कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गोलमेसिन’ अविनाश

कुशल तिमल्सिना

पोखरा — फुटबलको तुलनामा फुटसलमा धेरै गोल हुन्छ । त्यसैले गोल संख्यामा धेरै महत्त्व दिइँदैन । तर, यतिबेला सविन मेमोरियलका अविनाश तामाङको हकमा धेरै कुरा फरक छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा भइरहेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा आइतबार प्रभातफेरीविरुद्ध सविन मेमोरियललाई जिताउन अविनाश एक्लैले ६ गोल गरेका थिए । एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । जारी लिगमा १८ गोल गरिसकेका छन् ।

‘गोलमेसिन’ अविनाश

प्रभातफेरीविरुद्ध मैदान छिर्दा उनी राम्ररी हिँड्न सकिरहेका थिएनन् । उनले खेलभर सम्भवतः ८ मिनेट पनि पूरा खेलेनन् । यस्तो लाग्थ्यो, उनी गोल गर्नमात्र मैदान छिरेका हुन् । गोल गर्‍यो, खुट्टा खोच्याउँदै बाहिर निस्कियो, केहीबेर आराम गर्‍यो, फेरि भित्र छिर्‍यो । फुटसल फाइभविरुद्ध चोटग्रस्त भएका उनी त्यसपछि सहरी प्रतिद्वन्द्वी क्यासलसँग खेल्नै सकेनन् । चिकित्सकले कम्तीमा एक साता आराम गर्न सल्लाह दिएकामा दुई दिनको आरामपछि नै मैदान उत्रिएर उनले ६ गोल गर्दै नतिजा परिवर्तन गरिदिए ।

प्रतियोगिता ठूलो हो कि करिअर ? अविनाश मुसुक्क हाँसे अनि बोले, ‘म वर्तमानमा विश्वास गर्ने मान्छे । यो चोटले भविष्यमा करिअरमै असर गर्न भनेर सोच्नुभन्दा पनि तत्काल मेरो टिमको जित नै महत्त्वपूर्ण हो ।’

आफूलाई खेल्न कसैले पनि दबाब नदिएको अविनाशले प्रस्ट पारे । ‘सबैको प्रयासले जित निस्किएको हो । यो टिम गेम भएको हुनाले मेरो गोलमा पनि टिममेटको सहयोग उस्तै आवश्यक छ । सबैको शतप्रतिशत प्रदर्शनले सफलता हासिल हुने हो,’ उनले थपे, ‘डाक्टरले कम्तीमा १–२ सातासम्म आराम गर्न भन्नुभएको थियो । मेरो मन नै मानेन अनि जबर्जस्ती खेलें ।’ उनले मेट्रो अस्पतालमा परीक्षण गराएका थिए ।

अविनाशले जबरजस्ती खेलेर जितेको खेलबाट पनि मेमोरियलको प्लेअफ सुरक्षित भएको त छैन । अर्को खेलमा जित हासिल गर्न पनि आफू यही अवस्थामा खेल्न तयार रहेको अविनाशले बताए ।

तस्बिर : केशव थापा/कान्तिपुर

उनी मेमोरियलका निर्णायक स्कोरर हुन् । लिगका ८ खेलमा टोलीले ३६ गोल गरेको छ । त्यसमा उनी एक्लैले ५० प्रतिशत अर्थात् १८ गोल गरेका छन् । उनी खेल्न नसकेको क्यासलविरुद्धको पोखरा डर्बीमा मेमोरियलले गोल नै गर्न सकेन ।

पोखरा महानगरपालिका–१२ शीतलदेवीका स्थानीय अविनाशले सविन मेमोरियलबाट छनोट प्रतियोगिताबाटै नै खेलिरहेका छन् । वास्तवमा उनी सविन मेमोरियल नामाकरण हुनुभन्दा अगाडि बी–फिट फुटसल टोलीका महत्त्वपूर्ण सदस्य रहिसकेका थिए । सेभेन–ए–साइड फुटबल प्रतियोगिताहरूमा उनी एम–१२ टोलीबाट खेल्छन् ।

अविनाश पोखराको स्थानीय फुटबल वा फुटसलमा पनि धेरै सुनिएका नाम होइनन् । दोस्रो संस्करणको ललित स्मृति यू–१८ फुटबलमा हिमालयन शेर्पाबाट खेलेयता उनले राष्ट्रियस्तरका कुनै पनि प्रतियोगिता खेलेका छैनन् ।

सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले आफूले अविनाशलाई आराम गर्न भने पनि जबरजस्ती उनैले खेलेको बताए । ‘प्लेअफका लागि यो निर्णायक खेल होइन । हाम्रो गणितीय सम्भावनामात्र बाँकी रहेको स्थितिमा मैले उसलाई खेल्न दबाब दिएको थिइनँ किनभने मेरा लागि खेलाडीको करिअर ठूलो हो,’ तामाङले भने, ‘तर उनको उपस्थितिचाहिँ हाम्रा लागि जितको मुख्य आधार हो । उनी एक वास्तविक पिभोट (स्ट्राइकर) हुन्, हाम्रो गोलमेसिन हो । उनी भइदिएको भए क्यासलसँगको खेल हामी जित्न सक्थ्यौं ।’

बल नियन्त्रणमा राख्ने र पोस्ट आक्रमण गर्ने उनको शैली प्रशिक्षक तामाङलाई अद्भूत लाग्छ । इन्साइड फुट, लेसस र नोक्वामा उनको क्षमता सानदार रहेको तामाङले बताए । ‘आफ्नो खुट्टामा बल परेपछि सिधा आक्रमण गर्ने उनको शैलीबारे विपक्षीले मेसो पाउन सक्दैनन्,’ तामाङले सुनाए ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?