१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सहिद स्मारक लिग : लिग रेलिगेसन ‘ब्याटल’

घटुवा–बढुवाको समीकरणले त हो, लिगलाई ‘लिग’ बनाउने । नेपाली लिग फुटबलका त्यस्ता धेरै उदाहरण छन्
हिमेश

काठमाडौँ — जति–जति बेला नेपालमा लिग सुरु हुनेछ, फेरि दोहोर्‍याएर भनिनेछ ‘२०७५ को लिग कलंकित थियो ।’ किनभने त्यसमा रेलिगेसन नै थिएन । भविष्यमा त्यस्तो लिग कहिले पनि नहोस् भन्नलाई यो कथा दोहोर्‍याइरहनुपर्ने हुन्छ । यस्तो निर्णय गर्नेलाई बिझाइरहनुपर्ने हुन्छ । जतिबेला अर्को साता सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को संस्करण सुरु हुनेछ, अहिले नै भन्न सकिन्छ, त्यसको एउटा ठूलै आकर्षण रेलिगेसन ‘ब्याटल’ हुनेछ ।

सहिद स्मारक लिग : लिग रेलिगेसन ‘ब्याटल’

खासमा रेलिगेसन ‘ब्याटल’ हो ‘वार’ होइन । लडाइँ र युद्धमा के फरक छ त ? लडाइँमा जित–हार हुन्छ । हार्ने टिम मर्दैन । युद्ध बृहत् हुन्छ । यसमा कोही कसैको अस्तित्व नै समाप्त पार्ने काम हुन्छ । फुटबलको भाषामा यस्तै भनिन्छ । अझ ठ्याक्कैभन्दा लिग फुटबलमा । यसपल्ट दुई टिम रेलिगेसनमा पर्नेछन् । त्यो भनेको घटुवा भयो । यसरी तल्लो डिभिजनमा झरेर पनि टिमसँग माथिल्लो डिभिजनमा उक्लने अवसर पनि हुन्छ । यो भनेको बढुवा भयो । फुटबलमा यसलाई लडाइँ भनिन्छ ।

घटुवा बढुवाको समीकरणले त हो, लिगलाई ‘लिग’ बनाउने । नेपाली लिग फुटबलका त्यस्ता धेरै उदाहरण छन्, जहाँ रेलिगेसनमा परेका टिमका कथा धेरै सुन्न पाइन्छ । बाँसबारी बहादुर क्लब हो, जसले एकभन्दा बढी अवसरमा रेलिगेसनमा पर्दा पनि आफ्नो अस्तित्व कायम राखेको छ । बाँसबारी २०४६ को लिगमा रेलिगेसनमा पर्‍यो, फेरि यो २०५७ मा माथि उक्लियो । तर, त्यही वर्ष फेरि यो टिम रेलिगेसनमा परेको थियो । यो क्लब फेरि २०६८ मा माथि उक्लियो ।

त्यो वर्ष त्यो फेरि झरेन । तर २०६९ मा फेरि झर्‍यो । अहिले पनि ‘बी’ डिभिजन हुनुपर्छ, सबैभन्दा बढी चहलपहल यसकै हुन्छ । अन्नपूर्ण क्लब २०५२ को लिगबाट रेलिगेसनमा परेको थियो । त्यतिबेला अनौठो स्थिति तयार भएको थियो । कि त अन्नपूर्ण रेलिगेसनमा पर्ने, होइन भने आरसीटी । असनको यो क्लबले निर्णय गरेको गर्‍यो, आरसीटी जोगाउने । नतिजा अन्नपूर्ण तल्लो डिभिजनमा झर्‍यो । लिगको पूर्वविजेता अन्नपूर्णको अस्तित्व अब कागजमै मात्र जस्तो छ ।

