कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरेलु मैदानमा पुलिसविरुद्ध मनाङको सहज जित

दीपक परियार

पोखरा — काठमाडौं उपत्यका बाहिर पहिलोपल्ट भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ऐतिहासिक खेलमा मनाङ मर्स्याङ्दी क्लबले पुलिस क्लबविरुद्ध शनिबार सहज जित निकालेको छ ।

घरेलु मैदानमा पुलिसविरुद्ध मनाङको सहज जित

पोखरा रंगशालाको घरेलु मैदानमा मनाङले पुलिसलाई ३–१ ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको हो । मनाङले शनिबारको खेलबाट ३ अंक जोड्दै यसअघि शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबलाई पछि पारेको छ । शनिबारको खेलमा मनाङका कप्तान अन्जन विष्ट चम्किँदा पुलिसविरुद्धको खेल एकतर्फीजस्तै बन्यो ।

पोखरा रंगशाला फुटबल मैदानमा अन्जनले १० औं मिनेटमा पहिलो गोल गरे । डिफेन्डर दिनेश राजवंशीको प्रहारमा पुलिसका गोलकिपर रोशन खड्काले कमजारी गर्दा अन्जनले मौका पाए । दिनेशको लामो पासलाई रोशनले पेनाल्टी एरिया बाहिर गएर क्लियर गर्न खोज्दा बाउन्स भएको बललाई अञ्जनले पेनाल्टी एरियाभित्रै नियन्त्रणमा लिएर गोल गरे ।

खेलको ३६ औं मिनेटमा मनाङका डिफेन्डर सरोज योञ्जन लामाको गल्तीले पुलिसले पेनाल्टी पायो । सरोजले पुलिसका निरकुमार राईलाई पेनाल्टी एरियामा लडाएपछि सुमन लामालाई पेनाल्टीको अवसर जुर्‍यो । पेनाल्टी खेर नफालेर सुमनले खेललाई बराबरीमा फर्काए । पहिलो हाफदेखि नै आक्रामक खेलेको मनाङले पर्याप्त गोलका अवसर सिर्जना गर्न भने सकेन । ३९ औं मिनेटमा मिडफिल्डर पुजन उपरकोटीको कर्नरमा आफिज ओलावालेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

खेलको ७३ औं पुलिसका डिफेन्डर सन्तोष हेम्रोनको पेनाल्टी एरिया बाहिर हयान्ड भएपछि पाएको फ्रिकिक मनाङका लागि अवसर साबित भयो । अन्जनले सिधैं गोलपोस्टमा प्रहार गरेको सुन्दर फ्रि–किकलाई गोलमा परिणत गर्दै मनाङलाई २–१ को अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका मनाङका निशान लिम्बुले ८३ औं मिनेटमा गोल गरेर पुलिसविरुद्धको गोलअन्तरलाई बढाए । ओलावालेको प्रहार पुलिसका गोलकिपर रोशनले पञ्च गरेर क्लियर गर्न खोज्दा रिबाउन्ड बलमा निशानले गोल गरेका थिए । निशानको गोलसँगै मनाङ पुलिसविरुद्ध ३–१ को जित निकाल्यो ।

खेलमा मनाङका अन्जन विष्ट म्यान अफ दी म्याच घोषित भए पुलिसका निरकुमार राई उदीयमान खेलाडी बने ।

प्रकाशित : पुस ३, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?