विश्वकपपछि विराट कोहलीले ट्वान्टी-२० टिमको कप्तानी छाड्ने- खेलकुद - कान्तिपुर समाचार

विश्वकपपछि विराट कोहलीले ट्वान्टी-२० टिमको कप्तानी छाड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — अनेक अड्कलबाजीका बीच भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वान्टी-२० कप्तानी छोड्ने भएका छन् ।

बिहीबार कोहलीले सामाजिक सञ्जालमार्फत आगामी ट्वान्टी-२० विश्वकपपछि उक्त फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, 'यो निर्णयमा पुग्नु सहज थिएन । रवि शास्त्री र रोहित शर्मासँगको लामो कुराकानीपछि मैले यो निर्णय लिएको हूँ । ट्वान्टी-२० विश्वकपपछि ट्वान्टी-२० को कप्तानी छाड्नेछु ।'

केही दिनदेखि भारतीय राष्ट्रिय क्रिकेट टिममा कप्तानी जिम्मेवारीमा हेरफेर गरिने चर्चा चल्दै आएको थियो । ट्वान्टी–२० विश्वकपपछि विराट कोहलीले ट्वान्टी–२० र एक दिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीबाट हट्ने समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।

विराटले टेस्ट टिम र रोहित शर्माले ट्वान्टी–२० र एकदिवसीय टिमको कप्तानी सम्हाल्ने खबर सार्वजनिक भएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले उक्त समाचार सही नभएको स्पष्टीकरण दिएका थिए ।

बीसीसीआईको छनोट समितिले गत बुधबार आगामी टवान्टी–२० विश्वकपका लागि खेलाडी छनोट गरेको थियो । टिममा रविचन्द्रन अश्विनलाई पनि राखिएको छ । अश्विनले सन् २०१७ मा पछिल्लो पटक ट्वान्टी–२० विश्वकप खेलेका थिए । साथै आगामी विश्वकपका लागि पूर्वकप्तान महेन्द्रसिंह धोनी टिमको ‘मेन्टर’ भूमिकामा देखिनेछन् ।

यसपटक विश्वकप यूएईमा हुनेछ । पहिले भारतमा खेल हुने तय भए पनि कोरोनाका कारण आयोजनास्थल सारिएको हो । अक्टोबर १७ बाट सुरु हुने खेल नोभेम्बर २४ मा सकिनेछ । भारतले समूह चरणमै पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तो छ ट्वान्टी–२० का लागि भारतीय टिम

विराट कोहली(कप्तान), रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त(विकेटकिपर), इशान किशान(विकेटकिपर), हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चहर, रविचन्द्रन अश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी

रिजर्भमा राखिएका खेलाडी : श्रेयष अय्यर, दीपक चहर, शार्दुल ठाकुर


प्रकाशित : भाद्र ३१, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्

ओली भेट्न बालकोट पुगे कानुनमन्त्री, संसद् खुलाउन आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन् ।

मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने जानकारी दिएका छन् । एमालले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ । संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ ।

अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि सत्ता पक्षले विपक्षीलाई सहमतिमा ल्याउने कोसिस गर्न थालेको हो ।

प्रकाशित : भाद्र ३१, २०७८ १८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×