कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेरणा अल इन्डिया च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली टेनिस खेलाडी प्रेरणा कोइरालाले अखिल भारत टेनिस संघद्वारा आयोजित यू–१८ च्याम्पियन टेनिस सिरिजमा महिला सिंगल्सको उपाधि जितेकी छन् ।

प्रेरणा अल इन्डिया च्याम्पियन

भारतमा आयोजित उमेर समूहको प्रतियोगिता जित्ने प्रेरणा पहिलो नेपाली खेलाडीसमेत बनेकी छन् । उनले छनोट खेल जितेर मुख्य प्रतियोगितामा प्रवेश पाएकी थिइन् । ‘यू–१४ तर्फको प्रतियोगिता खेले पनि त्यसयता भारतमा कुनै पनि प्रतियोगिता नखेलेका कारण भारतीय टेनिस संघको मापदण्डमा पर्न छनोट खेल खेल्नैपर्ने थियो,’ प्रेरणाका बुबा पुरुषोत्तम कोइरालाले कान्तिपुरसँग भने, ‘छनोट चरण पार गरेर मुख्य प्रतियोगिताको उपाधि नै जितेपछि अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उनलाई उत्साह बढाएको छ ।’

१७ वर्षीया प्रेरणाले शुक्रबार सम्पन्न फाइनलमा यो उमेर समूहमा भारतकी नम्बर एक खेलाडी कौशिला मोदीविरुद्ध २–१ को सेटमा पुनरागमन जित निकालेकी हुन् । पहिलो सेट टाइब्रेकमा गुमाएकी उनले त्यसपछि लगातार दुई सेट ६–३, ६–३ ले जितेर इतिहास रचिन् । उपाधि जित्दासम्म उनले लगातार ७ खेल जितेकी हुन् ।

सन् २०२० को फेब्रुअरीमा यू–१८ जे–५ प्रतियोगितामा नेपालकै अभिलाशा विष्टलाई हराएर उपाधि जितेकी प्रेरणा त्यसको एक वर्षपछि आयोजित सोही प्रतियोगितामा पहिलो खेलमै पराजित भएकी थिइन् । सोही उमेर समूहमा जे–४ तर्फ पनि उनको प्रदर्शन सन्तोषजनक थिएन ।

प्रेरणाले दुई वर्षअघि नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका साथ तीन कांस्य पदक जितेकी थिइन् । उनले महिला सिंगल्स, टिम र डबल्समा कांस्य जितेकी हुन् ।

प्रकाशित : कार्तिक ७, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?