कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले फुटसल लिग पोखरा भित्र्याए

दीपक परियार

पोखरा — दुईपल्टसम्म राष्ट्रिय फुटसल लिग हुँदा काठमाडौंका मात्रै टिम सहभागी भए । ती क्लबको न वर्गीकरण थियो न त अन्तर्राष्ट्रियस्तरको फुटसलसँग परिचित थिए । एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायरमा सहभागी हुने राष्ट्रिय टिम बनाउन सन् २०१७ र २०१९ मा लिग चलेको थियो । दुवैपल्ट इरानमा भएको क्वालिफायर खेल्ने टिम म्यानेजरको भूमिकामा थिए, विनोद गुरुङ । 

जसले फुटसल लिग पोखरा भित्र्याए

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटसलले प्रवेश पाउँदा फुटसल समितिका सदस्य थिए उनी । पोखरा रानीपौवाका विनोद हाल फुटसल समितिका प्रमुख हुन् । समितिका संयोजक भने रत्नकुमार श्रेष्ठ हुन् । ती दुई लिग हुने बेलामै विनोद सोच्थे, ‘प्रदेशस्तरीय छनोट खेल खेलाएर ‘ए’ डिभिजन राष्ट्रिय लिग आयोजना गर्न पाए !’ आफ्नो सोच उनले नजिकका साथीलाई सुनाउँथे । त्यतिबेला भने उनी फुटसल समितिका सदस्यमात्रै थिए । डेढ वर्षअघि टर्नपाइक इभेन्टसँग उनको सल्लाह भयो । कोरोना महामारीकै बीचमा लिग आयोजना गर्ने योजना बन्यो । टर्नपाइकले एन्फामा प्रस्ताव बुझायो । यसपल्ट विनोद स्वयं फुटसल समितिको प्रमुख भएकाले एन्फालाई मनाउन सजिलो भयो । त्यसपछि जन्मियो पहिलो ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग ।

पोखरामा उनी त्यतिबेला अमरसिंह ब्वाइज क्लब (एबीसी) बाट फुटबल खेल्थे । ०६४ मा भने रानीपौवाकै युवाले गार्डेन फुटबल क्लब गठन गरे । उनी गार्डेन एफसीमा आबद्ध भए । अहिले क्लब अध्यक्षको जिम्मेवारी उनैले सम्हालेका छन् । तनहुँमा व्यवसाय भएकाले उनको बसाइ आबुखैरेनीमा पनि थियो । त्यतिबेला उनी तनहुँ जिल्ला फुटबल संघका कोषाध्यक्ष बने । ६ वर्षअघि एन्फामा फुटसलले प्रवेश पायो । उनी फुटसल समिति सदस्य बने । कर्माछिरिङ शेर्पा एन्फा अध्यक्ष भएपछि भने समितिको उपसंयोजकको जिम्मेवारी उनले पाए । बजेट, योजनालगायतका काम उनैले हेर्नुपर्ने भएकाले उनी समिति प्रमुख तोकिए ।

कोराना महामारीकै बीच प्रदेशस्तरीय छनोट खेल खेलाउन उनी सबैतिर पुगे । गत चैतदेखि जेठसम्म छनोट सकियो । १० टिमले ‘ए’ डिभिजनको मान्यता पाए । छनोट सकिए पनि फिफाको नियमाअनुसार लिग सञ्चालन गर्न अन्तर्राष्ट्रिस्तरको फुटसल कोर्ट काठमाडौंमा थिएन । खोज्ने क्रममा पोखरा रंगशालामा राष्ट्रिय खेलकुद परिषद्मातहतको कभर्डहल भेटियो । विनोदले आफ्नै गृहनगरमा पहिलो राष्ट्रिय लिग आयोजना गर्ने मौका पाए । ‘यहाँ उपयुक्त म्याट र पार्केटिङ छ,’ उनले भने, ‘दर्शक राख्न मिल्ने, खेलाडी चेन्जिङ रूम, मिडिया कक्षसमेत भएकाले योबाहेक विकल्प भएन ।’ उनका अनुसार एन्फाले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको फुटसल कोर्ट बल्ल बनाउने तयारी गरको छ ।

