कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोकियो ओलम्पिक : सरस्वतीको दौडसँगै नेपाली खेलाडीको चुनौती समाप्त

सरस्वती चौधरी महिला १ सय मिटर दौड १२.९१ सेकेन्डमा पूरा गर्दै ९ खेलाडी रहेको प्रारम्भिक चरणको हिट्स २ मा आठौं स्थानमा रहिन् । यससँगै ओलम्पिकमा नेपाली खेलाडीको यसपालिको यात्रा समाप्त भएको छ ।
राजु घिसिङ

टोकियो — धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार बिहान प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं स्थानमा रहिन् ।

टोकियो ओलम्पिक : सरस्वतीको दौडसँगै नेपाली खेलाडीको चुनौती समाप्त

ओलम्पिक रंगशालामा चौधरीले गरेको प्रदर्शन यसअघिको उनकै व्यक्तिगत रेकर्डभन्दा पनि कमजोर हो । उनले दशरथ रंगशालामा दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा १२.५५ सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन्, जुन उनको १ सय मिटर दौडमा करिअरकै उत्कृष्ट समय हो । उनले दोहामा भएको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप २०१९ मा १२.७२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

नेपालको महिला १ सय मिटर स्पर्धाको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा छ । उनले आठौं साफ गेम्स १९९९ (काठमाडौं) मा १२.२० सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन् । सात महिनाभन्दा बढी ओलम्पिकको तयारी गरेर पनि म्याराथन धावक गोपीचन्द्र पार्की अन्तिम समयमा टोकियो यात्रा गर्ने अवसरबाट वञ्चित भएपछि चौधरीले अवसर पाएकी थिइन् ।


यसपालि चार खेलमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गरे । त्यसमध्ये सुटिङकी कल्पना परियार, पौडीका अलेक्जेन्डर गाडेगार्ड शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान सुधार गरे ।

महिला १ सय मिटरको प्रारम्भिक चरणका हिट्सबाट २७ मध्ये १० खेलाडीले पहिलो चरणमा स्थान बनाए । तीनवटा हिट्सबाट शीर्ष तीन धाविकासँगै चौथो स्थानमा रहेका तीन खेलाडीमध्ये उत्कृष्ट समयका आधारमा एक जना पहिलो चरणमा छनोट भए । पहिलो चरणको प्रतिस्पर्धा पनि आजै हुँदै छ । सेमिफाइनल र स्वर्णपदकको प्रतिस्पर्धा शनिबार हुनेछ ।

प्रकाशित : श्रावण १५, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?