कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदिलको प्रदर्शनले अर्जुनको शतक छायामा

काठमाडौँ — आदिल अन्सारीको आक्रामक ब्याटिङमा प्रदेश २ ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको अविश्वसनीय जित पाएको छ ।

आदिलको प्रदर्शनले अर्जुनको शतक छायामा

आदिलले ४३ बलमा अविजित ८७ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश २ ले २ सय ९१ रनको लक्ष्य अन्तिम ओभरको पहिलो बलमा पूरा गर्‍यो । प्लेयर अफ द म्याच उनले ७ चौका र ३ छक्का प्रहार गरेपछि प्रदेश २ ले नाटकीय विजय हात पार्‍यो । आदिलसँगै प्रदीप पासवान ९ रनमा अविजित रहे ।

सन्तोष कार्की र रोहन विकले ७ ओभरभित्र ४७ रन जोडेर प्रदेश २ लाई राम्रै सुरुआत दिलाए । तर, १३ औं ओभर पुग्दा प्रदेश २ को स्थिति बिग्रिसकेको थियो र टोली ६९–४ को स्थितिमा पुग्यो । सन्तोष २४ बलमा २१ र रोहन २३ बलमा २३ रन बनाई आउट भए । दुवैले समान ४ चौका प्रहार गरे । तृतराज दास २ र आशिष झा १६ रनमै आउट भए ।

कप्तान विवेक यादव १२ रनमा आउट भएपछि प्रदेश २ ले ९२ रनमा पाँचौं विकेट गुमायो । अमित यादव र गुलशन झाले छैटौं विकेटमा ९३ रनको महत्त्वपूर्ण साझेदारी गरे । गुलशन ५३ बलमा २ चौका र ४ छक्कासहित ४६ रन बनाएर आउट भएपछि आठौं नम्बरमा ब्याटिङ गर्न आदिल आए । गुलशनलगत्तै आउट भएका अमितले ७५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन बनाए । सम्साद मन्सुरी ७ रनमै आउट भएपछि आदिलले प्रदीपसँग ५८ बलमा ७८ रनको अविजित साझेदारी गरेका थिए ।

आदिलको इनिङ्सले अर्जुन साउदको शतकलाई छायाँमा पारेको थियो । अर्जुनले १ सय १६ रन बनाएपछि टस हारेपछि ब्याटिङमा आएको सुदूरपश्चिम ४१.४ ओभरमा २ सय ९० रनमा अलआउट भयो । ८५ बल खेलेका उनले १४ चौका र ५ छक्का प्रहार गरे । अर्जुनले लोकेश बमसँग चौथो विकेटमा १ सय ४२ रनको साझेदारी गरे । लोकेशले ७३ बलको इनिङ्समा १३ चौका र १ छक्का प्रहार गरे । नरेश भट्ट ३०, वसन्त कार्की २७ र गजेन्द्र बोहरा १६ रनमा आउट भए । प्रदेश २ बाट प्रदीपले ३, अजय यादव र विवेकले २–२ तथा आदिल र तृतले १–१ विकेट लिए ।

मूलपानीमा मैदानमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्‍यो । प्रदेश १ लगातार दोस्रो खेल जितेर शीर्षस्थानमा छ ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?