कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

छनोट आशा कायमै

काठमाडौँ — नेपालले ट्वान्टी–२० महिला विश्वकप एसिया छनोटमा बिहीबार कुवेतमाथि अत्यावश्यक ठूलो अन्तरको जित हात पारेको छ । यूएईमा भइरहेको प्रतियोगितामा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरी छनोट हुने आशा कायमै राखेको छ ।

छनोट आशा कायमै

टस जितेर ब्याटिङमा आएको कुवेतलाई दुबईको आईसीसी एकेडेमी मैदानमा नेपालले १५.४ ओभरभित्र २७ रनमै अलआउट गर्‍यो । नेपालले ३.३ ओभरमै आवश्यक विजय लक्ष्य पूरा गर्‍यो । कप्तान रुबिना क्षेत्रीले १० बलमा १२ र इन्दु बर्माले ८ बलमा १३ रन बनाई अविजित इनिङ्स खेलेपछि नेपालले सजिलो जित पाएको थियो । उपकप्तान सीता रानामगरलाई पहिलो ओभरको पाँचौं बलमा मारिया जस्भीले बोल्ड गरेकी थिइन् ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि नेपालका लागि बाँकी खेलहरूमा जित अन्तर फराकिलो आवश्यक थियो । नेपालले मंगलबार भुटानले छाडेको ६२ रनको लक्ष्यलाई ८.३ ओभरमा पूरा गरेको थियो । नेपालले अब शुक्रबार मलेसिया र आइतबार आयोजक यूएईसँग खेल्नेछ । घरेलु टोली यूएई पहिलो तीन खेल जितेर शीर्षस्थानमा छ । नेपाल र हङकङको ४–४ अंक छ । विजेताले मात्र ग्लोबल छनोटमा स्थान पाउने प्रावधान छ । यो अवस्थामा नेपाल, यूएई र हङकङबीच विजेता बन्न त्रिकोणात्मक भिडन्त बन्ने सम्भावना बलियो बनेको छ । यूएईले शुक्रबार कुवेत तथा हङकङले शुक्रबार भुटान र आइतबार कुवेतसँग खेल्नेछन् ।

नेपालविरुद्ध कुवेतकी ओपनर प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कुवेतकी कप्तान अम्ना तारिकसहित ७ ब्याटरले खाता खोल्नै सकेनन् । मर्याम ओमार ७ र जस्भी ५ रनमा आउट भए । नेपालबाट संगीता राईले २.४ ओभरमा २ रन खर्चेर ३ विकेट लिइन् ।

करुणा भण्डारी र रुबिनाले २–२ विकेट लिए । ‘बर्थडे गर्ल’ करुणाले ३ ओभरमा ८ रन र प्लेयर अफ द म्याच रुबिनाले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चेका थिए । सरस्वती चौधरीको नाममा १ विकेट रह्यो ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?