कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओनर्स बक्सकी आवाज दीपा

‘हामी अन्तर्राष्ट्रिय खेल टीभीमा यति हेर्छौं, आफ्नै देशमा यत्रो इभेन्ट हुँदा खेल हेर्ने मान्छे खासै देखिरहेका छैनौं’
विनोद पाण्डे

काठमाडौं — अरू दिनका तुलनामा पोखरा राइनोजको हुटिङ अलिक मधुरो थियो । ‘होस्टेहैँसे, गैंडा आयो गैंडा, पोखरा राइनोज’ भन्दै ‘ओनर्स बक्स’ बाट उनीहरू आफ्नो टिमलाई हौस्याइरहेका थिए । सोमबार बजाज पल्सर एभरेस्ट प्रिमियर लिगमा पोखराले सामना गरिरहेको प्रतिद्वन्द्वी टोली काठमाडौं किंग्स इलेभेनलाई उनीहरू खिसी गर्न पनि पछाडि पर्दैनथे । 

ओनर्स बक्सकी आवाज दीपा

आफ्नो टिमको समर्थन अनि विपक्षीविरुद्ध पनि पोखरा राइनोजका समर्थकको हुटिङ जारी थियो । यही समर्थकको हुलमा दीपा अग्रवाल पनि उत्तिकै जोसिलो देखिन्थिइन् । पोखरा राइनोजकी ओनर्स उनी अरू समयमा आफ्नो टिम व्यवस्थापन गर्नुपर्ने काठमाडौं किंग्ससँगको खेल चलिरहँदा समर्थकलाई व्यवस्थापन गरिरहेकी थिइन् ।

‘पोखराको गैंडा’ भन्दै समर्थकहरू विनोद भण्डारीको कप्तानी गरिरहेको टिमका लागि चिच्याइरहेका थिए । ‘कम हुटिङ त होइन खास, सानो स्वरमा हुटिङ चाहिँ गर्ने भनेका हौं,’ दीपाले भनिन्, ‘हामी आफ्नो खेलाडीसँग यस विषयमा छलफल पनि गरिरहेका हुन्छौं । हामीले हुटिङ गर्दा कस्तो असर पर्छ । उनीहरूलाई डिस्टर्ब हुन्छ कि जस्तो लाग्यो । क्रिकेट प्रायः शान्त वातावरणमा खेलिन्छ । टिमहरूले आफ्नो योजनाअनुसार खेलिरहेको हुन्छ । त्यसलाई प्रभावित हुन्छ भनेर हामीले हुटिङको आवाज घटाएका छौं तर कमचाहिँ होइन ।’ उनी आफ्ना समर्थकको हुटिङमा उत्साहको कुनै कमी नरहेको सुनाइरहेकी थिइन् ।

उपाधि दाबेदारमा गनिएको पोखराले सन् २०१८ को पछिल्लो ईपीएलमा खेलेका सबै ५ खेल गुमाएको थियो । त्यसले क्रिकेटलाई अझ नजिकबाट बुझ्ने मौका दिएको उनी बताउँछिन् । त्यसयता टोलीका मार्की खेलाडी शक्ति गौचनले संन्यास लिइसकेका छन् । विनोद भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिइएको छ । पछिल्लोपल्ट पोखरामा रहेका राजेश पुलामी र सौरभ खनाल अन्य टोलीबाट चम्किएका छन् । पोखराले पनि नयाँ खेलाडीका रूपमा रित गौतम, विवेक यादव, रवीन्द्र शाही, किशोर महतो, अर्जुन कुमाल लिएर मैदानमा उत्रिएको छ ।

