रोकियो रंगशालाको काम- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकियो रंगशालाको काम

वीरेन्द्र केसी

गुल्मी — पहाडी जिल्ला गुल्मीको ग्रामीण भेगमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशालाको काम बजेट अभावमा अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ रामडलचौरमा नेपालका प्रथम सहिद लखन थापाको नाममा १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको रंगशालाको फिल्ड निर्माण र वाल उठाउने काम सम्पन्न गरी दुबो रोपिएको छ । प्यारापिट निर्माणलगायत दोस्रो चरणको काम मन्त्रालयबाट बजेट स्वीकृत नहुँदा मंसिरदेखि ठप्प छ ।


पहिलो चरणमा गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ लगानीमा फिल्ड सम्याउने र वाल उठाउने काम सकिएको थियो । त्यसपछि बजेट विनियोजन नहुँदा प्यारापिट निर्माणसहित अन्य भौतिक संरचना निर्माणको काम अगाडि बढ्न सकेको छैन । फिल्डमा नाली बनाउने, फिल्ड घेरबार गर्ने, ट्वाइलेट ब्लक र गार्ड रूम निर्माण गर्न १ करोड ५५ लाख रुपैयाँको ठेक्का सुनकोसी अभियान जेभीलाई परेको छ ।

ठेक्का परेको एक वर्ष भइसक्यो तर सम्झौता नभएकाले काम अगाडि बढ्न नसकेको सुनकोसीका सञ्चालक गणेश आचार्यले बताए । ‘ठेक्का भयो तर सम्झौता नभएर अड्किएको छ,’ उनले भने, ‘खेलकुद मन्त्रालयबाट सम्झौता हुन सकेको छैन । पहिला भएन, अहिले मन्त्री नभएकाले फाइल अगाडि बढेन ।’ मन्त्रालय जति धाए पनि बजेट नभएको भन्दै फर्काइदिएको उनले सुनाए ।

तम्घासदेखि २० किमि दूरीमा निर्माणाधीन उक्त रंगशालामा ७ हजार दर्शक क्षमताको बनाउने लक्ष्य छ । पहिलो चरणको काम सकिएलगत्तै दोस्रो चरणमा प्यारापिट निर्माण गर्ने लक्ष्य भए पनि मन्त्रालयले बजेट उपलब्ध नगराउँदा रंगशालाको काम १० महिनादेखि ठप्पै छ । पहिलो चरणको काम मंसिरमा सकिए पनि पुरानो सरकारले बजेट दिएन । अहिले नयाँ सरकार गठन भएपछि खेलकुदमन्त्री नहुँदा रंगशालाको काम अलपत्र परेको हो । प्यारापिट निर्माणको काम गर्न सुरुमा ६० करोड रुपैयाँ लाग्ने इस्टमेट गरिएको थियो ।

धेरै रंगशाला ठूला सहरमा निर्माण भएका छन् । पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा गाउँमा रंगशाला निर्माण हुने भएपछि खेलाडीसहित जिल्लावासीमा खुसीयाली छाएको थियो । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु भएपछि निरन्तर काम गरेर छिट्टै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । दोस्रो चरणको कामका लागि बजेट नआएपछि अहिले काम ठप्पै भएको इस्मा गाउँपालिका–६ का वडाध्यक्ष हीराबहादुर जीसीले बताए । ‘ग्रामीण भेगमा निर्माण हुन लागेको रंगशालालाई संघीय सरकारले बजेट रोक्नुहुँदैन,’ उनले भने, ‘कतै अलपत्र पर्ने हो कि भन्ने चिन्ता लागेको छ ।’ रंगशाला निर्माण सम्पन्न भएपछि खेल प्रतियोगिता सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधिमा परिर्वतन हुने आशा स्थानीयको छ ।

