कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन दिए १६ रेफ्रीले राजीनामा ?

‘अध्यक्षज्यूले एकदम नराम्रो शब्द प्रयोग गर्दै गालीगलौज गर्नुभयो । हेप्नुभयो । जहाँ हाम्रो सम्मान छैन, त्यहाँ बसेर के काम भनेर सामूहिक राजीनामा दिएका हौं । अब हामी काम गर्दैनौं ।’
राजु घिसिङ

काठमाडौँ — सहिद समारक ‘ए’ डिभिजन लिगकै दौरान ‘फिटनेस टेस्ट’ गर्न दबाब दिएपछि बिहीबार लिगमा संलग्न २४ रेफ्रीमध्ये १६ जनाले संयुक्त राजीनामा दिएका छन् ।
फिटनेस टेस्टलाई सार्न वा तयारी गर्ने समय दिन आग्रह गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले अब खेल सञ्चालनमा संलग्न नहुने बताएका छन् ।

किन दिए १६ रेफ्रीले राजीनामा ?

एन्फाले असोज ७ मा फिटनेस टेस्ट लिएर रेफ्रीहरूलाई सन् २०२२ का लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा नाम पठाएको थियो । उनीहरूले नै मंसिर ३ मा सुरु भएको ‘ए’ डिभिजन लिगका खेलहरू खेलाइरहेका छन् । फेरि पुस ८ गते फिटनेस टेस्ट दिनुपर्ने सूचना पाएपछि रेफ्रीहरूले एन्फा अध्यक्ष शेर्पासमक्ष आग्रह गरेका थिए, ‘हामी फिटनेस टेस्ट दिन्छौं, त्यसका लागि तयारी गर्ने पर्याप्त समय दिनुपर्‍यो कि त लिग सकेपछि टेस्ट लिनुपर्‍यो । लिगका खेल खेलाइरहेको अवस्थामा फिटनेस टेस्ट दिन सम्भव हुन्न । किनभने फिटनेस टेस्ट निकै कठिन हुन्छ र यसको तयारी गर्न कम्तीमा एक महिना लाग्छ । विगतमा हामीले तीन महिनाअघि नै तयारी गर्थ्यौं ।’

रेफ्रीहरू एन्फापरिसरमा देख्नेबित्तिकै अध्यक्ष शेर्पा झोंक्किएका थिए । एक रेफ्रीले भने, ‘अध्यक्षज्यूले तिमीहरू राजनीति गर्न आयो, जुलुस आयो भन्दै हामीलाई धम्क्याउनुभयो । एकदम नराम्रो शब्द प्रयोग गर्दै गालीगलौज गर्नुभयो । हामीलाई हेप्नुभयो । विनातयारी फिटनेस टेस्ट दिदा इन्ज्युर्ड हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले टेस्ट अलि पर सारौं भन्दा अध्यक्षले हामीलाई दुर्व्यवहार गर्नुभयो । जहाँ हाम्रो सम्मान छैन, त्यहाँ बसेर के काम भनेर सामूहिक राजिनामा दिएका हौं । अब हामी काम गर्दैनौं ।’

अर्का रेफ्रीले भने, ‘अध्यक्षले औंला ठड्याएर कुरा गर्ने, ठाड्ठाडै गाली गर्ने हामी उहाँको घरमा काम गर्ने मान्छे त होइन नि !’

त्यसपछि चार फिफा रेफ्रीमध्ये नवीन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ, प्रज्वल क्षत्री तथा सबै (६ जना) फिफा सहायक रेफ्रीहरू नानीराम थापामगर, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चोधरी र किसन यादवले संयुक्त राजीनामा दिएका थिए । उक्त राजीनामा पत्रमा फिफा रेफ्री कविन व्यञ्जनकारको नाम समावेश भए पनि उनले हस्ताक्षर गरेका छैनन् । युनालको पनि हस्ताक्षर छैन । मौखिक सहमतिमा उनको नाम समावेश गरिएको बताएका छन् । पछि दबाबमा नेपाली सेनाका विक्रम र माधवले राजीनामा फिर्ता गरेको बताएका छन् । उनीहरूले राजीनामाको कारण उल्लेख नगरे पनि ‘चलिरहेको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२१/२२ मा सहभागी नहुने’ लेखेका छन् ।

फिफा रेफ्री र सहायक रेफ्रीहरूले संयुक्त राजीनामा दिएको केही घण्टापछि १४ जनामध्ये ९ राष्ट्रिय रेफ्री शुक्र तामाङ, प्रकाश भुजेल, श्याम दनुवार, प्रजेश अमात्य, हरिश कार्की, मधुकर आचार्य, ज्ञान तामाङ, सविन ढकाल र उमेश बिडारीले पनि ‘फिफा रेफ्री तथा सहायक रेफ्रीहरूले दिएको राजीनामाप्रति समर्थन गर्दै जारी लिगमा सहभागी नहुने’ उल्लेख गर्दै संयुक्त राजीनामा गरेका हुन् । सविनले भने हस्ताक्षर गरेका छैनन् । सेनाका विश्वास कार्की, प्रवीन गौतम, सुमन श्रेष्ठ, गणेश चौधरी र धनकुटाका तुफान लिम्बुले मात्रै राजीनामा दिएनन् । एन्फाले गत साउनमा भारतका पूर्वफिफा रेफ्री गौतम कौरलाई रेफ्री निर्देशक नियुक्त गरेको थियो । नेपाली रेफ्रीहरू उनीसँग पनि रुष्ट छन् ।

दुर्व्यवहार नगरेको दाबी

एन्फा अध्यक्ष शेर्पाले रेफ्रीहरूप्रति आफूले दुव्यर्वहार गरेको अस्वीकार गर्दै भने, ‘रेफ्रीहरूको डेलिगेसन आएको सुनें । डेलिगेसन आउँदा समय लिएर आउनुपर्छ, त्यसरी आएनन् । मैले उनीहरूलाई हलमा कुर्नु भनें । उनीहरू निवेदन ल्याएर आए । फिटनेस टेस्ट लिगपछि गरौं भन्ने कुरा भयो । त्यो कुरा विभाग (रेफ्री) ले हेर्ने हो, त्यसबारे मलाई थाहा छैन भनेको हुँ । मैले त्यतिमात्र भनेको हो ।’

राजीनामा दिएका रेफ्रीहरूले लिगमा सहभागी नहुने जानकारी दिएका छन् । त्यसैले २४ जनामध्ये १६ रेफ्रीको राजीनामाले दशरथ रंगशालामा भइरहेको ‘ए’ डिभिजन लिग प्रभावित हुनसक्ने भएको छ । यसबारे, ‘अध्यक्ष शेर्पाले भने, ‘लिग भइहाल्छ नि ! कसले रोक्छ र ?’

प्रकाशित : मंसिर १७, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?