कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेल्ने चार जिल्ला, खेलाडी अधिकांश झापाकै

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट
खेलाडी अभाव, चार जिल्लाका कुल ५६ खेलाडीमा ११ खेलाडीमात्र झापाबाहिरका
पर्वत पोर्तेल

काँकडभिट्टा — इलाम जिल्लाको प्रतिनिधित्व गर्दै सोमवार झापाविरुद्ध खेलेका ओपनर शोभा अधिकारी र प्रज्ञा कटुवाल खासमा झापाकै खेलाडी हुन् । इलाममा महिला खेलाडी अभावका कारण देखाउँदै टोलीमा अधिकांश झापाकै खेलाडी समावेश गरिएको छ ।

खेल्ने चार जिल्ला, खेलाडी अधिकांश झापाकै

मोरङ र सुनसरीका टोलीको अवस्था पनि उही छ । ‘८० प्रतिशतभन्दा बढी झापाका खेलाडी राखेर टिम बनाउन र प्रतियोगिता गर्न बाध्य छौं,’ प्रदेश क्रिकेट समितिका कोषाध्यक्ष बिरु श्रेष्ठले भने, ‘यो दुःखसँगै हाम्रो बाध्यता पनि हो ।’

पुस ३ देखि सुदूरपश्चिमको महेन्द्रनगरमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि झापा काँकडभिट्टाको तुर्केनी मैदानमा मंसिर १८ देखि छनोट प्रतियोगिता जारी छ । प्रदेश १ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा झापा, इलाम, सुनसरी र मोरङ गरी चार जिल्ला सहभागी छन् । इलाम, सुनसरी र मोरङका टोलीमा झापाका पनि मेचीनगर र धुलाबारीका खेलाडी समावेश छन् ।

इलामको कप्तानी नै झापाकी स्मृति कटुवालले सम्हालेकी छन् । सुनसरीमा २, इलाममा ३ स्थानीय खेलाडी छन् । अरू सबै झापाका खेलाडी हुन् । मोरङमा झापाका ८ खेलाडी छन् । एक समय नेपाली क्रिकेटको ‘हब’ रहेको मोरङबाट स्थानीय ६ खेलाडीले खेलेका छन् । चार जिल्लाका कुल ५६ खेलाडीमा ११ खेलाडीमात्र झापाबाहिरका छन् ।

राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा सोमबार झापाले इलामलाई ७५ रनले हरायो । नेपाली राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षत्रीले झापा टिम सम्हालेकी छन् । सँगै खेलेका छन् सवनम राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, संगीता राई, रोमा थापाजस्ता अनुभवी क्रिकेटर ।

इलाम, मोरङ र सुनसरीको टोलीमा भने यू–१९ का राष्ट्रिय खेलाडी लकिता राजवंशी, एलिसा खडिया, निशा साह, निङ्मा शेर्पा, स्मृति कटुवाललगायत खेलाडीलाई छ्यासमिस गरी समावेश गरिएको प्रदेश कोषाध्यक्ष श्रेष्ठले स्वीकारे । केही जिल्लामा भलिबलका महिला खेलाडीसमेत संलग्न गराइएको पाइएको छ ।

प्रदेश १ क्रिकेट संघका अध्यक्ष मिङ डन्डु शेर्पाले झापामा महिला क्रिकेटरको चाप रहेको बताउँदै उनीहरूले एक्सपोजरका लागि अन्य जिल्लाको टिममा समावेश भएर खेलेको दाबी गरे । उनले भने, ‘झापामा खेलाडी बढी छन्, अन्य जिल्लामा कम छ । त्यही भएर जहाँबाट खेले पनि खेल देखाउने कुरा न हो ।’

एक महिला खेलाडीका अनुसार प्रदेश १ मा महिला क्रिकेटरको चरम अभावका कारण तीन जिल्लामा झापाकै खेलाडी समावेश गरेर भए पनि छनोटको औपचारिकता पूरा गरिएको हो । ती खेलाडीले झापामा खेलाडी धेरै भएको र अन्य जिल्लामा कम भएकाले मिलाएर टिम बनाइएको हुनसक्ने बताइन् । ‘छनोटमा झापा हाबी छ,’ उनले भनिन्, ‘किनकि झापामा खेलाडी धेरै छन् ।’

यूएईमा आयोजित महिला क्रिकेटको एसिया छनोट खेलेर फर्किनेबित्तिकै रुबिनालगायतका राष्ट्रिय खेलाडी प्रधानमन्त्री कप दोस्रो पटक उचाल्ने दाउमा केन्द्रित भएका छन् । अघिल्लो वर्ष दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबलाई पराजित गरेर प्रदेश १ ले उपाधि उचालेको थियो । डिफेन्डिङ च्याम्पियनको नाताले यसपालि पनि प्रदेश १ लाई जित्ने दबाब छ । त्यही भएर सिंगो टोली अभ्यासतिर केन्द्रित बनिसकेको छ ।

चार दिने प्रतियोगितामा भएको उत्कृष्ट प्रदर्शनका आधारमा प्रदेश टोली छनोट गरिने छ । प्रदेश १ क्रिकेट संघका सदस्य विनिता बाँस्तोला र पूर्वराष्ट्रिय खेलाडी अम्बिका बुढाथोकीले प्रधानमन्त्री कपमा सहभागी हुने खेलाडी छनोट गर्नेछन् ।

प्रकाशित : मंसिर २१, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?