सुन्दर, हरियाली र रमणीय प्राकृतिक मनोरम दृश्यसँगै रंगशालामा खेल गतिविधि सञ्चालन गर्ने र ठूलो खेल प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेर निर्माण सुरु गरिएको हो । ठूला खेल प्रतियोगितामा आउने खेलाडी र दर्शकलाई खान र बस्नका लागि स्थानीय सरकारले गाउँमा होमस्टे निर्माण गरी गरिब तथा विपन्न परिवारको आर्थिक स्थिति सुधार्ने योजना बनाएको वडाध्यक्ष जीसीले सुनाए । ‘संघ सरकारले रंगशाला निर्माण गरिदिए, घरैपिच्छे होमस्टे, स्थानीय खानाका परिकारका लागि कोदोलगायत बाली उत्पादनमा वृद्धि ल्याउने तयारीमा छौं,’ इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले भने, ‘यहाँ भएको दहमा ठूलो ताल निर्माण गर्ने र खेलसँगै पर्यटकीय हब बनाउने लक्ष्य हो ।’

गुल्मीमा पहिलो अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला निर्माण हुन लागेको राष्ट्रिय खेलकुद परिषद्का प्राविधिक माधव देवकोटाले बताए । यस रंगशालामा अन्तर्राष्ट्रिय स्तरका सबै खेल हुने उनले बताए । ग्रामीण बस्तीका बेरोजगार युवाहरू कृषि उत्पादन, खसीबोका, रैथाने कुखुरालगायत पशुपालन, होटल तथा होमस्टेबाट र खेल पर्यटनबाट स्वरोजगार बन्ने आशा गरिएको छ ।

रंगशाला निर्माणको दोस्रो चरणको कामका लागि अर्थ मन्त्रालयले बजेट रोकिदिएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले बताए । ‘अहिले बजेट अर्थ मन्त्रालयले रोकेको छ,’ उनले भने, ‘नयाँ सरकार गठनपछि योजनाका काम अगाडि बढेको छैन । बजेटको छिनोफानो भएपछि रंगशाला निर्माणका लागि बजेट उपलब्ध हुने र बजेटका कारण रोकिएको रंगशालाको काम अगाडि बढ्नेछ ।’

प्रकाशित : भाद्र २४, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यचौकी पुग्न ७ घण्टा डोलीमा

पालिकाले हिउँदमा बाटो मर्मत गर्छन् । नयाँ पनि बनाउँछन् । तर बर्खामा कुनै सञ्चालनयोग्य रहँदैनन् । जसले गर्दा बिरामीलाई स्वास्थ्यचौकी पुर्‍याउन घण्टौं बोकेर पुर्‍याउनु पर्छ ।
वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा–६ जलुकेकी शान्ता नेपाली ज्वरोले सिकिस्त भइन् । अस्पताल लैजान गाडी चल्ने बाटो छैन । आफैं हिँडेर जान तागत छैन । छिमेकीसँग गुहार मागेपछि ४ जनाले गत साता डोलामा बोकेर ७ घण्टामा ठाडास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए । पहिरोले गोरेटो बाटो भत्किएका छन् ।

पाइला टेक्ने ठाउँ बनाएर स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन त्यति समय लागेको हो । टाइफाइड भएकी नेपालीलाई जेनतेन स्वास्थ्य केन्द्र पुर्‍याए पनि उपचार हुन सकेन । त्यसपछि उनलाई बुटवल लगियो । एक सातादेखि उपचाररत उनले भनिन्, ‘गुहारै नपाएर मरिन्छ कि भन्ने थियो । उपचार पाएपछि बाँच्ने आशा पलायो ।’

जंगलभित्र छरिएर रहेको बस्ती छ । सिकिस्त बिरामी भए बोकेर अस्पतालसम्म ल्याउन गाउँमा युवाशक्ति छैन । पाको उमेरकाले बोक्न सक्दैनन् । त्यसमाथि बर्खामा हरेक वर्ष बाढीपहिरोले यहाँका सबैजसो ग्रामीण सडक अवरुद्ध हुन्छन् । बेलैमा अस्पताल पुर्‍याउन नसके बिरामीको मृत्युसमेत हुने गरेको छ । ‘दुई वर्षअघि छिमेककी दिदी ज्वरोले थलिएर मलाई जस्तै गरी डोलीमा बोकेर लैजाँदै गर्दा बाटोमा मरिन्,’ उनले भनिन्, ‘गाउँमा उपचार नपाएर मान्छे मर्नु नौलो छैन ।’

