेताको बाहुल्य हुने अनुमान छ ।

महाधिवेशनमा पदाधिकारीपछि सबैभन्दा रोचक र कडा प्रतिस्पर्धा खुलातर्फको केन्द्रीय सदस्यमा थियो । ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । बीपी कोइराला–पुत्र शशांकले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याए । उनी चारवटै प्यानलको सूचीमा परेका थिए । गत महाधिवेशनमा कोइराला परिवारकै शेखरले सबैभन्दा बढी मत ल्याएका थिए । उनी यस पटक देउवासँग सभापतिमा पराजित भए । उदयशमशेर राणा र रामहरि खतिवडा क्रमशः चौथो र पाँचौं बढी मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर क्रमशः ११ औं र १५ औं नम्बरमा निर्वाचित भएका छन् ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले २० औं नम्बरमा निर्वाचित हुँदै पहिलो पटक केन्द्रीय समितिमा आएका छन् । २४ देखि ३५ नम्बरसम्ममा परेका राजीव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य र कृष्णकिशोर घिमिरे नयाँ हुन् । ३० औं नम्बरका गणेश लामा र ३४ औं नम्बरका गोपाल दहित विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग एकता भएपछि केन्द्रीय सदस्य बनेका थिए । निर्वाचनबाट भने दुवै पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।

पहिलो पटक केन्द्रीय सदस्य बनेकामध्ये ढुंगाना नेविसंघका अध्यक्ष र शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव छन् । शिवाकोटी तत्कालीन सभामुख कृष्णबहादुर महराको ‘बलात्कार प्रयास’ र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसनसम्बन्धी समाचार सार्वजनिक गरेर चर्चामा आएका थिए ।

पोखरेल २०७२ को भूकम्पपछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । पूर्वमन्त्री गौतमले २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई पराजित गरेका थिए । १३ औं महाधिवेशनमा झिनो मतले पराजित भएका राणा र खतिवडाले यस पटक थुप्रै वरिष्ठ नेता र बहालवाला मन्त्रीलाई पछि पारे । उनीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्रीहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शंकर भण्डारी, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, दीपक गिरी र सुनीलबहादुर थापाको भन्दा बढी मत पाए ।

खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित जिपछिरिङ लामा, गणेश लामा र मोहन आचार्य निर्माण व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । लामाको विगत ‘गुन्डा नाइके’ का रूपमा विवादास्पद छ ।

२५ जना देउवापक्षीय

खुलातर्फ निर्वाचितमध्ये देउवा प्यानलका २५ र कोइराला प्यानलका ९ जना छन् । शशांक कोइरालालाई भने देउवा, शेखरका साथै प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि आफ्नो प्यानलमा राखेका थिए । केन्द्रीय सदस्यमा निर्वाचितमध्ये एनपी साउद, बालकृष्ण साउद, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा देउवा पक्षका हुन् ।

नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे पनि देउवा प्यानलबाटै प्रतिस्पर्धामा उत्रिएका थिए । कोइराला पक्षबाट अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइराला केन्द्रीय सदस्य बनेका छन् । सिंह र निधि प्यानलका कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् । आइतबारसम्म १३ पदाधिकारी र ३९ सदस्यको परिणाम आएको छ । त्यसमा देउवा प्यानलका सभापतिसहित ३७, कोइराला प्यानलका १३, सिंह प्यानलका १ र साझा १ (शशांक) जना छन् ।

कांग्रेसको विधानअनुसार सभापतिले निर्वाचनपछि ३३ जना (२० प्रतिशत) केन्द्रीय सदस्य मनोनयन गर्दै १ सय ६७ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछन् । सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुने वैधानिक प्रावधान छ । यसबाहेक देउवाले सभापति तथा पदाधिकारीमा पराजित र निर्वाचन प्रक्रियामा सामेल नभएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सक्नेछन् । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छादार, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, प्रकाशशरण महत, प्रदीप पौडेल, कल्याण गुरुङ, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, मीन विश्वकर्मा, जीवनबहादुर शाहीलगायत नेता पर्ने सम्भावना छ ।

विधानको धारा २१ मा सभापतिले कार्यसमितिमा एकतिहाइ महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनयन गर्ने उल्लेख छ ।

जो पराजित भए

निवर्तमान केन्द्रीय समितिमा रहेका र विगतमा केन्द्रीय सदस्य, सांसद तथा मन्त्री भएका केही चर्चित नेताले पराजय भोगेका छन् । विद्यार्थी राजनीतिबाट आएका अधिकांश उम्मेदवारले चुनाव जित्दा नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य र पूर्वउपाध्यक्ष क्षितिज भण्डारी पराजित भए ।

१ हजार ६ सय ५४ मत ल्याएका आचार्य ३६ औं नम्बरमा परे । ३५ नम्बरमा परेर केन्द्रीय सदस्य बनेका कृष्णकिशोर घिमिरेको १ हजार ७ सय ७ मत छ । पूर्वमन्त्री यज्ञबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, पूर्वराजदूत सुरेशराज चालिसे, पूर्वसांसदहरू तारिणीदत्त चटौत, मोहनप्रसाद बराल, लोकेश ढकाल र शारदा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत प्यानलमा परेर पनि निर्वाचित हुन सकेनन् ।

निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका मंगलप्रसाद थारू, टीएन योगी, सुधीरकुमार शिवाकोटी र हरिप्रसाद नेपाल चुनिन सकेनन् । लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल पनि पराजित भए ।

खुला सदस्यमा को–को ?

शशांक कोइराला (३८३६ मत), एनपी साउद (२९३७), बालकृष्ण खाँण (२८७९), उदयशमशेर राणा (२८४३), रामहरि खतिवडा (२८३२), ज्ञानेन्द्रबहादुर कार्की (२८२०), रमेश लेखक (२७८०), शंकर भण्डारी (२७६२), जिपछिरिङ लामा (२७०२), अर्जुननरसिंह केसी (२६५०), जितजंग बस्नेत (२५५७), गोपालमान श्रेष्ठ (२५३८), मोहनबहादुर बस्नेत (२४७६), सुनीलबहादुर थापा (२४७२), नैनसिंह महर (२४६७), दिलेन्द्रप्रसाद बडू (२४४१), रामशरण महत (२४३४), बलबहादुर केसी (२३८८), गोविन्द भट्टराई (२३५०), कुन्दनराज काफ्ले (२२७९), दीपक गिरी (२२६५), सुरेन्द्रराज पाण्डे (२२०१), पद्मनारायण चौधरी (२०३८), राजीव ढुंगाना (१८९६), गुरू बराल (१८७०), सञ्जयकुमार गौतम (१८६७), गोविन्दराज पोखरेल (१८४३), मदनबहादुर अमात्य (१८३०), अजयबाबु शिवाकोटी (१८११), गणेश लामा (१७८२), दिनेश कोइराला (१७८१), उमेशजंग रायमाझी (१७७६), मोहन आचार्य (१७५१), गोपाल दहित (१७१०), कृष्णकिशोर घिमिरे (१७०७)

प्रकाशित : पुस ५, २०७८ ०६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×