कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानसँग हारेपछि शामीको चर्को विरोध, तर नेता र पूर्वखेलाडीको सान्त्वना

एजेन्सी

नयाँदिल्ली — टी-२० विश्वकपको पहिलो खेलमा भारतलाई पाकिस्तानले हराएपछि भारतीय खेलाडी मोहम्मद शामीमाथि सामाजिक सञ्जालमार्फत् आक्रमण गर्ने क्रम जारी छ ।

पाकिस्तानसँग हारेपछि शामीको चर्को विरोध, तर नेता र पूर्वखेलाडीको सान्त्वना


खासगरी शामीको कमजोरीकै कारण भारतीय टिमले हार्नुपरेको भन्दै शामीको विरुद्धमा व्यापक टिप्पणी आए । गत आइतबार दुबइमा भएको खेलमा शामीकै ओभरमा पाकिस्तानले १५२ रन पूरा गरेको थियो । जहाँ ३.५ ओभरमा फास्ट बलर शामीले पाकिस्तानलाई विना विकेट ४३ रन दिएपछि उनी व्यापक आलोचित बनेका हुन् ।

तर शामीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यापक हमला भएपछि उनको समर्थनमा मुस्लिम नेतासहित केही प्रभावशाली खेलाडीहरू उभिएका छन् । राहुल गान्धी, ओमर अब्दुल्लाह, असाद्दुद्दीन ओवैसी लगायत नेताहरुले शामीको पक्षमा सहानुभूति प्रकट गर्न थालेका हुन् ।

भारतीय क्रिकेट टिममा शामी वाहेक पनि अरु खेलाडी हुने भएकाले शामीमाथि मात्रै दोष थोपर्नु जायज नभएको ती नेताहरुको भनाइ छ । शामीको पक्षमा केही नेताले ह्यासट्याग अभियानसमेत चलाए ।

"मोहम्मद शाही, हामी तिम्रो पक्षमा छौँ । ती मान्छेहरु घृणाले भरिएका छन् । किनकि उनीहरु कसैलाई माया दिँदैनन् । उनीहरूलाई माफी देऊ," राहुल गान्धीले भनेका छन् । शामीविरुद्ध निरन्तर आलोचना आउन थालेपछि राहुल वाहेक अरु मुस्लिम नेताहरुले पनि शामीको पक्षमा आफू उभिएको प्रतिक्रिया दिएका छन् ।

"आइतबारको खेलपछि सामाजिक सञ्जालमा मोहम्मद शामिलाई लक्षित गरिएको छ । उनीहरु मुस्लिम विरुद्ध अतिवाद र घृणा फैलाउँदैछन् । क्रिकेटमा तपाईँ जित्नुहुन्छ वा हार्नुहुन्छ । टिममा ११ खेलाडी हुन्छन् । तर दोषका लागि मुस्लिम खेलाडी मात्रै लक्षित हुन्छ । के भाजपा सरकारले यसको निन्दा गर्छ ?" अल इन्डिया माजिलिस ए इत्तेहादुल मुस्लिमीनका प्रमुख तथा मुस्लिम नेता असादुद्दीनले भने ।

भारतको हारमा मोहम्मद शामीको पक्षमा नेताहरु वाहेक वीरेन्द्र सेहबाग, हरभजन सिंह, सचिन तेन्दुलकर लगायत पूर्वखेलाडी पनि शामीकै पक्षमा उभिएका छन् । तेन्दुलकरले भनेका छन्, 'जव हामीले टिम इन्डियाको समर्थन गर्छौँ तब हामीले भारतको प्रतिनिधित्व गर्ने सबै खेलाडीको पनि समर्थन गरेका हुन्छौँ । म शामी र भारतीय टिमको पक्षमा उभिनेछु ।"

यस्तै शामीमाथि अनलाइन आक्रमण भएकोमा आपत्ति जनाउँदै सचिन तेन्दुलकरले आफू उनको पक्षमा उभिएको बताए । सचिनले शामीप्रति सद्भाव राख्दै उनी विश्वस्तरीय खेलाडी भएको तर आइतबार अरु खेलाडी झैँ उनको पनि 'दिन बिग्रेको' प्रतिक्रिया दिए । साथै सचिनले आफू शामी र टिम इन्डियाको पक्षमा उभिएको बताएका छन् । वीरेन्द्र सेहवागले भने अब अर्को खेलमा शामीले राम्रो प्रदर्शन गर्नसक्नेमा आशा व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?