कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ च्याम्पियनसिप : फाइनल कति नजिक तर अझै कति टाढा ?

नेपाललाई बुधबार हुने खेलमा बराबरीको नतिजा फाइनल पुग्नलाई पर्याप्त हुन्छ
हिमेश

माले, माल्दिभ्स — सबैको मनमा लागेकै हुनुपर्छ, के नेपालले भारतविरुद्ध यति धेरै रक्षात्मक खेल्नु ठीक थियो त ? खेल्न त नेपालले साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सविरुद्ध पनि यस्तै खेलेको थियो । फरक के भने माल्दिभ्सविरुद्ध ठ्याक्कै गोल निस्कियो, भारतविरुद्ध निस्केन । उल्टै पराजित रह्यो ।

साफ च्याम्पियनसिप : फाइनल कति नजिक तर अझै कति टाढा ?

यो अर्थमा रणनीतिलाई लिएर गनगन नगरेकै राम्रो । फेरि फुटबलमा ‘यदि र तर’ भन्ने पनि हुन्न । जे भयो, भयो, त्यसलाई पछाडि छाड्नु नै ठीक । सायद यस्तो प्रश्न निस्कनेछ भनेर प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई पनि लागेको थियो, त्यसैले उनले भनिहाले, ‘म सबै नेपाली फुटबल समर्थकलाई भन्न चाहन्छु, यो हारको दोष खेलाडी कसैलाई नदिनु । यसको दोष खालि मेरो मात्र हो । म हाम्रा खेलाडीको आलोचना भएको हेर्न सक्दिनँ । बरु मेरो चर्को आलोचना गर्नु त्यसले केही फरक पर्दैन । म सहन्छु । तर खेलाडी कसैलाई केही पनि नभन्नु, उनीहरूलाई दबाब दिनु ठीक हुन्न ।’

हो, यहाँनिर दबाब शब्दले धेरै अर्थ राख्छ, किनभने नेपालका लागि यसपल्टको साफ च्याम्पियनसिपमा केही पनि बिग्रेको छैन । सेमिफाइनलको सम्भावना खुला छ । नेपालको तीन खेलबाट ६ अंक छ र अब एक अंकले नेपाललाई फाइनल पुर्‍याउनेछ । माल्दिभ्सको पनि समान ६ अंक छ, तर गोल अन्तरले आयोजक टिम नेपालभन्दा अगाडि छ । यसपल्ट ‘हेड टु हेड’ नियम नै लागू छ, तर अन्तिम दिनको खेल अगाडि त्यसको खास अर्थ हुने छैन ।

अबको खेल बंगलादेशविरुद्ध हो, त्यस अगाडि खेलाडीले दबाब महसुस नगरेकै राम्रो । यसपल्टको प्रतियोगिता यसअघिका भन्दा के अर्थमा पनि फरक छ भने सेमिफाइनल छैनन्, यसमा । राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगिताको शीर्ष दुई टिमले सिधै फाइनल खेल्ने हो । तर मज्जा के भएको छ भने लिग चरणका अन्तिम दुई खेल अघोषित सेमिफाइनल भएका छन् । तर यसमा केही सर्त पनि छन् । जस्तो, बुधबार हुने पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ ।

त्यसमा नेपाललाई बराबरी नै पर्याप्त छ, जिते अझ राम्रो । बंगलादेशलाई भने जित मात्र विकल्प रहेको छ । बंगलादेशको चार अंक छ । त्यही दिन राति माल्दिभ्सले भारतको सामना गर्नेछ । माल्दिभ्सलाई पनि बराबरी नै पर्याप्त छ । उसलाई पनि जित अझ राम्रो । भारतलाई भने जितबाहेक अर्को विकल्प छैन । यस्तोमा दुवै खेल निकै रोमाञ्चक हुनेछन्, सनसनीपूर्ण हुनेछन् । ठीक यहींनिर अल्मुताइरीले भनाइ दोहोर्‍याउनु ठीक हुन्छ, सबै संयमित रह्यौं, खेलाडी पनि, समर्थक पनि ।

इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल

इतिहासका फरक फरक कालखण्डले नेपाली फुटबलको चर्को परीक्षा लिएको छ । फेरि एकपल्ट यस्तै मोड आएको छ, जहाँ नेपालले बंगलादेशको सामना गर्दा त्यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल हुनेछ र यसको नतिजाले अबका दिनमा सम्पूर्ण नेपाली फुटबल कता जाने हो, त्यो निर्धारण गर्नेछ । फेरि साफ च्याम्पियनसिपको इतिहासमै नेपाल फाइनल पुगेको छैन । त्यसैले पनि यसको विशेष अर्थ छ । यो सबै परिस्थितिलाई हेर्ने भने दुई दृष्टिकोण छन् ।

पहिलो दृष्टिकोण, साफ च्याम्पियनसिप नेपाललाई प्रायः रुवाउने प्रतियोगिता हो, यससँग अनेक दुःख र पीडाका समाचार छन् । यसअघि पनि नेपाल फाइनल पुग्ने संघारमा प्रवेश नगरेको होइन, तर त्यसको नतिजा मुटु छियाछिया पार्ने अवस्था नै

रह्यो । त्यसैले अब बंगलादेशको सामना गर्दा इतिहासको यो तथ्यले नेपाललाई पक्कै पिरोल्ने छ । सन् २०११ मा नेपालले सेमिफाइनलमा अफगानिस्तानको सामना गर्दा लागेको थियो, अब फाइनल टाढा छैन ।

तर फ्यास्स १ सय १ औं मिनेटमा नेपालले गोल खायो । सन् २०१३ मा पनि यस्तै कथा दोहोरियो । काठमाडौंमै भएको प्रतियोगितामा नेपाल फेरि एकपल्ट सेमिफाइनलमै रोकियो, अफगानिस्तानकै हातबाट । यसपल्ट पनि किरण लिम्बूले अर्को एउटा फ्यास्स गोल खान पुगे र कथा सकियो । सन् २०१८ को सेमिफाइनलमा भने नेपाल माल्दिभ्सको हातबाट पराजित भएको थियो । कारण थियो, चट्याङसहित परेको पानीबीच हिलाम्य मैदानमा खेल्ने उपयुक्त जुत्ता नहुँदा ।

यी त भए, सबै दुःखका कुरा । बंगलादेशको सामना गर्दा त्यसलाई हेर्ने दोस्रो दृष्टिकोण पनि छ र यो फरक छ । बंगलादेशी फुटबलको एउटा गुनासो के छ भने निर्णायक मोडमा उसलाई प्रायः नेपालले हराउने गर्छ । यी दुई देशबीचका पछिल्ला खेलमा पनि नेपाल अगाडि छ भन्दा हुन्छ । भर्खर भर्खरै जसो त हो, थ्री नेसन्स कपमा नेपालले बंगलादेशलाई हराएको । साफ च्याम्पियनसिपमै पनि बंगलादेशले नेपालविरुद्ध केही उत्तिकै हृदयविदारक हार बेहोरेको छ ।

सन् २०११ कै साफमा पनि लिग चरणमा बंगलादेश सागर थापाको त्यो प्रसिद्ध गोलले पराजित भएको थियो । सन् २०१८ मा पनि नेपालसँग पराजित हुँदा पनि बंगलादेश समूह चरणमै रोकिएको थियो, भलै प्रतियोगिता आफैं ढाकामा भइरहेको थियो । मूल कुरा के हो भने साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच सात खेल भएका छन् । त्यसको सुरुआती चार खेलमा नेपाल पराजित त रह्यो, तर पछिल्ला तीन खेलमा भने नेपाल विजयी रहेको छ ।

