कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आजीवन अवसर’ को खेल

नेपाल महिला क्रिकेट टोलीले आइतबार यूएईसँग खेल्दै छ, जुन दुवै टोलीका लागि फाइनलसरह छ
विनोद पाण्डे

काठमाडौँ — कप्तान रुबिना क्षेत्रीले ‘ट्वान्टी–२० महिला विश्वकप एसिया छनोट प्रतियोगिता’ सुरु हुनुअघि आफ्नो पुस्ताका लागि यो ‘आजीवन अवसर’ को रूपमा रहेको जनाएकी थिइन् । रुबिना र नेपाली महिला क्रिकेट टोली अहिले यही अवसर सदुपयोगको नजिक पुगेका छन् ।

‘आजीवन अवसर’ को खेल

नेपालले यसअघि पनि ग्लोबल छनोटमा पुग्ने यो प्रतियोगिता नखेलेको होइन । तर, थाइल्यान्ड बारम्बार नेपालको उद्देश्यमा तगारो बन्दै आएको छ । सन् २०११ यता थाइल्यान्डलाई पराजित गर्न नसक्दा नेपाल जहिल्यै विश्वकपको एसिया छनोटमै रोकिँदै आएको छ । उमेरका हिसाबले पनि अब रुबिनाको पुस्ताका लागि अर्कोपल्ट ग्लोबल छनोट खेल्ने अवसर नहुन सक्छ ।

सन् २०१८ मा एसियाबाट दुई टोली ग्लोबल छनोटमा पुग्ने अवसर आएको थियो । त्यसमा पनि यूएईले नेपाललाई उछिन्यो । त्यही यूएईसँग नेपाल आइतबार दुबईमा ‘फाइनल’ खेल्दै छ । फाइनल यस अर्थमा कि राउन्ड रोबिनको अन्तिम यो खेल जित्ने टोली ग्लोबल छनोटमा पुग्ने निश्चितजस्तै छ । हङकङ पनि यो दौडमै छ तर गणितीय हिसाबमा मात्र ।

हङकङसँग ६ अंक छ । टोलीले अन्तिम खेलमा जितविहीन कुवेतसँग खेल्नेछ । पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भए पनि भुटान, कुवेत र मलेसियालाई पराजित गर्दै नेपाली टिम निर्णायक खेलमा आइपुगेको हो । विशेष गरी भुटान र कुवेतसँगको ठूलो जितले नेपालको रनरेट बलियो बनाएको छ । भुटानसँग नेपालले ६२ रनको लक्ष्य ८.३ ओभर र कुवेतसँग २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमै पूरा गरेको थियो । यी दुई जितले नेपाललाई हङकङभन्दा नेट रनरेटमा धेरै माथि राखेको छ भने यूएईको नजिक पुर्‍याएको छ ।

यूएई पहिलो चार खेल नै जितेर दाबेदारको रूपमा नेपालविरुद्ध उत्रने छ । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले हराएको थियो । नेपालले तीनै खेल दोस्रो ब्याटिङमा जितेको छ भने यूएईले पहिलो तीन खेल पहिला ब्याटिङ गर्दै जितेको छ ।

नेपालबाट प्रतियोगितामा सीता रानामगरले ८७ र इन्दु बर्माले ६६ रन बनाएका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीको सूचीमा नेपालबाट सीतामात्र छिन् । उनी नवौं नम्बरमा छिन् । जबकि यूएईकी थिर्थ सतीस (११८ रन) र इसा ओजा (१०२ रन) सर्वाधिक रन बनाउने सूचीमा दोस्रो र पाँचौं नम्बरमा छन् । यूएईकै खुसी शर्माले सर्वाधिक ८ विकेट लिएकी छन् । नेपालकी सीता रानामगरले ५, संगीता राईले ४ तथा करुणा भण्डारी, सवनम राई र कप्तान रुबिनाले ३–३ विकेट लिएका छन् ।

यूएईसँग जित हात पारे नेपालले ३ वर्षअघि छनोट हुन नसकेको बदला पनि लिनेछ । घरेलु मैदानमै खेलिरहेका कारण यूएई बलियो आत्मविश्वाससाथ हुनेछ ।

नेपाल छनोट हुने बाटो

ट्वान्टी–२० महिला विश्वकप एसिया छनोट प्रतियोगिता जित्ने टोली मात्र ग्लोबल छनोटमा पुग्ने प्रावधान छ । आइतबारको खेलअघि यूएईको ८ र नेपालको ६ अंक छ । नेपालले राउन्ड रोबिनको अन्तिम खेलमा यूएईलाई पराजित गरेर मात्र पुग्दैन । नेपालले जितेमा दुवै टोलीको समान ८ अंक हुनेछ । त्यसपछि राम्रो रनरेट हुने टोली विजेता बन्नेछ । पहिला ब्याटिङ गरी नेपालले यूएईलाई १० रन अन्तरमा पराजित गरेमा समान ८ अंक भए पनि नेट रनरेटमा उछिन्ने छ । यूएईले दिएको विजय लक्ष्य पछ्याउँदा नेपालले १८.४ ओभरभित्र पूरा गर्नुपर्ने हुन्छ । स्कोर बराबरी भएको खण्डमा १८.५ ओभरमा बाउन्ड्री प्रहार गरेमा पनि नेपालले यूएईलाई रनरेटमा उछिन्ने छ ।

प्रकाशित : मंसिर १२, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?