कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माने भन्ज्याङको महिला भलिबल टिम

कुम्भराज राई

ओखलढुंगा — दाइहरूले भलिबल खेलेको सानैदेखि हेर्दै आएकी मानेभन्ज्याङ गाउँपालिका–५ की तारा श्रेष्ठलाई पनि खेल्ने रहर जाग्थ्यो । तर अवसर पाउँदैन्थिन् । १० वर्षअघि गाउँमै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भयो । विद्यालयको छात्रा समूहबाट भलिबल खेल्ने मौका पाइन् । त्यसयता उनले लगातार भलिबल खेल्दै आएकी छन् ।

माने भन्ज्याङको महिला भलिबल टिम

यहाँको महिला भलिबल टिमको प्रतिनिधित्व गर्दै प्रदेश १ का विभिन्न जिल्लामा पुगिसकिन् । हाल महिला भलिबल ओखलढुंगाको क्याप्टेन हुन् तारा । उनले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको टिममा सहभागी भएर खेलिन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशकै टिम क्याप्टेनको जिम्मेबारी सम्हालिन् । तारा हाल २४ वर्षकी भइन् । अझै उनलाई भलिबलप्रतिको आकर्षण उत्तिकै छ ।

सावित्री राई (२३) पनि तारासँगै स्कुलदेखि खेल्न सुरु गरेकी उनी जिल्लामा महिला भलिबलकी सम्भावना बोकेकी खेलाडी हुन् । ‘नेपालमा खेलकुदमा भविष्य त छैन,’ सावित्रीले भनिन्, ‘तर कम्तीमा विभागीय टिममा छनोट भएर खेल्न सके हुन्थ्यो भन्ने सपना छ ।’ घरको काम सकेर फुर्सद भएपछि भलिबल खेल्न निस्कने तारा, सावित्रीसँगै अहिले दर्जनौं छन् । महिला विधामा भलिबल प्रतियोगिता कमै हुन्छ । हालै मात्र ओखलढुंगा महिला भलिबल टिमले सोलुखुम्बुमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा पहिलो भयो । दुई वर्षअघि संखुवासभासँग पराजित यो टिम अहिले भने उत्कृष्ट फर्ममा छ । भोजपुरको ‘रामप्रसाद राई गाउँपालिका’ मा गत वर्ष भएको प्रदेशस्तरीय भलिबल प्रतियोगितामा टिम प्रथम भयो ।

‘अहिले कुनै प्रदेशस्तरीय प्रतियोगिता हुने हो भने ओखलढुंगा महिला भलिबल टिम सबैभन्दा उत्कृष्ट छ,’ ताराले भनिन्, ‘हाम्रा खेलाडी फर्ममा छन्, यसअघि संखुवासभा बलियो थियो, उनीहरूको टिम अहिले कमजोर भएको छ ।’

जिल्ला महिला भलिबलको टिमका सबै खेलाडी मानेभन्ज्याङ गाउँपालिकाभित्रकै छन् । यस गाउँपालिकामा महिलाहरू भलिबल खेलमा अत्यन्तै आकर्षित छन् । ‘महिला भलिबल खेलाडीको संख्या धेरै छ,’ जिल्ला भलिबल संघका अध्यक्ष तथा भलिबलका राष्ट्रिय रेफ्रीसमेत रहेका रूपलाल तामाङले भने, ‘तर यो टिमले चाहेजस्तो अभ्यास, तालिम र अवसर पाएको छैन, यसका लागि सरकारी निकायले सहयोग गर्न तत्पर हुनुपर्‍यो ।’

गाउँपालिकाले बेलाबेलामा आयोजना गर्ने वडास्तरीय महिला भलिबल प्रतियोगिताको कारण यत्तिको संख्यामा भलिबलमा महिलाहरूको आकर्षण बढेको खेलाडीहरूको भनाइ छ । ‘सहयोग कसैको हुँदैन, हारगुहार गरेर, चन्दा उठाएर प्रतियोगितामा सहभागिता जनाउने गरेका छौँ,’ तारा श्रेष्ठले भनिन्, ‘भलिबल खेलकुद त्यसमा पनि महिला भनेपछि हेर्ने दृष्टिकोण टीठलाग्दो छ ।’

कोचिङ राम्रो भएर अभ्यास गर्ने हो भने राष्ट्रिय स्तरको खेलाडी जिल्लामै उत्पादन गर्न सकिने उनले बताइन् । अन्य महिलालाई प्रेरणा होस्, नयाँ पुस्ताहरू भलिबल खेलप्रति आकर्षित हुन् भन्ने उद्देश्यले भलिबल खेल्न नछोडेको उनले बताइन् । खेलकुदमा लागेका महिलालाई जिल्लाका विद्यालयले पार्ट टाइम खेलकुद प्रशिक्षक नियुक्त गर्न सके केही टेवा पुग्ने भलिबल संघका अध्यक्ष रुपलाल तामाङले बताए । काखे नानी भएका महिला भलिबल खेलमा आकर्षित हुन

थालेका छन् । यही आकर्षणलाई सदुपयोग गर्न सके भलिबलमा प्रगति गर्न सकिने खेलाडीको भनाइ छ । राष्ट्रिय भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले यि उत्साही र ऊर्जावान् खेलाडीको प्रोत्साहनका लागि वातावरण बनाउने हर सम्भव प्रयास गर्ने बताइन् । ‘आधारभूत आवश्यकताका लागि संघर्षरत यी खेलाडीको आर्थिक अवस्था उकास्न र राम्रो कोचको प्रबन्धमा संघले निःसन्देह पहल गर्छ,’ उनले भनिन् । केन्द्रदेखि मोसफलसम्मै पूर्वाधारको समस्या रहेकोले सरोकारवाला सबै पक्षले यता ध्यान दिनुपर्ने मास्कले बताइन् ।

प्रकाशित : मंसिर २६, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?