त्यसमध्ये एक जित त नेपालले सन् २०१३ मा प्राप्त गरेको थियो । अझ रमाइलो त के छ भने यी पछिल्ला तीन खेलमा नेपालले कुनै गोल पनि खाएको छैन । एक प्रकारले बंगलादेशविरुद्ध नेपालको इतिहास समृद्ध छ । साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध गोल नखाएको २ सय ७३ मिनेट भइसकेको छ । नेपाल अन्तिम पटक सन् २००५ को साफ च्याम्पियनसिपमा पराजित भएको थियो, त्यसयता त नेपालले जितेको जित्यै छ, बंगलादेशविरुद्ध ।

दुई प्रशिक्षकको रिसारिस

यसपल्टको साफ च्याम्पियनसिपका क्रममा दुई प्रशिक्षकबीच नजानिँदो किसिमले रिसारिस चलिरहेको छ र यी दुई हुन्, नेपालका तिनै अल्मुताइरी र भारतका इगोर स्टिमेक । यसको पनि चर्चा आवश्यक छ । आइतबारको खेल अगाडि अल्मुताइरी भन्थे, फुटबलमा स्टिमेक त ठूलै मान्छे हुन्, विश्वकप खेलेका खेलाडी । बिचरा अल्मुताइरीले कुवेतकै लागि पनि खेल्न पाएनन् । यी दुईबीच तुलना नै ठीक छैन । तुलना ठीक छैन भन्दैमा आलोचना गर्न पाइन्न र ?

भएको के थियो भने सुनील क्षेत्रीको गोलपछि स्टिमेकले अल्मुताइरीलाई जिस्क्याएर खुसियाली मनाए छन् । यसमै रिस उठेको छ, अल्मुताइरीलाई । उनले भनी पनि हाले, ‘यस्तो कामका लागि स्टिमेकलाई लाज पो लाग्नुपर्ने । यस्तै काम मैले गरेको भए, मेरी आमाले मलाई मारिहाल्थिन् ।’ स्टिमेकले पनि जवाफ फर्काइहाले, ‘लाज त उल्टै अल्मुताइरीलाई लाग्नुपर्ने । नत्र उनले नेपालको सामना गर्दा भारतको जित ९५ प्रतिशत भन्दैनथे, यो त आफ्नै खेलाडीको अवमूल्यांकन हो ।’

अनि उल्टै प्रश्न गरे, ‘के खुसियाली पनि आफूखुसी मनाउन नपाउने त भने ? म व्यावसायिक प्रशिक्षक हुँ, मलाई के गर्न हुन्छ र के गर्न हुन्न, सबै थाहा छ ।’ स्टिमेक आफैं दबाबमा छन्, त्यो पनि चर्को न चर्को । माल्दिभ्सको सामना गर्दा उनका सामु जितबाहेक अर्को विकल्प छैन । हुन सक्छ, त्यसमा भारतलाई चाहिने नतिजा आएन भने उनको भविष्य धरापमा पर्नेछ । यसमा पनि उनलाई कुनै वास्ता छैन, भोलि के हुने हो, कसलाई के थाहा ?

साँच्चै, फाइनलमा नेपाल र भारत पुगे भने के यी दुई प्रशिक्षक बाझाबाझको स्थितिमा पुग्नेछन् त ? अहिले तत्कालका लागि मूल सार हो, नेपालका लागि फाइनल कति नजिक त छ, तर अझै धेरै टाढा पनि छ । यहाँनिर भने अल्मुताइरी शान्त देखिन्छन् र दुई हात बिस्तारै तलमाथि गरेर सबैलाई ‘कुल कुल’ भन्छन् । उनको भनाइ हो, नेपालले सुरुआती दुई खेल जितेको हुनाले सबै उत्साहित भइहाले । अझै पनि केही ब्रिगेको छैन । बंगलादेशविरुद्ध नेपाल आफूलाई चाहिने नतिजा निकाल्न सक्षम छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?