'ए' डिभिजन लिग

संकटा शीर्ष चारमा, जावलाखेललाई अंक

बीबीसीविरूद्ध पहिलो हाफमा जावलाखेल हाबी भए पनि एक अंकमै चित्त बुझाउन बाध्य रह्यो, टोली अझै रेलिगेसन क्षेत्रमै

काठमाडौँ — पुलिस टिम त्यस्तो रहेन, जस्तो पहिले रहने गरेको थियो । नत्र एक गोलले पछाडि रहेको स्थितिमा पुलिस मज्जाले खेलमा फर्कन सक्षम हुन्थ्यो । अनन्त थापाले खेल्ने बेला यस्ता अनेक खेलका उदाहरण छन्, जहाँ पुलिसले पछाडि रहेको स्थितिबाट खेल पल्टाएको छ । तर यिनै थापा प्रशिक्षक हुँदा पुलिस संकटाविरुद्ध के एक गोलले पछाडि पर्‍यो, परेको पर्‍यै भयो । यो हारले अहिलेको लिगमा पुलिसको अपराजित यात्रा टुंगिएको छ ।

संकटा शीर्ष चारमा, जावलाखेललाई अंक

तर संकटाको अपराजित यात्रा भने कायम रह्यो चौथो चरण आइपुग्दा । संकटाले अहिलेसम्म ६ गोल गरेको छ, त्यसमध्ये तीन गोल डिफेन्डर नीरज बस्नेतले गरेका छन् । उनकै गोलमा सोमबार संकटा विजयी रहेको हो । राम्रो लयमा रहेका नीरजले लक्ष्मण रुचालको कर्नरमा ‘डाइभिङ हेड’ गर्दै १८ औं मिनेटमा रोमाञ्चक गोल गरेका थिए । जारी सिजनको लिगमा ५० औं गोल हो यो ।

यससँगै संकटाले पछिल्लो सिजन २०७६ सालमा पुलिसविरुद्ध बेहोरेको २–१ को हारको बदला लिएको छ । संकटाले आर्मीसँग समान ८ अंक बनायो । तर, गोल अन्तरका आधारमा आर्मी अगाडि छ । शीर्षस्थानका मछिन्द्र र मनाङको खातामा १०–१० अंक छ । ‘दोस्रो जितमा एकदम खुसी छु,’ संकटाका प्रशिक्षक विष्णु गुरुङले भने, ‘पुलिस आक्रामक खेल्ने टिम हो । त्यसका लागि हामीले तथ्यांक निकालेरै तयारी गरेर काउन्टरमा केन्द्रित भयौं ।’ उनको टिमले सुरुआती खेलमा राम्रो प्रदर्शन गरेको थियो । यसबारे भने, ‘२० मिनेटसम्म चार अवसर सिर्जना गर्‍यौं । गोल गर्‍यौं । लिगमा १ अंक पनि महत्त्वपूर्ण हुन्छ । ३ वा १ अंकका लागि खेल्नुपर्ने हुन्छ ।’

बीबीसीविरुद्ध बल अगाडि बढाउँदै जावलाखेलका सन्तबहादुर गुरुङ (सेतो) ।

दुई जित र दुई बराबरी खेलेपछि प्रशिक्षक गुरुङले भने, ‘लक्ष्य शीर्ष तीन हो ।’ उनले नीरजलाई एक उत्कृष्ट डिफेन्डर भएको बताए । पुलिस भने पहिलो हारसँगै ५ अंकमा रोकियो । थ्रीस्टार र एनआरटीले पनि ५–५ अंक जोडेका छन् । मछिन्द्र, मनाङ, आर्मी, संकटासँगै शीर्ष पाँचमा रहेको सातदोबाटो युवा क्लबको खातामा ७ अंक छ । ‘यो ३ अंक धेरै नै महँगो पर्ने भयो,’ पुलिस प्रशिक्षक थापाले भने, ‘तीन अंक आएको भए दौड (उपाधि होड) मा धेरै फाइदा हुने थियो । अब उपाधि होड अरू टिमको नतिजामा भर पर्छ ।’

आफ्ना खेलाडीलाई निर्देशन दिादै बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठ । तस्बिर : केशव थापा/कान्तिपुर

हारका कारणबारे बोले, ‘स्टार खेलाडीहरूको प्रदर्शन राम्रो भएन । पहिलो हाफको प्रदर्शन फितलो रह्यो । पाएका अवसरमा पनि गोल हान्न सकेन ।’ पुलिसले पहिलो हाफमै बराबरी गर्ने अवसर पाएको थियो । तर, सुमन लामाले पोस्ट नजिकबाट ४३ औं मिनेटमा प्रहार गरेको बल संकटाका गोलकिपर राजाबाबु थापाले फर्काइदिए । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फरवार्ड भरत शाहको प्रदर्शन बिर्सनलायक रह्यो । उनले अजित भण्डारीको पासमा पेनाल्टी क्षेत्रमा प्राप्त बल पोस्टमा प्रहार गर्न नसक्दा पुलिसले ६५ औं मिनेटमा बराबरी गर्ने अर्को मौका चुकायो ।

जावलाखेललाई पहिलो अंक

लिगका पछिल्ला ५ संस्करणका ३ खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले जावलाखेलविरुद्ध कुनै गोल गर्न सकेको छैन । बीबीसीले सोमबार पनि सकेन । तर कम्तीमा बीबीसीले जावलाखेललाई गोलरहित बराबरीमा भने रोक्यो । त्यसको अर्थ यसअघिका ती सबै तीन खेलमा विजयी जावलाखेल अहिलेको बराबरीमा घाटामै गएको देखिन्छ । कम्तीमा यस नतिजासँगै लिगमा पहिलो अंक बटुलेको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेल बीबीसीविरुद्ध हाबी रहे पनि गोल भने निकाल्न सकेन ।

कम्तीमा पहिलो हाफमा जावलाखेल पूर्णतः हाबी रह्यो, तर टोली एक अंकमै चित्त बुझाउन बाध्य रह्यो । यो नतिजापछि जावलाखेलको ४ खेलबाट एक अंक भएको छ र अझै रेलिगेसन क्षेत्रमा छ । एक अंक प्राप्त भएपछि जावलाखेल १३ औं स्थानमा उक्लेको छ । बीबीसी भने समान ४ खेलबाट ५ अंकसहित सातौं स्थानमा उक्लेको छ । जावलाखेलका प्रशिक्षक किशोर केसीले माने, बराबरीको उपलब्धि आफ्नै ठाउँमा छ, तर यो खेलमा टिमले २ अंक गुमाएको छ ।

खेलपछि दुवै टिमका प्रशिक्षकले एउटा तथ्यमा भने खुलेरै बोले र त्यो थियो, रेफ्रीको प्रदर्शनलाई लिएर । केसीले मात्र होइन, बीबीसीका सनोज श्रेष्ठले पनि रेफ्रीको प्रदर्शनमा रोष प्रकट गरे । रेफ्री थिए ज्ञानबहादुर तामाङ । केसीले भने, ‘यस्तै रेफ्री रहने भने नेपालमा फुटबलको विकास हुन्न । रेफ्रीले धेरै गल्ती गरे । म रेफ्रीको निर्णयलाई बोल्ने प्रशिक्षक होइन तर आज नबोलेर रहन सकिनँ ।’

बीबीसीका श्रेष्ठले भने, ‘हामी पनि रेफ्रीको निर्णयमा खुसी छैनौं । ए डिभिजनमा जस्तो रेफ्री हुनुपर्ने हो, त्यस्तो छैन ।’

प्रकाशित : मंसिर २८, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?