सडककै कारण उपचारका लागि बिरामी अस्पताल जान नसक्ने अवस्था आउँदा समेत नगरपालिकाले बर्खामा बिग्रेका सडक समयमै मर्मत गर्दैनन् । ‘गाउँमा बूढापाका मात्रै धेरै छन्,’ शीतगंगा–६ का कमल खत्रीले भने, ‘सबैले बिरामी बोक्न सक्दैनन् । सडकसम्म पुग्न गोरेटो छिचोल्नुपर्छ । बर्खामा तिनको अस्तित्व नै रहँदैन ।’

जलुकेको दाङसिङ गाउँमा मोटर पुगेको छैन । बर्खामा खोलामा बाढीले वारपार गर्न सकिँदैन । स्थानीय रामबहादुर घर्तीले डोको र डोलीमा यो महिना ६ जना बिरामी बोकेर स्वास्थ्य केन्द्र पुर्‍याए । डोलीमा बिरामीसँगै कोदालो, बेल्चा, बोतलमा पानी बोक्छन् । बोकेर लैजाँदा पहिरोको डर हुन्छ । ‘उकालोमा धेरैबेर बोक्दा थाकिन्छ,’ उनले भने, ‘बिरामी बोक्दा शरीर पसिनाले निथ्रुक्क भिज्छ । थकाई मार्दै बोकेर लैजान ६/७ घण्टा समय लाग्छ । बिरामी आत्तिन्छन् । बाटैमा केही भइहाल्छ कि भन्ने डर लाग्छ ।’

स्थानीय सरकारले हिउँदमा डोजरले बाटो मर्मत गर्छन् । नयाँ सडक निर्माण गर्छन् । बर्खामा सबै सडक अवरुद्ध हुन्छन् । गाडी चढ्न हिउँद पर्खनुपर्छ । ‘ज्वरो आउँदा सिटामोलसम्म पाउन सहज छैन,’ स्थानीय भानुभक्त विकले भने, ‘स्वास्थ्य चौकी पुग्न टाढै छ । बर्खामा उपचार नपाएरै गाउँमा बिरामीको मृत्यु हुन्छ ।’

भौगोलिक जटिलताका कारण जलुके, सिद्धारा, सिमलपानीलगायत गाउँका स्थानीय स्वास्थ्य चौकीको पहुँचभन्दा टाढा छन् । हिँडडुलकै सकसले गर्भवती पनि नियमित स्वास्थ्य जाँचमा जाँदैनन् । ‘म गर्भवती भएको ६ महिना भयो,’ जलुकेकी दुर्गा खत्रीले भनिन्, ‘दुई पटक स्वास्थ्य चौकी गएकी थिएँ, स्वास्थ्यकर्मीले सबै ठीक छ भनेका थिए । त्यसपछि गोरेटो पहिरोले पुर्‍यो, कसरी जानू ?’ जेनतेन गरेर स्वास्थ्य चौकी पुगे पनि स्वास्थ्यकर्मी नमेटिने अर्को समस्या छ । कहिलेकाहीँ त सिटामोल पनि छैन भनेर स्वास्थ्यकर्मीले फर्काउने गरेको उनले बताइन् ।

‘बर्खामा बिरामी परे भगवान् भरोसा हो,’ शीतगंगा–७ का भोला आचार्यले भने, ‘घरकै जडीबुटीको भरमा धेरै बिरामी बस्छन् ।’ शीतगंगा–६ का वडाध्यक्ष मोहन पन्थीले बर्खामा बाटो साहोर्ने काम गरे पनि पहिरोले पुर्ने गरेकाले गाउँका बाटामा गाडी चल्न नसकेको बताए । उनका अनुसार जताततै बाटो भेलले खोलेर खाल्डाखुल्डी छन् । पहिरोले पुर्ने र भत्किने क्रम अझै छ । ‘भौगोलिक जटिलताले गर्दा नै बर्खामा यातायातको पहुँच पुग्न नसकेको हो,’ उनले भने ।

प्रकाशित : भाद्र २३, २०७८ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×