कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसल : मोफसलमा माहोल बनाउँदै लुम्बिनी

लुम्बिनी फुटसल प्रालि मूलतः बुटवल, रूपन्देहीको टोली हो तर उसले ललितपुरमा बसेर तयारी गरेको छ ।
कुशल तिमल्सिना

काठमाडौँ — छनोट प्रतियोगितामा क्षेत्रीय च्याम्पियन बन्दै फाइनल प्रतियोगिताका लागि छानिएको लुम्बिनी फुटसलले आसन्न ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसलका लागि आफ्नो तयारी तीव्र पारेको छ । लुम्बिनीले असोज २ देखि २२ सम्म पोखरामा आयोजना हुने प्रतियोगिताका लागि राजधानीमै बसेर तयारी गरिरहेको छ ।

‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसल : मोफसलमा माहोल बनाउँदै लुम्बिनी

लुम्बिनी फुटसल प्रालि मूलतः बुटवल, रूपन्देहीको टोली हो । उसले ललितपुरमा बसेर तयारी गर्नुका दुई कारण छन्– पहिलो, ‘ए’ डिभिजन खेल्ने अधिकांश खेलाडी ललितपुरका छन् । दोस्रो– प्रतियोगिता म्याटमा हुँदै छ, बुटवलमा टर्फ मैदान मात्र छ ।

लुम्बिनी फुटसल प्रालिका सञ्चालकमध्येका एक प्रज्वल श्रेष्ठले टिमको प्रशिक्षण गर्दै छन् । फुटबल प्रशिक्षकले प्रशिक्षण गर्दा खेलाडीहरू द्विविधामा पर्ने समस्या आएपछि आफैंले प्रशिक्षणको जिम्मेबारी लिएको उनको तर्क छ ।

प्रतियोगिताका लागि भनेरै ललितपुरका अधिकांश खेलाडी समेटेर लुम्बिनीले तीन प्रदेशको संयुक्त क्षेत्रीय छनोटको उपाधि जितेको हो । छनोटको फाइनलमा हराएको झरना स्पोर्ट्स क्लबसँगै असोज ३ गते हुने खेलबाट उसले प्रतियोगितामा औपचारिक सुरुआत गर्दैछ ।

झरनाले रूपन्देही जिल्लाका मात्र खेलाडीलाई अवसर दिएको छ । लुम्बिनीले मिश्रित टिम तयार गरेको छ । यसको अर्थ लुम्बिनीले आफूलाई अधिक व्यावसायिक रहेको सन्देश दिन खोजेको छ । ‘ए’ डिभिजन फुटसलमा फुटबलमा जस्तो सामाजिक क्लब छैनन् । त्यसैले हामीले स्थानीय खेलाडीसहित बलियो टिम निर्माण गर्नका लागि मिश्रित टोली निर्माण गरेका हौं । हामी व्यावसायिक खेलकुदमा विश्वास गर्छौं,’ लुम्बिनीका प्रशिक्षक प्रज्वलले कान्तिपुरसँग भने, ‘निजी क्लबहरूको सहभागिता भएपछि यो प्रतियोगिता फ्रेन्चाइजजस्तै बन्न पुगेको छ । व्यावसायिक प्रतियोगितामा जित्नका लागि सबै प्रयास गर्नुपर्छ ।’

स्थानीय खेलाडीलाई अवसर दिएन भनेर आरोप लगाउनेहरूका लागि श्रेष्ठको प्रतिप्रश्न छ, ‘बुटवलजस्तो अर्धव्यावसायिक फुटसल गतिविधि हुने ठाउँमा बाहिरका खेलाडीसहितको टिम नबनाएको भए राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सकिन्थ्यो त ?’

श्रेष्ठको बुझाइमा यो टिमले बुटवल र आसपासका क्षेत्रमा फुटसलको माहोल तयार गर्नेछ । भविष्यमा लुम्बिनी फुटसलबाट उत्पादित टोलीले मात्र ‘ए’ डिभिजन खेलेको हेर्ने योजनाको सुरुआत गरेको उनले बताए । ‘यो टिमले राम्रो प्रदर्शन गरेको अवस्थामा स्थानीयस्तरमा हाम्रो हैसियत राम्रो हुन्छ । यसले फुटसलमा लाग्न युवाहरूलाई प्रेरित गर्नेछ । आगामी वर्षमा हुने प्रतियोगितामा आफ्नै खेलाडी सहभागी गराउन सक्षम हुनेछौं ।’

लुम्बिनीले आसन्न प्रतियोगितामा ठूलो लक्ष्य राखेको छैन । शीर्ष चारभित्र पर्न पाए पुग्यो । त्यो भएन भने शीर्ष ८ भित्र जसरी पनि पर्ने । यसको अर्थ रेलिगेसन नहुने । ‘हामी पहिलोपल्ट प्रतियोगिता खेल्दै छौं । यसपल्ट कोरोनाले गर्दा पनि आशाअनुरूप तयारी भइरहेको छैन । यसपल्ट हाम्रो लक्ष्य शीर्ष चारभित्र रहने हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘त्यो सम्भव भएन भने रेलिगेसन नपर्ने लक्ष्य हुनेछ ।’ यो प्रतियोगितामा पुछारमा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

