२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट खेलमा रुपन्देही च्याम्पियन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा संचालित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन भएको छ । 

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट खेलमा रुपन्देही च्याम्पियन

भैरहवास्थित सिद्धार्थ रंगशालामा मंगलबार भएको फाइनल प्रतिस्पर्धामा दाङलाई १८ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । दाङ उपविजेता बन्यो । यो प्रतिस्पर्धाबाट महिला क्रिकेटमा रुपन्देही पहिलोपल्ट च्याम्पियन भएको हो ।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २० रन बनायो । उसका लागि कप्तान नितु भण्डारीले नटआउट ३८, विभासना विसीले २१ र कृति सेनले १८ रन बनाइन् । बलिङमा दाङका लक्ष्मी चौधरी, कमला जीएम, मधु डिसी र सरस्वती जीएमले समान १–१ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको दाङले ७ विकेटको नोक्सानीमा १ सय २ रन बनायो । दाङका लागि सरस्वती जीएमले २५, मधु डिसीले २० र अनिता चौधरीले नटआउट १० रन जोडे । बलिङमा रुपन्देहीका सुस्मिता भुसाल र सरु तिवारी समान २–२ तथा विभासना विसी र एलिसा केसीले १–१ विकेट लिए ।

प्रतियोगितामा रुपन्देहीकी नितु भण्डारी म्यान अफ द फाइनल भइन् । भैरहवामा मंसिर २५ गतेदेखि छनोट प्रतियोगिता भएको थियो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२मध्ये रुपन्देही, दाङ बाँके र पश्चिम नवलपरासी गरी ४ जिल्लाका महिला क्रिकेट खेलाडीमात्रै सहभागी भएका थिए ।

प्रतियोगितामा सहभागी खेलाडीहरुबाट उत्कृष्ट १४ जना छनोट गरी आगामी पुस ३ गतेबाट धनगढीमा हुने प्रधानमन्त्री कपमा सहभागी हुने लुम्बिनी प्रदेशस्तरीय टीम बनाइने छ । बुधबारसम्म खेलाडी छनोट सक्ने प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?