कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी फाइनलमा, सुदूरपश्चिम नजिकिँदै

काठमाडौँ — लुम्बिनी प्रदेशका लागि वास्तवमै निकै सजिलो जित रह्यो । यही जितले बुधबार टोलीलाई वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुर्‍याएको छ । कीर्तिपुरको क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीसामु प्रदेश २ ले १ सय ६९ रनको लक्ष्य तेस्र्याएको थियो । त्यही चुनौतीअगाडि आकाश त्रिपाठी र कप्तान देव खनालले १ सय ४१ रनको साझेदारी गरे ।

लुम्बिनी फाइनलमा, सुदूरपश्चिम नजिकिँदै

त्यसपछि त लुम्बिनीको जित औपचारिकमात्र रह्यो । टिमले ९ विकेटको जितका लागि खासै मिहिनेत गर्नुपरेन ।

यो जितपछि कुल ७ टिमसम्मिलित प्रतियोगितामा लुम्बिनीको ६ खेलबाट १० अंक भएको छ । लुम्बिनीको लिग चरणमा यो नै अन्तिम खेल थियो । अब टोलीले फाइनललाई तयारी गरे हुन्छ । लिग चरण समाप्तिमा शीर्षस्थानमा रहने दुई टिमले सिधा फाइनलमा प्रवेश पाउनेछन् । लुम्बिनी तालिकाको शीर्षस्थानमै रहनेछ । आकाशले ६२ बलमा ५७ रन बनाए । उनी सन्तोष कार्कीको बलमा विकेट पछाडि समातिए । उनले ९ चौका प्रहार गरे । त्यसपछि देवले आफ्नो टिमलाई २६.५ ओभरभित्र जितसम्म पुर्‍याए । उनले ६ चौका र २ छक्का मदतमा ६२ रन बनाए । उनले १३ रन बनाएका प्रज्ज्वल थापासँग थप २९ रनको साझेदारी गरे । लुम्बिनीको जितको खास नायक भने स्पिनर वासिर अहमद रहे । उनी नै प्लेयर अफ द म्याच रहे । उनले २४ रन खर्चेर ५ विकेट लिएका थिए । त्यही घातक बलिङसामु प्रदेश २ भने ३९.५ ओभरभित्र १ सय ६८ रनमा समेटिएको थियो ।

क्षेत्र २ को सुरुआत पनि ठोस रहेको थियो । सन्तोष र अमित यादवले पहिलो विकेटमा ६६ रनको साझेदारी गरे । लागिरहेको थियो स्कोर राम्रै बन्नेछ । तर, यस्तो केही भएन । अमितको विकेटसँगै प्रदेश २ को पतन सुरु भयो । उनले ८ रनमात्र बनाए । सन्तोषले गुल्सन झासँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरे । सन्तोष वासिरको बलमा आउट भएपछि सबैखाले सम्भावना सकिएको थियो ।

सन्तोषले ७ चौका र ५ छक्का मदतमा ८२ रनमात्र बनाए । गुल्सनले ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । उनी विशालविक्रम केसीको सिकार बने । आदिल अन्सारीले अन्त्यतिर २२ रन थपे । उनी नटआउट रहे । उनले तीन चौका र एक छक्का प्रहार गरे । विशालविक्रमले ३ र अजय चौहानले २ विकेट लिए । प्रदेश २ ले २७ रनमा ७ विकेट गुमाएको थियो । हारपछि टोली ४ अंकमै सीमित भई पुछारबाट दोस्रो स्थानमा रह्यो ।

सुदूरपश्चिम फाइनल नजिक

बुधबार नै मूलपानीमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ६ विकेटले हराएर फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । जितपछि सुदूरपश्चिमको ५ खेलबाट ६ अंक भएको छ । टोली दोस्रो स्थानमा उक्लेको छ । प्रदेश १ समान ६ अंकसहित तेस्रो स्थानमा छ । त्यसपछि ४ अंकसहित वाग्मती चौथो र गण्डकी पाँचौं स्थानमा छन् । २ अंकमै सीमित कर्णालीको भने सम्भावना सकिएको छ ।

पहिले ब्याटिङ गरेको प्रदेश १ कप्तान अंकित सुवेदीको ६१ रनका बाबजुत २४ ओभरमा ९० रनमात्र बनाएर अलआउट भयो । टोलीले शून्यमै पहिलो विकेट गुमाएको थियो । त्यसपछि नियमित अन्तरमा थप विकेट गुमाउँदै गयो । सुदूरपश्चिमका शेर मल्लले ३१ रनमा ४ र नरेन साउदले १३ रनमा ३ विकेट लिए । कैलाश ऐरीको नाममा थप एक विकेट रह्यो । शेर नै निर्विवाद प्लेयर अफ द म्याच रहे ।

९१ रनको झिनो लक्ष्यमा सुदूरपश्चिमको सुरुआत पनि राम्रो रहेन । टोलीले २३ रन बनाउँदासम्म ४ विकेट गुमाइसकेको थियो । अवस्था जितका लागि कडा संघर्ष गर्नुपर्ने देखिएको थियो । तर, त्यसपछि खेलमा वसन्त कार्की र अर्जुन साउद हाबी रहे । उनीहरूले पाँचौं विकेटमा नटआउट ७१ रनको साझेदारी गरे । वसन्तले ३७ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । अर्जुनले भने ३२ रन बनाउँदा ४ चौका र २ छक्का प्रहार गरे ।

प्रकाशित : मंसिर १५, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?