‘यसपालि हामीले घरेलु क्रिकेटको स्थिति नियाल्यौं र त्यहीअनुसार हामीले विदेशी खेलाडी छान्यौं । हाम्रो टिम अलराउन्ड छ,’ रिचर्ड लेभीबाहेक विदेशी खेलाडी पनि परिवर्तन गर्नुको कारण दिँदै दीपाले भनिन्, ‘लेभीलाई निरन्तरता दिनुका कारण गत सिजनमा उनले राम्रो खेलेका थिए । पहिला पनि हाम्रो टिम बलियो थियो, खाली खेल जित्न नसकेका हौं । तर खेल कहिले राम्रो हुन्छ, कहिले हुँदैन । नतिजा पनि कहिले राम्रो हुन्छ, कहिले हुँदैन । यसपालि हामीले घरेलु खेलाडीमा ध्यान दिएका छौं । हाम्रो क्रिकेट निर्देशक दीपेन्द्रजी (चौधरी) ले बनाएको योजनाअनुसार घरेलु क्रिकेटका राम्रो खेलाडीहरू ल्यायौं । विदेशीहरू पनि राम्रा छन् ।’

नतिजाभन्दा पनि प्रत्येक खेल कसरी भइरहेको छ त्यसलाई उनी महत्त्व राख्छन् । काठमाडौं किंग्ससँग खेलिरहँदा पोखरा प्लेअफमा पुगिसकेको थियो, तर क्वालिफायरमा निश्चित भएको थिएन ।

काठमाडौं किंग्समाथि जित हात पारे टोलीको क्वालिफायर पुग्ने सम्भावना बलियो हुने समीकरण थियो । यही बुझेर होला दीपा र उनको समर्थक समूहको हुटिङ जारी थियो । ‘नतिजालाई सबैले महत्त्व राख्छ, प्रतियोगितामा भाग लिएपछि ट्रफी लिएर जान नै आएका हौं,’ आफ्नो टोलीलाई दीपाले उपाधि दाबेदारमा राख्दै भनिन्, ‘आफ्नो टिमको शक्तिलाई ब्रान्डका हिसाबमा बलियो बनाएर अगाडि बढाइरहेका छौं । भविष्यमा एकपल्ट जब हाम्रो टिम राम्रो बन्छ, त्यसपछि निरन्तर जित्दै जाने हो ।’ अहिलेको केही जितलाई उनले पछिल्लो पटकको ईपीएलसँग तुलना गर्दा पुनरागमनको रूपमा लिएकी छन् ।

प्रतिद्वन्द्वी टिम काठमाडौं किंग्सकी साक्षी गुप्ताका साथ दीपा (दायाँ) । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

दुवै टिमको ‘ओनर्स बक्स’ नजिकै जस्तै छ । काठमाडौं किंग्सको ‘ओनर्स बक्स’ मा गएर आफ्ना समकक्षीसँग जिस्किरहेकी पनि हुन्छिन् उनी । काठमाडौं किंग्सकी ओनर्स साक्षी गुप्तासँग उनी जिस्किँदै आफ्नै ‘ओनर्स बक्स’ मा आएर हुटिङबाट पोखरालाई हौस्याइरहेकी थिइन् । म्याचका बेला विपक्षीको क्षेत्रमा गएर के सल्लाह भयो ? उनले हाँस्दै सुनाइन्, ‘हाम्रो केही सल्लाह हुँदैन, जिस्किरहेका हुन्छौं । आज किन आउनुभएको, घर गए भइहाल्छ नि भनेर जिस्किन्छौं । पारिवारिक सम्बन्ध पनि भएका कारण जिस्किरहेका हुन्छौं ।’

उनले पोखरा राइनोज र काठमाडौं किंग्सकै पारिवारिक सम्बन्ध भएको जनाइन् । काठमाडौं किंग्सले दिएको १ सय ८३ रनको लक्ष्य पाएको पोखराले पावर प्लेको ६ ओभरमा ३६ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । दीपाको विश्वासपात्र दक्षिण अफ्रिकी लेभी पनि पेभेलियन फर्किसकेका थिए । खेल निर्णायक मोडमा पुग्दैथियो, वर्षाले प्रभावित बनाइहाल्यो । डकवर्थ लुइस पद्धतिमा पोखरा राम्रो स्थितिमा थियो । यही जितले टोलीलाई क्वालिफायरमा पुर्‍याएको थियो । स्थिति यस्तो आयो कि उनको ‘पारिवारिक टिम’ काठमाडौं किंग्स प्लेअफमै नपुग्ने खतरा बढ्दै गयो । धन्न, मंगलबार भैरहवा ग्लाडियटर्ससँगको खेल वर्षाले भिजेका कारण रद्द हुनपुग्दा काठमाडौं जोगिँदै प्लेअफमा सुरिक्षत भयो । खेल भएको भए जे पनि हुन सक्थ्यो ।

वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) मा दीपाको स्वामित्वमा महिला टिम छ । क्याट क्विन काठमाडौंको नामले खेलेको यो टोली दुई वर्षअघि भएको प्रतियोगिताको फाइनल पुगेको थियो । रुबिना क्षेत्री टोलीकी कप्तान एवं मार्की खेलाडी हुन् । टिम रबिनाले नै सबै व्यवस्थापन गर्ने हुनाले दीपा यसमा ढुक्क देखिँदै भन्छिन्, ‘रुबिनाकै कारण हामी सुरक्षित स्थितिमा छौं ।’

डब्लूसीएलमा क्याट क्विनमार्फत उनले महिला सशक्तीकरणमा धेरै जोड दिएको जनाउँछिन् । ‘ईपीएलमा पनि ६ टिममा ३ महिलाकै नेतृत्वमा छ । विस्तारै विस्तारै खेल नेतृत्वमा महिलाहरू आउँदै हुनुहुन्छ ।’ ईपीएलले प्रत्येक संस्करणसँगै एउटा उचाइ लिइरहेको छ । यसको एउटा भिजन भएकाले त्यसलाई पोखरा राइनोजले पूर्ण समर्थन गरिरहेको उनी बताउँछिन् ।

कोभिड–१९ को भयले हो कि मैदानमा दर्शक उतिसारो देखिएका छैनन् । काठमाडौं किंग्सले पहिलो दिनको खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध पाकिस्तानी सुपर स्टार साहिद अफ्रिदीलाई मैदानमा ओराल्दा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो । त्यसयता थोरै संख्यामात्र दर्शक ईपीएलको खेल हेर्न पुगेका हुन्छन् । दीपाको चिन्ता यसैमा छ ।

‘अन्तर्राष्ट्रिय खेल हामी टीभीमा यति हेर्छौं, आफ्नै देशमा यत्रो इभेन्ट हुँदा खेल हेर्ने मान्छे खासै देखिरहेका छैनौं । यसलाई ठूलो बनाउने हो भने हामीले नै सहयोग गर्नुपर्ने हुन्छ । हामीले पनि धेरै मिहिनेत गरेर अहिलेको स्थिति बनाएका हौं,’ उनी दर्शकको अभाव महसुस गरेकी छन् । कोभिड–१९ का कारण पोखराका समर्थक काठमाडौं आएका छैनन् । तर, पोखरामा राम्रै समर्थक रहेको दाबी गर्दै उनले भनिन्, ‘यसपालि हाम्रो जति पनि व्यवस्थापन भएको छ, त्यसमा पोखराको विभिन्न निकायले धेरै समर्थन गरेको छ । बतास समूहले बस व्यवस्थापन गरिदिएको छ । यसमा आर्थिक कुनै पाटो छैन, खुला हृदयको समर्थन हो ।’

ईपीएल व्यस्थापन गर्दा र टिमलाई मैदानमा उतार्दा दुई महिनामा सकिन्छ । खेलकुदमय पूरै सिजन बनाउनका लागि उनीसँग बाँकी १० महिनाका योजनाहरू पनि छन् । ती योजनाहरू उनी अहिले नै खुलासा गर्ने पक्षमा छैनन् । कामसँगै यी योजना सार्वजनिक गर्ने उनी सुनाउँछिन् ।

प्रकाशित : आश्विन २०, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?