२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ईपीएल विजेताले ५० लाख रूपैयाँ पाउने

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ । आयोजक एभरेस्ट प्रिमियर लिगले यस सिजन ईपीएल विजेतालाई नगद ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै उपविजेताले १५ लाख पाउने छ ।

ईपीएल विजेताले ५० लाख रूपैयाँ पाउने

पछिल्लो संस्करण (सन् २०१८) विजेता ललितपुर प्याट्रियट्सले २५ र उपविजेता भैरहवा ग्लाडियटर्सले १० लाख रुपैयाँ पाएका थिए । आयोजकले देशको सबैभन्दा ठूलो खेलकुद इभेन्ट भएको दाबी गर्दै आए पनि ईपीएल पुरस्कार राशिका हिसाबमा फ्रेन्चाइज क्रिकेटमै सबैभन्दा सानो हो ।

धनगढी प्रिमियर लिगको पछिल्लो संस्करण (२०१९) विजेता सीवाईसी अत्तरियाले ३० लाख र उपविजेता महेन्द्रनगर युनाइटेडले १२ लाख पाएका थिए । दुई वर्षअघि पोखरा प्रिमियर लिग (पीपीएल) को विजेता चितवन राइनोजले २७ लाख रुपैयाँ पाएको थियो ।

असोज ९ देखि हुने ईपीएलको पछिल्लो निर्णयले घरेलु क्रिकेटमा ठूलो राशिको फ्रेन्चाइज लिग बनेको छ । ईपीएलमा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैहरवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् ।

ललितपुरमा भुटानी खेलाडी

साबिक विजेता ललितपुर प्याट्रियट्सले रणजुङ मिक्यो दोर्जीलाई लिएको छ । इमर्जिङ क्रिकेटका उदाइरहेका दोर्जी एक ब्याट्सम्यानका रूपमा असाधारण क्षमताका खेलाडी हुन् । उनको क्षमता सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देखिएको थियो ।

नेपालसँगको खेलमा उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४ छक्कासहित भुटानबाट सर्वाधिक २७ रन बनाएका थिए । त्यस बाबजुद भुटानले त्यो खेल १ सय ४१ रनले गुमाएको थियो । ३५ वर्षे दोर्जीले आफ्नो खेलजीवनमा खेलेको एकमात्र त्यही ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कप्तान ज्ञानेन्द्र मल्लले नेपालबाट ५५ बलमै १ सय ७ रन बनाएका थिए । ज्ञानेन्द्रकै कप्तानीमा उनले प्याट्रियट्सबाट ईपीएल खेल्नेछन् ।

सागमा उनले श्रीलंका यू–२३ विरुद्ध १५ बलमा ३ छक्कासहित २२ रन बनाएका थिए । बंगलादेश यू–२३ विरुद्ध भने उनी शून्यमै आउट भएका थिए । ‘म साबिक विजेता ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्न पाउँदा निकै उत्साही छु र यो अवसर प्रदान गरेकामा सबै सरोकारवालाहरुलाई धन्यवाद दिन चाहन्छु,’ प्याट्रियट्सको विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपाली दर्शकमाझ पुन: एक पटक खेल्न पाउने खबरले मलाई धेरै खुसी दिएको छ । म प्याट्रियट्सको सदस्य बन्न पाउँदा गर्वित छु ।’

प्रकाशित : भाद्र १५, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?