कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रत्नजितले उचाले बाह्रबिसे कपको उपाधि

अनिश तिवारी

सिन्धुपाल्चोक — खुला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको ‘बाह्रबिसे कप २०७८’को उपाधि पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले उचालेका छन् । 

रत्नजितले उचाले बाह्रबिसे कपको उपाधि

सिल्क ग्रुपको प्रायोजनमा खुर्सानीबारी खेलकुद कर्भड हलद्वारा आयोजित प्रतियोगिताको अन्तिम खेलमा उनले नेपाली सेनाका नविन श्रेष्ठलाई हराए । तामाङले एक लाख २५ हजार र दोस्रो भएका सेनाका नविन श्रेष्ठले ६५ हजारसहित मेडल, प्रमाण पत्र पाए ।

महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबका रसिला महर्जनले सेनाकी अमिता गिरीलाई हराइन्, उनले ५० हजार र गिरीले २५ हजारसँगै मेडल प्रमाणपत्र पाइन् । पुरुष डबलतर्फ कास्की क्लबका विधान अधिकारी र विशाल खड्का विजेता भए ।

जिल्लास्तरीय पुरुष डबल्सतर्फ बाह्रबिसे नगरका रमेश शेर्पा र अभिषेक गुरुङले चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठलाई पराजित गरेर बिजयी भए । त्यसैगरी भेट्रान ४५ वर्षमाथिको प्रतिस्पर्धामा स्थानीय डबल्समा पीएफसी क्लबका सञ्जय कपाली र श्याम लामाले बाजी मारे । बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, सिल्क ग्रुपका रमेश शेर्पा र खुर्सानीबारी खेलकुद कर्भड हलका पविन्द्रकुमार श्रेष्ठले विजेता टिमलाई चेक, मेडल र प्रमाणपत्र दिए ।

पुरुष एकल प्रथमलाई नगद एक लाख २५ हजार, दोस्रो ६५ हजार र तेस्रोलाई ३० हजार, पुरुष डबल्सतर्फका प्रथम एक लाख, द्वितीय ५० हजार र तृतीयलाई २५ हजार, महिला ५० हजार, द्वितीय २५ हजार र तृतीय १२ हजार ५ सय, स्थानीय डबल्समा प्रथम ३० हजार, द्वितीय २० हजार र तृतीयलाई उनीहरुले पालैपालो १० हजार हस्तान्तरण गरे ।

गएको मंसिर १६ देखि १८ सम्म खुला राष्ट्रव्यापी ब्याडमिन्टन खेलमा एक दर्जन क्लबसहित दुई सय १८ जना सहभागी थिए । कोरोना भाइरस संक्रमणका कारण लामो समय खेलकुदसम्बन्धी गतिविधि हुन सकेको थिएन् । हालै खेलकुद प्रवर्द्धनको लक्ष्य बोकेर खुल्ला राष्ट्रब्यापी व्याडमिन्टन प्रतियोगिता गरिएको खुर्सानीबारी खेलकुद कर्भड हलका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए । ‘अब कोरोना सचेतना अपनाउँदै अन्य कार्यक्रम र प्रतियोगिता गर्नेछौं, यत्तिको ठूलो राशिको खेल हुँदा खेलाडीलाई धेरै प्रोत्साहन भएको छ,’उनले भने । विजेता खेलाडीलाई ब्यालक हर्स सुजबाट जुत्ता एक जोर दिने प्रतिबद्धता भएको र तत्काललाई कुपन दिइएको उनले प्रस्ट्याए ।

प्रकाशित : मंसिर १९, २०७८ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?