ईपीएल : भैरहवाद्वारा काठमाडौंलाई ठूलो चुनौती
काठमाडौँ — भैरहवा ग्लाडियटर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटरमा काठमाडौं किंग्स ११ लाई १ सय ८९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८८ रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा कप्तान शरद भेषावकरले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४९ रन बनाई भैरहवालाई मजबुत स्थितिमा उभ्याए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
भैरहवाबाट तामिम इक्बाल ९ रनै आउट भएका थिए । अर्का ओपनर प्रदीप ऐरीले २७ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ रन बनाए । उपुल थाराङ्गाले ५ चौका प्रहार गर्दै ३३ बलमा ३५ रन जोडे ।
कुशल मल्लले ४ छक्का प्रहार गर्दै २० बलमा ३२ रन बनाए ।आरिफ शेख ८ बलमा १ चौका र १ छक्का प्रहार गरी १५, रोहित पौडेल १ र दुर्गेश गुप्ता शून्यमा आउट भए । काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २–२ विकेट लिए । प्रियन्जनले ३ ओभरमा १७ र सन्दीपले ४ ओभरमा ३६ रन खर्चे । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।
प्रकाशित : आश्विन २०, २०७८ १५:३२