कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्वान्टी-२० विश्वकप : सुपर १२ मा पुग्ने बंगलादेशको सम्भावना जीवितै

एजेन्सी

मस्कट — बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न नसके बाहिरिने अवस्थामा पुगेको बंगलादेशले प्रतियोगितामा पहिलो विजय हात पारेको हो ।

ट्वान्टी-२० विश्वकप : सुपर १२ मा पुग्ने बंगलादेशको सम्भावना जीवितै

बंगलादेश पहिलो चरणको पहिलो दिनको खेलमा स्कटल्यान्डसँग पराजित भएपछि दबाबमा पर्दै आएको थियो ।

१ सय ५४ रनको लक्ष्य लिएर आएको ओमानले ९ विकेट गुमाई १ सय २७ रनमात्र बनाउन सक्यो । मुस्ताफिजुर रहमानले ४ विकेट लिँदै बंगलादेशका उद्दार गरेका थिए । उनले ४ ओभरमा ३६ रन खर्चे । प्लेयर अफ द म्याच सकिब अल हसनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । ओमानबाट ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । उनले ३३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । कश्यप प्रजापतिले १८ बलमा २१, कप्तान जिशान मक्सुदले १२ र मोहम्मद नदिमले अविजित १४ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेश पूरा २० ओभर खेलेर १ सय ५३ रनमा अलआउट भएको थियो । ओपनर मोहम्मद नइमले ५० बलमा ६४ र सकिबले २९ बलमा ४२ रन बनाए । १७ औं ओभरमा छैटौं खेलाडीका रूपमा आउट भएका नइमले ३ चौका र ६ छक्का तथा सकिबले ६ चौका प्रहार गरे । बंगलादेशले सुरुआतमै २ विकेट गुमाएपछि उनीहरूले ८० रनको साझेदारी गरेका थिए । अकिब इल्याजले सिधा थ्रोमा सकिबलाई रनआउट गरे । कप्तान महमदुल्लाह १० बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाएर आउट भए । ओमानका बिलाल खान र फायज बटले ३–३ विकेट लिए । खानले ४ ओभरमा १८ र २०१९ मा पाकिस्तानबाट यू–१९ विश्वकप खेलेका फायजले ३० रन खर्चेका थिए । कलिमुल्लाहले २ तथा मक्सुदले १ विकेट लिए ।

स्कटल्यान्डको बलियो सम्भावना

रिची बेरिङटनले ७० रन बनाएपछि स्कटल्यान्डले मंगलबार पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १७ रनले पराजित गरी लगातार दोस्रो जित हात पारेको थियो । स्कटल्यान्डले आफ्नो पहिलो खेलमा आइतबार बंगलादेशलाई स्तब्ध पारेको थियो ।

बेरिङ्टन र म्याथ्यु क्रसले तेस्रो विकेटमा ९२ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ९ विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । क्रसले ४५ रन बनाए । तीव्र गतिका बलर जोस डेभीले आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन गर्नेक्रममा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १९.३ ओभरमा १ सय ४८ रनमा अलआउट भयो । नोर्भन भानुआले ३७ बलमा ४७ रन बनाए पनि पीएनजीलाई जित दिलाउन सकेनन् ।

‘एक वा दुई राम्रो साझेदारीले ट्वान्टी–२० मा राम्रो योगफल बनाउँछ । बेरिङ्टन र क्रसले आज असाधारण खेले,’ स्कटल्यान्डका कप्तान केयल कोएट्जरले भने, ‘बेरिङ्टन निश्चय पनि खेलका नायक थिए । उनले पछिल्लो महिनादेखि नै एकरुपको प्रदर्शन देखाउँदै आएका छन् ।’

भानुआ र किप्लिन डोरिगाले सातौं विकेटमा २९ बलमा ५३ रन जोड्दै स्कटल्यान्डलाई डर नदेखाएका होइनन् । डेभीले भानुआलाई आउट गरेपछि पीएनजीको सम्भावना सकिएको थियो । डोरिगाले १८ रन बनाए ।

बेरिङ्टनले आक्रामक ब्याटिङ गर्दै स्कटल्यान्डको २६–२ को स्थिति सुधारेका थिए भने डेभीको बलमा उत्कृष्ट क्याच लिँदै सिमाने अटाईलाई २ रनमा पेभेलियन पठाएका थिए । बेरिङ्टनले ४९ बलको इनिङ्समा ३ छक्का र ६ चौका प्रहार गरे । चौका प्रहार गर्दै उनले ट्वान्टी–२० मा आफ्नो छैटौं अर्धशतक पूरा गरेका थिए ।

पीएनजीले अन्तिम दुई ओभरमा १५ रन खर्चेर ६ विकेट लिएको थियो, त्यसमा बेरिङ्टनको महत्त्वपूर्ण विकेट पनि थियो । तर स्कटल्यान्डले ट्वान्टी–२० विश्वकपमा आफ्नो उच्च स्कोर बनाएको थियो । २०१६ मा अफगानिस्तानविरुद्ध १ सय ५६ रन बनाउनु टोलीको यसअघिको उच्च स्कोर थियो ।

देव्रेहाते तीव्र गतिका बलर काबुआ मोरआले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए, त्यसमध्ये तीन विकेट उनले अन्तिम ओभरमा लिए । अर्का सिमर चाड सोपरले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

प्रकाशित : कार्तिक ३, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?