युनाइटेड युथ २०५४ को लिगबाट रेलिगेसनमा परेको थियो । यो क्लब फेरि २०६८ को लिगमा पनि रेलिगेसन पर्‍यो । अब यो क्लब पनि रहेनभन्दा हुन्छ । यस्तै स्थिति नक्साल युथ क्लबको छ, जतिबेला यो क्लब २०६० को लिगबाट रेलिगेसनमा पर्‍यो । झन २०६१ को लिगबाट काठमाडौं क्लब के रेलिगेसनमा परेको थियो, अब त यो पनि सम्झनामै मात्र सीमित भइसकेको छ । नेपालको जेठो क्लबमध्ये एक महावीर र बौद्ध २०६२ मा तल झरे ।

यसमध्ये महावीर यति नराम्रोसँग तल झर्‍यो कि कहाँ छ थाहा नहुन सक्छ । सरस्वती र ब्रिगेड ब्वाइज २०६३ को लिगबाट झरे । उनीहरू माथि आउने र तल झर्ने क्रम चलिरहन्छ । सरस्वती २०७६ बाट फेरि तल खस्केको थियो । ब्रिगेड ब्वाइजले भने फेरि यसपल्ट पनि आफ्नो चुनौती पेस गर्नेछ ‘ए’ डिभिजनमा । पूर्व च्याम्पियन संकटा २०६६–०६७ मा पुछारमा रह्यो । तर यसले हरेस खाएन र २०६९ मा फेरि माथिल्लो डिभिजनबाट खेल्यो ।

संकटासँगै अर्को पूर्वविजेता ब्वाइज युनियन पनि सँगै तल झरेको थियो । यही ब्वाइज युनियन फेरि २०७० मा पनि एकपल्ट घटुवाको सिकार बन्यो । वर्ष २०६८ को लिगमा त गजब नै भयो । चार टिम रेलिगेसनमा पर्ने नियम बनाइएको थियो । ती टिम थिए स्वयम्भूसँगै तिनै ब्रिगेड ब्वाइज र युनाइटेड युथ । कोइलापानी त्यो वर्ष अंकतालिकाको सबैभन्दा पुछारमा थियो । अहिले उसको हालत के कस्तो छ बुझ्न आवश्यक छ ।

वर्ष २०६९ मा तीन टिम झरे, बाँसबारी र बौद्धसँगै मध्यपुर युथ एसोसिएसन । वर्ष २०७० मा नेपाली फुटबलकै सबैभन्दा सफल क्लबमध्ये एक आरसीटी र उत्तिकै समृद्ध इतिहास बोकेको ब्वाइज युनियन रेलिगेसनको सिकार बने । आरसीटी कसैलाई मन पर्न सक्छ, कसैलाई मन नपर्न सक्छ, तर यो यस्तो ऐतिहासिक क्लब हो । जसको उपस्थितिबिना ‘ए’ डिभिजनको कल्पना गर्न गाह्रो छ । सम्भवतः त्यस्तो दिन धेरै टाढा छैन । जतिबेला आरसीटीले फेरि माथिल्लो डिभिजनमा खेल्नेछ ।

वर्ष २०७५ मा भने मछिन्द्र र एनआरटी भाग्यमानी रहे, किनभने अंकतालिकाको पुछारमा रहेर पनि यी दुई टिमले ‘बी’ डिभिजन खेल्नुपरेन । केही अंकमात्र खोसियो । तर यसको पनि केही अर्थ रहेन । मछिन्द्र त्यसको अर्को वर्ष २०७६ मा च्याम्पियन बन्यो । यस्तो संयोग लिग फुटबलमा कहींकतै देखिने छैन । त्यो वर्ष लिगमा लडाइँ थिएन । यसपल्टको लिगमा लडाइँ हुनेछ रेलिगेसनका रूपमा । प्रतीक्षा गरौं, यसपल्टको रेलिगेसन ‘ब्याटल’ हुनेछ । कस्तो त ?

प्रकाशित : कार्तिक २६, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?