कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यू-१९ क्रिकेट :  प्रदेश १ विजयी, हुसैनको ७ विकेट

गण्डकीविरूद्ध लुम्बिनी प्रदेशले ६ ओभरभित्र लक्ष्य पूरा गर्‍यो 

काठमाडौँ — लव कामतको सानदार अलराउन्ड प्रदर्शनमा प्रदेश १ ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशमाथि २६ रनको जित पाएको छ । 

यू-१९ क्रिकेट :  प्रदेश १ विजयी, हुसैनको ७ विकेट

लवले ५ विकेट लिएपछि १ सय ७६ रनको लक्ष्य पाएको वाग्मती ३१.४ ओभरमै १ सय ४९ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच लवले ६ ओभरमा २६ रन खर्चेका थिए । प्रदेश १ लाई जित दिलाउनेक्रममा दीपेश कँडेलले ९.४ ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ३ र दीपक जोशीले १ विकेट लिए ।

सूर्यांशु कोइराला ५ रन र उत्तम मगर ४ रनमा आउट भएपछि विपिन शाही र विवेक मगरले तेस्रो विकेटमा ८६ रन जोड्दा वाग्मती मजबुत स्थितिमा देखिएको थियो । लवले विवेकलाई ४२ रनमा आउट गरी महत्त्वपूर्ण साझेदारी तोडेका थिए । ५१ बल सामना गरेका विवेकले ८ चौका प्रहार गरे । त्यसको दुई रनपछि विपिनलाई दीपेशले बोल्ड गरिदिए ।

विपिनले ५७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरी ४३ रन बनाए । वाग्मतीले अन्तिम ७ विकेट ४७ रनमा गुमाएको थियो । स्वप्निलसिंह अधिकारी १, प्रतिक श्रेष्ठ १०, कप्तान प्रतिश जीसी ९, क्रिस कार्की ४, गौतम केसी ८ र विशाल यादव ४ रनमा आउट भए । तिलक भण्डारी १० रनमा अविजित रहे ।

यसअघि राम्रो सुरुआत दिलाए पनि प्रदेश १ को नाटकीय पतन भएको थियो । कप्तान अंकित सुवेदीलाई प्रतिसले शून्यमा बोल्ड गरेपछि सोनु अन्सारी र लवले दोस्रो विकेटमा ६६ रन जोडेका थिए । सोनुले ७३ बल खेल्दै ४ चौकासहित ३२ र लवले ६९ बलमा ५ चौकासहित ३३ रन बनाएर प्रदेश १ को स्कोर ७८ रनमा पुर्‍याएका थिए ।

विवेक आनन्द मेहता शून्य, गौरव कटुवाल ९, सोनु मण्डल १, राकेश शाह १, सुमिरन राई २ रनमा आउट भएपछि प्रदेश १३८–९ को स्थितिमा पुगेको थियो । दीपेशले २३ र दीपक जोशीले ३३ रन बनाउँदै प्रदेश १ को हेर्नलायक स्कोर बनाए । दीपेशले ३८ बलमा १ चौका र २ छक्कासहित २३ तथा दीपकले २३ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए । श्रवण किस्कु २ रनमा अविजित रहे ।

वाग्मतीबाट तिलक र क्रिसले ३ विकेट लिए । क्रिसले १० ओभरमा १ मेडन राख्दै २३ र तिलकले २४ रन खर्चेका थिए । प्रतिशले ९ ओभरमा ३५ रन खर्चेर २ तथा गौतम र विवेक मगरले १–१ विकेट लिए ।

गण्डकी २३ रनमै अलआउट

गण्डकी प्रदेश मूलपानी क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा २३ रनमै अलआउट भयो । लुम्बिनी प्रदेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको गण्डकी १४.२ ओभरमात्र टिक्न सकेको थियो । उमेर समूहको राष्ट्रिय प्रतियोगितामा गण्डकीले सबैभन्दा न्युन स्कोर बनाएको हो ।

लुम्बिनीका मोहम्मद हुसैनले ७ विकेट लिँदै सानदार बलिङ प्रदर्शन गरे । उनले लगातार ७ ओभरको स्पेलमा १ मेडन राख्दै १४ रन खर्चे । दुर्गेश गुप्ता र वासिर अहमदले १–१ विकेट लिए । गण्डकीबाट कुनै खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । सात खेलाडी शून्यमै रहे । अर्जुन कुमालको खातामा सबैभन्दा धेरे ६ रन थियो । कप्तान विष्णु पाण्डे ५, सचिनराज अधिकारी २ र दीपक डुम्रे १ रनमा आउट भए ।

लुम्बिनी प्रदेशले ६ ओभरभित्र लक्ष्य पूरा गर्‍यो । कप्तान देव खनाल २० बल खेल्दै ४ चौका प्रहार गरी १८ र विराट भण्डारी ८ रनमा अविजित रहे । सुवास भण्डारीले पहिलो ओभरमै आकाश त्रिपाठीलाई शून्यमा बोल्ड गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?