कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश

काठमाडौँ — वाग्मती प्रदेशमाथि ८ विकेटको सानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो । ६ खेलमध्ये ४ खेलमा जित निकालेको सुदूरपश्चिमले राम्रो रनरेट बनाउँदै शीर्ष दुईमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरे । कप्तान खडक बोहोराले ५ रनको पारी खेल्दा बसन्त कार्की ११ रनमा पवेलियन फर्किए ।

सुदूरपश्चिमको दुई विकेट निकाल्ने क्रममा वाग्मतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वाग्मतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो । वाग्मतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

वाग्मती प्रदेशविरुद्ध कसिलो बलिङ गर्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले सबैभन्दा धेरै ५ विकेट हात पारे । धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर गर्दै १९ रन खर्चिएका थिए । यस्तै शेर मल्ल पनि वाग्मतीविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार विकेट निकाले । ५.१ ओभर बलिङ गरेका मल्ले ३१ रन खर्चिन पुगेका थिए ।

यू–१९ क्रिकेट प्रतियोयिगतामा राउन्ड रोविन लिगका खेल सकिएका छन् । प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?