कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय कीर्तिमानको लहर

पौडीकी गौरिका सिंह महिला १ सय मिटर फ्रिस्टाइलमा १:००.११ मिनेटसाथ टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने तेस्रो नेपाली भइन्
राजु घिसिङ

टोकियो — नेपाली खेलाडी ओलम्पिकमा प्रतिस्पर्धा गर्न थालेको ५७ वर्ष पुग्दा पनि पदक नजिक पुगेका छैनन् । पहिलो चरण पार गरेको इतिहास पनि दुर्लभै छ । यसपालि पनि कथा उस्तै छ । तर, टोकियो ओलम्पिक २०२० को पाँचौं दिनसम्म आइपुग्दा प्रतिस्पर्धा गरेका चार जनामध्ये तीन खेलाडीले प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

राष्ट्रिय कीर्तिमानको लहर

नेपाली पौडीमा छाइरहेकी गौरिका सिंहले अपेक्षाकृत रूपमै महिला १ सय मिटर फ्रिस्टाइल १:००.११ मिनेटमा पूरा गर्दै बुधबार आफैंले बनाएको राष्ट्रिय कीर्तिमानमा सामान्य सुधार गरिन् । ‘कोभिड–१९ का कारण पछिल्लो एक वर्षमा आठ महिना त पुल (स्विमिङ पुल) मा निस्कन पनि मिलेको थिएन । प्राक्टिसमा रेस (प्रतियोगितामाजस्तै दौडने) पनि गरेको थिइनँ । लङ कोर्स (५० मिटरको स्विमिङ पुल) मा त प्राक्टिस नै गरेकै थिइनँ,’ टोकियो अक्वाटिक्स सेन्टरमा ‘हिट्स १’ को प्रतिस्पर्धापछि उनले भनिन्, ‘त्यसैले नेसनल रेकर्ड बनाउन पाउँदा खुसी लागेको छ । आनन्द भयो ।’

ओलम्पिकको त्यही स्विमिङ पुलमा अघिल्लो दिन अलेक्जेन्डर (एलेक्स) शाहले पुरुष १ सय मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डसाथ पुरानो कीर्तिमान तोडेका थिए । गौरिकाले दुई वर्षअघि फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा आफैले बनाएको १ः००.६२ मिनेटको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेकी हुन् । एलेक्सले पनि वर्ल्ड च्याम्पियनसिपमा बनाएको रेकर्डलाई २.८७ सेकेन्डले छोट्याएका थिए, जुन राम्रो फड्को हो ।

यो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी पहिलो नेपाली खेलाडी कल्पना परियारले कीर्तिमानको सुरुआत गरेकी थिइन् । उनले सुटिङको १० मिटर एयर राइफलमा ६१६.८ स्कोर गर्दै पहिलो दिन आफ्नै नामको दुई वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन् । जुडोकी सोनिया भट्टको भने ओलम्पिकमा पहिलो बाउट जित्ने चाहना अधुरै रह्यो ।

टोकियो ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन् । एथलेटिक्सकी सरस्वती चौधरीले महिला १ सय मिटरमा शुक्रबार दौडनेछिन् । उनले पनि देवीमाया पनेरुको २२ वर्ष पुरानो १२.२० सेकेन्ड (साफ गेम्स १९९९/काठमाडौं) को समयलाई उछिन्दै नेपालकी तीव्र गतिमा दौडने महिला बन्ने लक्ष्य राखेकी छन् । उनलाई भने सहज छैन । उनले १३ औं सागमा १२ः५५ सेकेन्डको व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

कीर्तिमानी तीनै खेलाडीले ओलम्पिक छात्रवृत्तिमा रहेर करिब दुई वर्ष तयारी गरेका थिए । त्यसअन्तर्गत उनीहरूलाई मे, २०१९ यता प्रशिक्षण र प्रतियोगिताका लागि मासिक ५ सय अमेरिकी डलर दिइएको थियो । तर, विश्वकै सबैभन्दा प्रतिष्ठित खेलका लागि उनीहरूको तयारी उत्कृष्ट थिएन । ओलम्पिकमा उत्कृष्टलाई मात्र होइन, मध्यम खालका खेलाडीलाई पनि चुनौती दिने स्तरको थिएन । गौरिका र एलेक्सले जापान ओर्लनुअघि ओलम्पिक तयारीमा ५० मिटरको पुल (लङ कोर्स) मा अभ्यास नै गर्न पाएका थिएनन् । २५ मिटरको पुलमै सीमित थिए ।

११ वर्षकी छँदै एउटै प्रतियोगिताका सात स्पर्धामा आठपल्ट राष्ट्रिय कीर्तिमानकी बनाएकी गौरिकाले २०७१ सालयता नेपाली पौडीमा एकछत्र राज गरिरहेकी छन् । लन्डनमा परिवारसँगै रहेर पढाइ र ट्रेनिङ गरिरहेकी उनी नेपाली पौडीमा कीर्तिमानकी पर्याय नै भइसकेकी छन् । १२ औं साग २०१६ (गुवाहाटी) मा एक रजत र तीन कांस्य हात पारेकी उनले सातदोबाटोस्थित हिटिङ सिस्टमको पुलमा दुई वर्षअघि सम्पन्न १३ औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेर सनसनी मच्चाएकी थिइन् ।

रियो ओलम्पिक २०१६ मा ११ हजार खेलाडीमध्ये सबैभन्दा कम उमेरकी भएकीले खुबै चर्चा पाएकी गौरिकाले भनिन्, ‘लङ कोर्समा प्राक्टिस नै भएको थिएन । तोकुसिमामा मेरो प्रशिक्षक पनि थिएन । कतिवटा सेसन त आँधीबेहरी आएर गर्नै पाइएन ।’ पहिलोपल्ट ओलम्पिकमा सहभागी एलेक्सको अवस्था पनि फरक थिएन । नेपाली सेनाकी कल्पनाले त त्रिभुवन आर्मी क्लबले उपलब्ध गराएको राइफल र पोसाक लगाएर खेलेको वर्षौं भइसकेको छ ।

यी खेलाडीहरूको तयारीलाई यसपालि त कोरोना भाइरसको महामारीले संकटमा पारिदियो । महामारीकै कारण ३२ औं ओलम्पिक पनि एक वर्ष ढिला गरी दर्शकरहित र तामझामबिना नै भइरहेको छ । तेक्वान्दोका संगीना वैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) छनोट पार गरेर ओलम्पिक खेलेका नेपाली खेलाडी हुन् । बाँकी सबै नेपालीले विश्वव्यापी सहभागिता र आमन्त्रित कोटामा ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् । गौरिका, एलेक्स र सरस्वतीले विश्वव्यापी सहभागितामा टोकियो यात्रा गरेका हुन् । सोनिया र कल्पनाले आमन्त्रित कोटामा खेलेका हुन् । त्यसैले पनि ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन राष्ट्रिय कीर्तिमानमै सीमित हुने गरेको छ ।

प्रकाशित : श्रावण १४, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?