कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीको सानदार जित

काठमाडौँ — सुवास ऐर ब्याटिङ र प्रकाश जैसी बलिङमा चम्किँदा वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि १ सय ४० रनको जित रचेको छ ।

कर्णालीको सानदार जित

अघिल्लो खेलमा गण्डकीमाथि ९ विकेटको जित पाएको लुम्बिनी कर्णालीसँग निरीह बन्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले सुवासको ७६ रन सहयोगमा ८ विकेट गुमाएर २ सय ३२ रनको योगफल खडा गरेको थियो । चौथो नम्बरमा ब्याटिङ गरेको सुवासले ९० बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर मनीष थापालाई शून्यमै गुमाएको कर्णालीबाट विपिन रावल र कप्तान निश्चल रावलले दोस्रो विकेटमा ३२ रनको साझेदारी गरेका थिए । विपिन ३२ रनको स्कोरमा आउट भएपछि आएका सुवासले निश्चलसँग १ सय २२ रनको शतकीय साझेदारी गरे । ९९ बलमा ५ चौकासहित निश्चलले ४४ रनको योगदान गरे । प्रकाश जैसीले २५ रन बनाए । लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिए । विशालविक्रम केसीले २ तथा अघिल्लो खेलमा ७ विकेट लिएका मोहम्मद हुसैन र वासिर अहमदले १–१ विकेट लिए ।

जवाफमा लुम्बिनीलाई ९२ रनमै अलआउट पार्न प्रकाश जैसीले ५ विकेट लिए । प्लेयर अफ द म्याच उनले ९ ओभरमा ४३ रन खर्चिए । युनिश सिंहले ३ र अनुज चनाराले २ विकेट लिए । लुम्बिनीका ओपनर आकाश त्रिपाठी (१५), प्रज्वल थापा (२८) र दुर्गेश गुप्ता (२०) ले मात्र दोहोरो अंकको स्कोर गर्न सके ।

अर्को खेलमा वाग्मती प्रदेशले गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको छ । बाग्मती मंगलबार पहिलो खेलमा प्रदेश १ सँग २५ रनले पराजित रहेको थियो । गण्डकीको भने यो लगातार दोस्रो हार हो । टोलीले पहिलो खेल लुम्बिनीसँग ९ विकेटले गुमाएको थियो ।

मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको वाग्मतीले ४८.५ ओभरमा अलआउट हुँदा २ सय १३ रन खडा गरेको थियो । विवेक रानामगरले ८९ रन बनाए । प्लेयर अफ द म्याच बनेका विवेकले १ सय ११ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । वाग्मतीका प्रतीक श्रेष्ठले १७, कप्तान प्रतिश जिसीले २२ र क्रिस कार्कीले १५ रनको योगदान गरे । गण्डकीका सुदीप अर्याल, कमल परियार र अभिषेक थापाले ३–३ विकेट लिए ।

जवाफमा गण्डकी ४३.३ ओभरमा १ सय ३८ रनमा समेटियो । टोलीका अर्जुन कुमालले ५५ रन बनाए पनि अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । गण्डकीलाई हराउन वाग्मतीका कप्तान प्रतिस र तिलक भण्डारीले ३–३ विकेट लिए ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?