२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
साफ च्याम्पियनसिप

समुद्री टापुमा नेपालको त्यो गोल

माल्दिभ्सविरूद्ध ८६ औं मिनेटमा मनीषले गरेको गोलको चर्चा धेरै पछाडिसम्म भइरहनेछ, यसले कहीँकतै लियोनल मेसीलाई पनि सम्झाउनेछ
हिमेशरत्न वज्राचार्य

माल्दिभ्स — माल्दिभ्स नेसनल स्टेडियमको एउटा पोस्ट पछाडि रहेको छ, प्रेस बक्स । त्यहाँबाट मैदानको एक छेउ निकै नजिकबाट हेर्न पाइन्छ । अर्को छेउ निकै टाढा छ । नेपालका लागि मनीष डाँगीले माल्दिभ्सविरुद्ध गरेको गोल त्यही टाढाको पोस्टमा थियो । नाङ्गो आँखाले हेर्दा ठ्याक्कै यस्तै हो भन्न गाह्रो हुने । तर, टेलिभिजन रिप्लेमा जति बेला मनीषको गोल हेर्न पाइयो । भन्न मन लाग्यो, आहा ! कति राम्रो गोल । 

समुद्री टापुमा नेपालको त्यो गोल

नेपाली राष्ट्रिय टोलीबाट अहिलेसम्म १ सय ८१ गोल भएको छ । त्यसमध्ये मनीषको यो गोलको चर्चा धेरै पछाडिसम्म भइरहनेछ । यो उम्दा गोलले कहींकतै लियोनल मेसीलाई पनि सम्झाउने गर्छ । यस्तो किन भन्दा मेसी यस्तै गोल गर्न सिपालु छन्, सबैको मन चोर्ने । खेलले ८६औं मिनेट छुँदा मनीषले माल्दिभ्सका दुई विपक्षी खेलाडीलाई मज्जाले बिट गरे र तेस्रोलाई समेत कुनै मौका नदिई बललाई पोस्टको दिशा दिए ।

माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसल पनि हेरेको हेर्‍यै भए । गोल गरेपछि हुत्तिएर दौडिरहेका मनीषलाई आफ्नै टिमका साथीले रोक्न खोज्दा छलेर प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अँगालोमा बेरिए । मनीषलाई नेपाली राष्ट्रिय टिमसम्म पुर्‍याएका यिनै प्रशिक्षकले हो ।

परिवारसँग दक्षिण कोरियामा बस्दै आएका मनीषले २ वर्षअघि खालीबारी युवा क्लबबाट सी डिभिजन लिग खेलेका थिए । नेपाल सुपर लिग खेलेपछि प्रशिक्षक अल्मुताइरीले मनीषमा के देखे कुन्नि, सिधै राष्ट्रिय टिममा ल्याए । उनलाई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल इराक खेल्न जाँदा पहिलोपल्ट ‘ब्रेक’ दिइएको थियो । मनीष पनि के कम ? डेब्युमै उनले इराकविरुद्ध गोल गरेका थिए । अल्मुताइरीको उक्त निर्णयलाई सही सावित गर्दै फेरि नेपालका लागि उनले माल्दिभ्समा दोस्रो गोल गरे ।

साफ च्याम्पियनसिप २०२१ को गोलपछि सबैभन्दा पहिला मनीषले अल्मुताइरीलाई नै धन्यवाद दिए । हुन पनि खेलाडीको मानसिकता बुझ्न माहिर यी कुवेती प्रशिक्षकले ६९औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रूपमा उनलाई मैदान छिराउँदा उक्साएका थिए । यसक्रममा भनेका रहेछन्, ‘नेपाललाई गोल चाहिएको छ, यो गोल गर्न सक्ने खेलाडी तिमी नै हौ ।’ मनीषले पनि खुरुखुरु त्यही काम गरे । यति मीठो गोल कसरी सम्भव भयो त ? यस्ता गोल लेखेर गरिन्न । यस्ता गोलका लागि पटकथा तयार पार्न सकिन्न । उनको मनले जे भनेको थियो, त्यही गरे । सम्भव भयो, अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि अहिलेसम्मकै सर्वकालीन उत्कृष्ट गोलमध्ये एक । नयाँ भएर हो कि के हो, मिडियासामु प्रस्तुत हुँदा मनीष केही लजालु देखिन्छन् । तर, लजाएर पनि नापेर तौलेर बोल्छन् । र, भन्छन्, ‘गोल जस्तै भए पनि त्यो टिमको गोल थियो, मेरो मात्र थिएन ।’

