कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय फुटसल लिग : राइजिङ र स्काइबीच उद्घाटन खेल

काठमाडौँ — नेपालमा पहिलोपल्ट आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेलतालिका सार्वजनिक गरिएको छ । सहभागी १० क्लबका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक खेलतालिकाअनुसार द राइजिङ क्लब धरान र स्काइ गोल्स काठमाडौंबीच उद्घाटन खेल हुनेछ ।

राष्ट्रिय फुटसल लिग : राइजिङ र स्काइबीच उद्घाटन खेल

प्रतियोगिता असोज २ देखि २२ सम्म पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा राष्ट्रिय फुटसल लिग हुन लागेको हो ।

अन्तर्राष्ट्रियस्तरमा फुटसलको व्यवस्थापन फुटबल संघमार्फत नै भइरहेको छ । यो लिग एसियाली फुटबल महासंघ (एएफसी) कै कार्यक्रमअन्तर्गत सञ्चालन गर्न लागिएको हो । नेपालमा लोकप्रिय रहेको फुटसलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पहिलोपल्ट हुन लागेको भए पनि दुई वर्षअघि नै राष्ट्रिय टिम बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भइसकेको छ ।

सहभागी टोलीबीच सिंगल राउन्ड रोबिन प्रणालीका आधारमा प्रतिस्पर्धा हुनेछ । यसो हुँदा समूह चरणमा ४५ खेल हुनेछ । समूहको शीर्ष चार स्थानमा रहने टोली क्वालिफायर र इलिमिनेटर हुँदै फाइनलमा पुग्नेछन् । शीर्ष र दोस्रो स्थानमा रहने टोलीबीचको पहिलो क्वालिफायर विजेता फाइनल पुग्नेछ । पराजित टोलीले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल पुग्नका लागि पुनः खेल्नेछ ।

एक दिनमा बढीमा तीन खेलसम्म हुनेछ । सबै खेल ४० मिनेटको हुनेछ । खेलमा बास्केटबलकै जस्तो स्टप वाच प्रणाली हुनेछ । प्रतियोगिता टर्फमा नभई सिमेन्टेट प्लेन मैदानमा हुनेछ । यो फिफाको अन्तर्राष्ट्रिय नियमअनुसार नै हो । हरेक टोलीमा १४ जना सदस्य रहनेछन् । पाँच जना सुरुआती टिममा हुनेछन् भने ९ जनासम्म सब्स्टिच्युट गर्न पाइनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ ४ जना (उत्कृष्ट स्ट्राइकर, गोलकिपर, फिक्सो, प्रशिक्षक) र राइजिङ खेलाडीका रूपमा १ जनाले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

जेठ १ देखि २४ सम्म आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण सरकारले लागू गरेको लकडाउनका कारण सारिएको हो । त्यसअघि २०७७ चैत १ देखि २०७८ वैशाख ५ सम्म देशभरबाट टिम छनोट गरिएको थियो ।

सहभागी टिम

द राइजिङ क्लब, धरान

स्पोर्ट्स क्यासल, पोखरा

लुम्बिनी फुटसल, रुपन्देही

फुटसल फाइभ, धरान

ढुकु फुटसल, काठमाडौं

सविन मेमोरियल एफसी, पोखरा

शंखमूल फुटसल, काठमाडौं

झरना स्पोर्टस क्लब, रूपन्देही

प्रभातफेरी स्पोर्ट्स क्लब, काठमाडौं

स्काइ गोल्स, काठमाडौं

प्रकाशित : भाद्र २३, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?