फुटसलप्रतिको ‘क्रेज’ बढ्दो छ । फुटसल मुख्य बनाएर खेल्ने खेलाडीको संख्या वृद्धि भइरहेको छ । यद्यपि अझै फुटबलकै खेलाडीमा निर्भर हुनुपर्ने अवस्था छ । पोखरामा जारी लिगमा समावेश प्रायः टिममा फुटबलबाटै आएका खेलाडी छन् । रेफ्री, कोच, अफिसियल पनि फुटबलकै ल्याउनुपर्ने बाध्यता छ । विशुद्ध फुटसलकै संरचना, जनशक्ति, खेलाडी तयार पार्न विनोदले योजना अघि सारेका छन् । ‘अहिले २० दिनमात्रै लिग चल्छ,’ उनी भन्छन्, ‘अर्कोपल्ट ३ देखि ४ महिनासम्म सातामा दुई दिन म्याच हुने गरी लिग लम्ब्याउने योजना छ ।’ त्यसो गर्दा वर्षैभरि गतिविधि हुने, खेलाडीलाई क्लबले सम्झौता गर्ने, रेफ्री र कोचले पनि क्षमता बढाउनपाउने मौका पाउँछन् । यसले फुटसललाई दिगो बनाउने उनी ठान्छन् । ‘अहिले पनि फुटसल खेलाडी बढिरहेका छन् । लिगमा पनि फुटसल नै खेल्ने उदीयमान खेलाडी आएका छन्,’ उनले भने, ‘नेपालमा सम्भावना धेरै छ । चाँडै परिणाम ल्याउँछ ।’

फुटबल र फुटसल खेलाडी छुट्याउने र फुटबलमा निर्भर हुनु नपर्ने गरी योजना बनाइरहेको उनी सुनाउँछन् । पार्केटिङ र म्याट बिछ्याइएको र फिफाले तोकेको आकारको एकमात्र फुटसल कोर्ट पोखरामा छ । फुटसललाई फिफाको नियमअनुसार सञ्चालन गर्न अब बन्ने फुटसल अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन एन्फाको जोड रहने उनी बताउँछन् । उनका अनुसार फुटसलमै वुमेन्स लिग एन्फाले गर्दै छ । एन्फा फुटसल समितिले फुटसलकै लागि ३२ रेफ्री तयार गरेको छ । १९ ले लेभल ‘वान’ कोचेज तालिम लिएका छन् । लेभल ‘वान’ को दुई र लेभल ‘टु’ को एक तालिम एन्फाले निकट भविष्यमै गर्दै छ । गोलकिपर कोचिङको पनि तालिम हुँदै छ । यो वर्ष नसकिँदै दोस्रो ‘ए’ डिभिजन राष्ट्रिय लिगको क्वालिफायर सुरु हुने छ ।

फुटसलको वरीयतामा भने नेपाल अझै परिसकेको छैन । वरीयताका लागि १० अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्छ । नेपालले एएफसी फुटसल च्याम्पिनसिपको क्वालिफायरमा दुईपल्ट गरी ६ म्याच मात्रै खेलेको छ । च्याम्पियनसिपको नाम परिवर्तन भएर हाल एएफसी फुटसल एसियन कप भएको छ । २०२२ मा कुवेतमा हुने एसियन कपका लागि नेपालले थप ३ क्वालिफायर म्याच खेल्नेछ । अघिल्लो दुईपल्ट नै इरानमा क्वालिफायर म्याच भएकामा यसपल्ट कहाँ हुने भन्ने टुंगो लागिसकेको छैन । अन्तर्राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल नेपालले खेल्नेछ । एसियामा हाल इरान पहिलो वरीयतामा छ । नेपाल दुईपल्ट नै समूह चरणबाटै बाहिरिएको थियो ।

लिगबाट खेलाडी छनोट गरी राष्ट्रिय टिम बन्नेछ । यसपल्ट समूह चरण पार गरेर एसियन कप खेल्ने लक्ष्य रहेको विनोद सुनाउँछन् । फुटसललाई चिनाउन पनि हालको लिगले महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । ‘लिगको उद्देश्य नाफा कमाउनु होइन,’ उनी भन्छन्, ‘फुटसललाई व्यावसायिक बनाएर सबैमाझ पुर्‍याउने हो ।’

प्रकाशित : आश्विन ८, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?