फ्रेन्चाइज लिग भलिबल हुने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्चाइज लिग भलिबल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — फुटबल र क्रिकेटपछि भलिबलमा पनि व्यावसायिक फ्रेन्चाइज प्रतियोगिताको सुरुआत हुने भएको छ । पुरुष र महिलाको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज भलिबल प्रतियोगिता आयोजना गर्न नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र नेपाल भलिबल संघबीच १० वर्षे सम्झौता भएको छ । 

मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले यो कदमलाई नेपाली भलिबल विकासको कोसेढुंगा मानेका छन् । फ्रेन्चाइज भलिबलले अन्तर्राष्ट्रियस्तरमा नेपालको स्तर वृद्धि हुने, राष्ट्रिय खेलको प्रचारमा सहयोग पुग्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य उनीहरूको छ । यसअघि फुटबलको फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिसकेको नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानजमेन्ट (एनएसईएम) ले मंसिर महिनामा यो प्रतियोगिता गर्ने लक्ष्य राखेको छ । नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्मको मिति तय गरेको छ । सम्झौताअनुसार प्रतियोगिताको प्राविधिक जनशक्ति, कभर्डहल, विदेशी र स्वदेशी खेलाडीको व्यवस्थापन जिम्मा नेपाल भलिबल संघको छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक आर्थिक र व्यवस्थापकीय काम एनएसईएमले गर्नेछ ।

महिलातर्फ ७ र पुरुषतर्फ ७ टिमको सहभागिता रहने बताइएको छ । सम्झौतामा प्रतियोगिताको नाफाबाट ३० प्रतिशत रकम एनएसईएमले नेपाल भलिबल संघलाई दिनुपर्नेछ । त्यसबाहेक भलिबल संघको वार्षिक कार्यक्रमका रुपमा रहेको एनभीए क्लब च्याम्पियनसिपको आयोजनाका लागि नेपाल स्पोर्ट्स एन्ड इभेन्टले ३० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ । यसअघि क्रिकेट र फुटबलमा मात्र व्यावसायिक फ्रेन्चाइज प्रतियोगिता आयोजना हुँदै आएकोमा भलिबलमा पहिलो प्रयोग गर्न लागिएको हो । फ्रेन्चाइज टिम मालिकले महिला र पुरुष दुवै टिमको स्वामित्व लिन चाहेको अवस्थामा पनि पाउने व्यवस्था गरिएको एनएसईएमका निर्देशक सुदीप शर्माले जानकारी दिए ।

पहिलो संस्करणको प्रतियोगिता काठमाडौंमा गर्ने तयारी भए पनि आगामी वर्षदेखि फ्रेन्चाइज नाम भएका सहरमा होम एन्ड अवेका आधारमा गर्ने तयारी एनएसईएमको छ । प्रतियोगिता आयोजक कम्पनीकी प्रबन्ध निर्देशक आश्रेयता कार्की चौधरीले नेपाली राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रियस्तरमा अझै प्रतिस्पर्धात्मक र क्षमतावान बनाउन यो प्रतियोगिताले सहयोग गर्ने अपेक्षा गरिन् । ‘एनएसएल फुटबलको सफलताले हामीलाई खेलकुदमा अझै धेरै प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने आवश्यक महसुस गरायो,’ उनले भनिन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालले फ्रेन्चाइज प्रतियोगिताले घरेलु भलिबललाई व्यावसायिक बनाउनुका अलावा खेलाडी र प्रशिक्षकले नियमित अभ्यासमार्फत क्षमता देखाउने अवसर पाउने र त्यसले घरेलु भलिबल प्रतिस्पर्धात्मक हुने बताए ।

प्रकाशित : भाद्र २३, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय फुटसल लिग : राइजिङ र स्काइबीच उद्घाटन खेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पहिलोपल्ट आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेलतालिका सार्वजनिक गरिएको छ । सहभागी १० क्लबका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक खेलतालिकाअनुसार द राइजिङ क्लब धरान र स्काइ गोल्स काठमाडौंबीच उद्घाटन खेल हुनेछ ।

प्रतियोगिता असोज २ देखि २२ सम्म पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा राष्ट्रिय फुटसल लिग हुन लागेको हो ।

अन्तर्राष्ट्रियस्तरमा फुटसलको व्यवस्थापन फुटबल संघमार्फत नै भइरहेको छ । यो लिग एसियाली फुटबल महासंघ (एएफसी) कै कार्यक्रमअन्तर्गत सञ्चालन गर्न लागिएको हो । नेपालमा लोकप्रिय रहेको फुटसलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पहिलोपल्ट हुन लागेको भए पनि दुई वर्षअघि नै राष्ट्रिय टिम बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भइसकेको छ ।

सहभागी टोलीबीच सिंगल राउन्ड रोबिन प्रणालीका आधारमा प्रतिस्पर्धा हुनेछ । यसो हुँदा समूह चरणमा ४५ खेल हुनेछ । समूहको शीर्ष चार स्थानमा रहने टोली क्वालिफायर र इलिमिनेटर हुँदै फाइनलमा पुग्नेछन् । शीर्ष र दोस्रो स्थानमा रहने टोलीबीचको पहिलो क्वालिफायर विजेता फाइनल पुग्नेछ । पराजित टोलीले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल पुग्नका लागि पुनः खेल्नेछ ।

एक दिनमा बढीमा तीन खेलसम्म हुनेछ । सबै खेल ४० मिनेटको हुनेछ । खेलमा बास्केटबलकै जस्तो स्टप वाच प्रणाली हुनेछ । प्रतियोगिता टर्फमा नभई सिमेन्टेट प्लेन मैदानमा हुनेछ । यो फिफाको अन्तर्राष्ट्रिय नियमअनुसार नै हो । हरेक टोलीमा १४ जना सदस्य रहनेछन् । पाँच जना सुरुआती टिममा हुनेछन् भने ९ जनासम्म सब्स्टिच्युट गर्न पाइनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ ४ जना (उत्कृष्ट स्ट्राइकर, गोलकिपर, फिक्सो, प्रशिक्षक) र राइजिङ खेलाडीका रूपमा १ जनाले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

जेठ १ देखि २४ सम्म आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण सरकारले लागू गरेको लकडाउनका कारण सारिएको हो । त्यसअघि २०७७ चैत १ देखि २०७८ वैशाख ५ सम्म देशभरबाट टिम छनोट गरिएको थियो ।

सहभागी टिम

द राइजिङ क्लब, धरान

स्पोर्ट्स क्यासल, पोखरा

लुम्बिनी फुटसल, रुपन्देही

फुटसल फाइभ, धरान

ढुकु फुटसल, काठमाडौं

सविन मेमोरियल एफसी, पोखरा

शंखमूल फुटसल, काठमाडौं

झरना स्पोर्टस क्लब, रूपन्देही

प्रभातफेरी स्पोर्ट्स क्लब, काठमाडौं

स्काइ गोल्स, काठमाडौं

प्रकाशित : भाद्र २३, २०७८ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×