सबै पृष्ठभूमि तयार पार्दा भन्नुपर्छ, प्रशिक्षक अल्मुताइरीले शुक्रबार साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा बिछ्याएको रणनीति सफल भएको छ । खेल माल्दिभ्सविरुद्ध थियो । माल्दिभ्स आयोजक देश थियो अनि डिफेन्डिङ च्याम्पियन । अचेल फुटबल धेरैभन्दा धेरै प्रशिक्षकको खेल भएको छ । फुटबल उत्तिकै प्रशिक्षकले बुनेको रणनीतिमा आधारित हुन थालेको छ । अल्मुताइरीले जति बेला खेलमा मनीषलाई छिराए, कथाले तिनै मनीषलाई मागिरहेको थियो ।

मनीषसँग ‘फ्रेस लेग’ थियो, त्यसले केही सुस्ताएका माल्दिभ्सको डिफेन्सलाई ठीक समयमा तोडेको थियो । अल्मुताइरीले माल्दिभ्सविरुद्ध आफूमा उपलब्ध खेलाडीमध्ये सुरुमा सबैभन्दा बढी अनुभवी खेलाडीलाई नै महत्त्व दिए । उनी जतिसक्दो धेरै आक्रमणमै जोड दिन्थे । तर, माल्दिभ्सविरुद्धको खेलमा बढी नै रक्षात्मक देखिए । त्यसैले मैदानमा ‘डिफेन्स’ का चार खेलाडी मात्र उतारेनन्, त्यही ‘डिफेन्स माइन्डेज’ मा थप तीन पनि खेलाए । यो ‘कम्प्याक्ट डिफेन्स’ को सही नीति थियो । हुन पनि माल्दिभ्समाथि पहिलो खेलमा गोल गर्ने र जितेरै देखाउने दबाब थियो ।

यस्तो परिस्थितिमा लामो समयम्म गोल निकाल्न सकिएन भने पूरा टिम नै दबाबमा आउने गर्छ । नभन्दै माल्दिभ्स पनि दबाबमै आयो । पूरा खेल अवधिमा बलमाथि नियन्त्रण प्रतिशत माल्दिभ्सकै रह्यो । पास पनि उसकै बढी थियो । तर नेपालले पोस्टमाथि प्रहारको प्रयास भने बढी गरेको थियो । यो अधिकांश समय ‘काउन्टर’ आक्रमणका रूपमा थियो ।

खासमा मनीषको गोल पनि यस्तै रह्यो । नेपालले बल अगाडि बढाउन आक्रमण बुनिरहेको थियो । दोस्रो हाफमा नेपालको पोस्ट प्रेस बक्सकै अगाडि थियो । त्यसक्रममा नजिकबाट प्रस्ट देखिन्थ्यो, माल्दिभ्सले बढी समय नेपालकै ‘हाफ’ मा बिताएको थियो । तर बललाई पोस्टको दिशा दिन भने घरेलु टोलीका खेलाडी चुकिरहेका थिए, नेपालले तेर्स्यार्एको बलियो ‘डिफेन्स’ सामु । यस्तोमा भन्नुपर्छ, नेपालको जित रणनीतिक नै थियो । मनीषको गोल यसैकारण निस्केको थियो ।

प्रकाशित : आश्विन १७, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?