कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छानबिनको जिम्मा मन्त्रालयलाई दिने एन्फाको निर्णय 

हिमेश

काठमाडौं — यो विवादको अन्त्य हो अथवा थप सुरुआत ? नेपाली फुटबलमा सल्केको विवाद र मतभेदपछि उत्पन्न परिस्थितिले खोजेको उत्तर कठिन छ, तर अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार मुख्यालय ललितपुरको सातदोबाटोमा बसेको कार्यकारी समितिको बैठक नाटकीय र तनावपूर्ण रह्यो ।

छानबिनको जिम्मा मन्त्रालयलाई दिने एन्फाको निर्णय 

दिउँसो ४ बजे सुरु हुन भनिए पनि केही ढिला सुरु भएको बैठकका क्रममा पत्रकारलाई एन्फा भवनको परिसरमै प्रवेश दिइएको थिएन । अनि एन्फाका उच्च पदाधिकारी अनिच्छुक हुँदै बोल्न करकापले मात्र तयार भए ।

एन्फा प्रवक्ता किरण राईले सुनाएका ४ निर्णय यस प्रकार रहे, त्यसमध्ये पहिले नेपाल सरकारलाई धन्यवाद दिइएको थियो । धन्यवाद किन भन्दा अक्टोबरको पहिलो साता हुने साफ च्याम्पियनसिप नेपालले आयोजना गर्न सरकारले मन्त्रीस्तरीय निर्णयबाट पाँच करोड दिन स्वीकृति दिएको छ । दोस्रो निर्णय थियो, सन् २०२२ को वुमेन्स एसिया कप छनोटमा भाग लिने र यसअगाडि इरानलगायत देशसँग मैत्रीपूर्ण खेलका लागि पत्रकार गर्ने ।

तेस्रो निर्णयअनुसार साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले बंगलादेश, भारत र सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्रचार गर्ने । चौथो र सर्वाधिक महत्त्वको निर्णय थियो, राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुतारीको राजीनामा र यसका लागि उनले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङमाथि लगाएको आरोपबारे छानबिन गर्न नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने । यी चारै निर्णय सामान्य रहे पनि बैठक भने चर्को असामान्य रह्यो ।

परिस्थिति आफैमा जटिल थियो । बैठक सकिन अगाडि नै वरिष्ठ उपाध्यक्ष नेम्वाङसँगै दुई उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का तथा सदस्य दावा लामा बाहिर निस्के । चारैको अनुहारमा जहाँ आक्रोश थियो, त्यहीं निराशा पनि व्यापक देखिन्थ्यो । प्रवक्ता राई ती चारै जनालाई फकाउन पनि ब्यस्त देखिएन र फेरि बैठकमा सामेल हुन अनुरोध गरिरहेका थिए । तर, उनीहरू फर्केनन् । सबैभन्दा पहिले मिडियासामु खड्का प्रस्तुत भए र उनले दाबी थियो, ‘हामी नेपाली फुटबललाई गतिरोध हुन दिन्नौं ।’

यो एक प्रकारको व्यंग्यात्मक अभिव्यक्ति थियो । उनले पछि त्यसबारे थप प्रस्ट पारे, ‘हामीले प्रशिक्षक अल्मुताइरीलाई कारवारीका लागि माग राखेका थियौं, तर त्यसलाई अध्यक्ष कर्माछिरिङ शेर्पाले अस्वीकार गर्नु भयो । उहाँले कारबाही गरे, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिने बताउनुभयो, किनभने प्रशिक्षक कतारको सहयोगमा आएका हुन् ।’ त्यसपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले बोले । उनी थकित देखिन्थे, निराश देखिन्थे । अल्मुताइरीको समर्थनमा सामाजिक सञ्जालमा उनलाई मनपरी गाली गरिएको हुनाले आक्रोशित पनि थिए ।

उनको भनाइ थियो, ‘एन्फा नेपाली फुटबलको सर्वोच्च संस्था हो, यसबाट हामीले जुन अपेक्षा राखेका छौं, त्यो पूरा भएन । प्रशिक्षकले अनुशासन तोडेका छन् र वरिष्ठ उपाध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनीमाथि कारबाही गर्नु पर्ने थियो । उनले भलै सामाजिक सञ्जालमा राजीनामा थिए, तर औपचारिक रूपमा कतै राजीनामा दिएका छैनन् । उहाँले लगाएका विभिन्न आरोपका कारण मैले नेपाली फुटबलमा लामो समयदेखि गर्दै आएको योगदानको अवमूल्यन भएको छ ।’

उनले नेपाली फुटबलमा पछिल्लो समय विकसित भएका घटनाक्रमप्रति निराशा पनि पोखे र एन्फा आफूले गर्नु पर्ने निर्णय तथा काममा चुकेको पनि आरोप लगाए । बैठककै क्रममा प्रशिक्षक अल्मुताइरीलाई पनि बोल्ने अवसर दिएको थियो र यसक्रममा उनी आफै रिसाएर प्रस्तुत भए । बैठकका सहभागीहरूका अनुसार अल्मुताइरीले आफूलाई असुरक्षाको महसुस भएको र आफ्नो समर्थनमा एन्फा अगाडि नआएको पनि बताएका थिए ।

बैठकबाट चाँडै बाहिर निस्केकाका समूहको भनाइ थियो, प्रशिक्षक यसरी आक्रोशित भएर प्रस्तुत भएकोमै आपत्ति छ । प्रशिक्षक अल्मुताइरी एन्फा परिसरमा प्रवेश गर्दा र बाहिर निस्कँदा सुरक्षा व्यवस्था कडा गरिएको थियो । उनी मिडियासामु प्रस्तुत पनि भएनन्, खाली सामान्य प्रतिक्रियाका क्रममा सबथोक ठीक रहेको संकेतमात्र दिए । अध्यक्ष शेर्पा पनि सकेसम्म मिडियासामु आउन नै चाहेनन् । अन्त्यमा आउन त आए, तर खालि समान्य प्रतिक्रिया मात्र दिए ।

उनको भनाइ थियो, ‘मैले जे जति गर्छुं, यथार्थमा आधारित भएर मात्र गर्नेछु ।’ अब के त ? यसको उत्तर भने कोही पक्षसँग पनि रहेन । खाली भनियो, पुरुष राष्ट्रिय टिमको तयारी र प्रशिक्षण केही रोकिएको थियो, अब त्यो फेरि सुरु हुनेछ । छानबिनका लागि एन्फाले माथिको उच्च तहलाई अनुरोध गरिएको छ । त्यसले अब काम गर्नेछ । वरिष्ठ उपाध्यक्ष नेम्वाङको प्रतिक्रियाले पनि के देखिएको छ भने बैठकले समस्या समाधान गरेको छैन । स्पष्ट, नेपाली फुटबलको नेतृत्वमा मतभेद थियो, अब मनभेद पनि उत्तिकै बढेको छ ।

प्रकाशित : श्रावण १५, २०७८ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?