कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युथ एथलेटिक्स अर्को साता

काठमाडौँ — घरेलु एथलेटिक्स लगभग शून्यको स्थितिमा पुगेका बेला अर्को साता दशरथ रंगशालामा युथ एथलेटिक्स च्याम्पियनसिप हुने भएको छ । एथलेटिक्स परिवार नेपालले आयोजना गर्न लागेको यो प्रतियोगिता त्यही संस्थाका सदस्य र केही शुभचिन्तकको आपसी आर्थिक सहयोगमा हुन लागेको हो । प्रतियोगिता आफैं भने केही हदसम्म अन्तर्राष्ट्रियस्तरको हुनेछ, किनभने यसमा बंगलादेशको आधिकारिक टिमले भाग लिँदै छ ।

युथ एथलेटिक्स अर्को साता

प्रतियोगिता मंसिर २० र २१ गते हुनेछ । त्यसमा छात्र र छात्रातर्फ यू–१६ र यू–२० तर्फ प्रतिस्पर्धा हुनेछ । सबैमा गरेर कुल २८ ट्र्याक एन्ड फिल्ड इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा नेपालका स्कुल र कलेजका गरेर २ सय ५० भन्दा बढीको सहभागिता रहनेछ । बंगलादेशबाट ५ महिला र ७ पुरुष गरेर कुल १२ खेलाडीको सहभागिता रहनेछ ।

आयोजक परिवारका अध्यक्ष राजन खत्रीका अनुसार विजयी खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ । पूर्वप्रशिक्षक सुशील नरसिंह राणाका अनुसार धेरैपछि यति ठूलो प्रतियोगिताका रूपमा उमेर समूहको एथलेटिक्स हुन लागेको हो । पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुदयता नेपाली एथलेटिक्समा संस्थागत रूपमा कुनै ठूलो कार्यक्रम हुन सकेको छैन ।

पत्रकार सम्मेलनमै एथलेटिक्सका पूर्वअध्यक्ष तथा प्रशिक्षक रघुराज वन्तले दुई महिला खेलाडीलाई व्यक्तिगत सहयोगस्वरुप खेल सामग्री पनि प्रदान गरे । उनले रजिना दुलाल र विर्सना कुमाललाई स्पाइक (जुत्ता) प्रदान गरेका थिए । उनले लामो समयदेखि खेलाडीलाई यसरी नै सहयोग गर्दै आएका छन् ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?