टोलीका कप्तान अञ्जन थापाले कोरोना महामारीका कारण पटकपटक प्रतियोगिताको मिति सर्दा तयारीका लागि पर्याप्त समय मिलेको बताए । उनले यो प्रतियोगितालाई अवसर र जिम्मेबारीका रूपमा लिएका छन् । ‘खासमा जेठमै हुने भनिएको थियो । त्यतिबेला सुरु नहुँदा हामी ६ महिनादेखि एकसाथ प्रशिक्षण गरिरहेका छौं । यसले हाम्रो सन्तुलनमा सहयोग गरेको छ । टिममा सबै जना फिट छन् र लामो समयदेखि सँगै भएको हुनाले एकअर्काको क्षमता बुझेका छौं,’ उनले भने, ‘हामीलाई राम्रो प्रदर्शन गर्ने दबाब पनि छ । सिक्ने चरणमा छौं, त्यसैले सबैलाई सन्तुलन मिलाएर अगाडि बढिरहने जिम्मेबारी पनि छ ।’

प्रतियोगिता समयमै नहुँदा तयारी खर्च बढेकोमा भने प्रशिक्षक तथा सञ्चालक श्रेष्ठले चिन्ता व्यक्त गरे । ‘छनोट प्रतियोगितामा सहभागी टिमका १० जना खेलाडी अनिवार्य फाइनल प्रतियोगितामा हुनुपर्ने भएपछि उनीहरूको सबै जिम्मेबारी क्लबले लिनुपर्ने हुन्छ । हामीले कतैबाट सहयोग पाएका पनि छैनौं,’ प्रायोजनका लागि केही कम्पनीसँग कुरा भइरहेको उनले बताए ।

नारायणगढबाट पश्चिममा फुटसल मैदानसहित फुटसल संस्कृतिको सुरुआतकर्ता हो, लुम्बिनी फुटसल । श्रेष्ठसहित अन्य तीन जना मिलेर २०७१ सालमा बुटवलमा यो फुटसल स्थापना हुनुअघि चितवनबाट पश्चिममा कतै पनि फुटसल मैदान थिएन । लुम्बिनी फुटसलको यो विरासत कायम राख्नका लागि आसन्न लिगमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने चुनौती छ । पश्चिम नेपालमा फुटसल सुरुआतकर्ताको नाताले नयाँ खेलाडी उत्पादन र प्रतियोगिता आयोजनाको जिम्मेबारी पनि छ ।

श्रेष्ठ आफैं टेबलटेनिसका राष्ट्रिय खेलाडी हुन् । त्रिभुवन आर्मी क्लबका लागि टीटी खेल्दै आएका श्रेष्ठले दुई वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुदको बन्द प्रशिक्षण शिविरबाट बाहिरिएपछि बुटवल गएर फुटबलको व्यवस्थापनका साथै ब्याडमिन्टन र टेलटेनिसको एकेडेमी पनि सञ्चालन गरेका छन् ।

‘मेरो खेलकुद अनुभवले सिकाएको एउटै कुरा के हो भने सामाजिक रूपमा खेलकुद सञ्चालन हुँदैन । नेपालको हरेक क्षेत्रमा निजी संस्था सधैं उपल्लो स्तरमा छन् । खेलकुदमा निजीकरण हुन नसकेर नै पछि परिरहेको हो,’ उनले आफ्नो अनुभव सुनाए, ‘जबसम्म खेलकुदमा निजीकरण हुँदैन, तबसम्म नेपालमा खेलकुदको विकास हुँदैन । म बुटवलमा यी खेलहरूलाई व्यावसायिक बनाउन चाहन्छु । त्यसैका लागि लगानी गरिरहेको छु ।’

बुटवलमा फुटसल, ब्याडमिन्टन तथा टेबलटेनिसको स्थानीय प्रतियोगिता सञ्चालन गरिरहेका उनले विद्यालयस्तरदेखि नै बुटवलको खेलकुद विकासको योजना बनाएका छन् । अहिलेसम्म स्थानीय तहसँग समन्वय भने गरेका छैनन् । फुटसल टिमले राम्रो प्रदर्शन गरेमा स्थानीयस्तरमा चिनिन सहयोग पुग्ने उनको आशा छ ।

२० दिनसम्म पोखरा रंगशालास्थित कभर्डहलमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । टर्न पाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा हुने यो प्रतियोगिताका सम्पूर्ण खेल कान्तिपुर टेलिभिजन र ईकान्तिपुर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रकाशित : भाद्र २८, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?